अर्थ

चीनमै रोकिए प्राविधिक र उपकरण

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर : नागरिक

भैरहवा – निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कोरोना भाइरसको प्रभाव परेको छ। निर्माणको अन्तिम चरणमा पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलमा चिनियाँ प्राविधिक र उपकरण कोरोना भाइरसका कारण नेपाल आउन नसकेकाले निर्माण कार्यमा असर परेको यहाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले निर्माणको काम गरिरहेको छ। लामो समयसम्म रोग नियन्त्रणमा नआए यसको प्रत्यक्ष असर विमानस्थल निर्माणमा पर्ने आयोजनाले जनाएको छ।

अहिले एक सय ८५ जना कामदारले निर्माणको काम गरिरहेका छन्। आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार ४० जनाको चिनियाँ कामदार टोली अहिले फिल्डमा हुनुपर्नेमा २० जनामात्र फिल्डमा आएका छन्। अहिले उपकरणसम्बन्धी वाइरिङको काम गर्ने कामदारमात्र छन्, एयर कन्डिसन र रनवे–लाइटसम्बन्धी प्राविधिकसहित २० जनाको टोली चीनमै रहेकाले भाइरसका कारण भएको एयरलाइन्सको सेवा कटौतीले नेपाल आउन सकेका छैनन्। ‘यस्तो पिक–आवरमा कामदार नहुनुले विमानस्थल निर्माणको काममा निकै असर परेकै छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘अझै १० देखि १५ दिनभित्र ती प्राविधिकहरू नेपाल आउन सके कामलाई म्यानेज गर्न सकिन्छ।’

धावनमार्गको केही लाइट र ब्यागेज ह्यान्डलिङ सिस्टमका उपकरणहरू चीनमा ‘प्याक’ गरेर राखिएको छ तर कोरोनाले डिस्प्याच हुन सकेको छैन। यदि मार्च १५ भित्र कामदार र उपकरण आएनन् भने यसको प्रत्यक्ष असर विमानस्थल सञ्चालनमा पर्नेछ। सानातिना फाउन्डेसन, रङरोगन र फिनिसिङको काममात्र बाँकी छ तर समयमा सबै उपकरण आइनपुगे थपिएको समयमा पनि विमालस्थल सञ्चालन हुनेछैन।

विमानस्थल निर्माणको पहिलो चरण अर्थात् आइसिबी–१ कोे अधिकांश काम भइसकेको छ। रनवे लाइट, लिफ्ट, एसी, फ्लाइट सूचना डिस्पले, सेक्युरिटी सिस्टमका उपकरणसहित ८५ प्रतिशत सामान आइसकेका छन्। फिनिसिङको चार प्रतिशत काममात्र बाकी छ, वाइरिङको काम पनि अन्तिम चरणमा छ। मार्किङको काम पनि सकिएको छ, अहिलेको भवनमा भिआइपीसहित सिआइपी कक्षको लागि पनि स्पेस राखिएको छ। प्रदेश सांसद सन्तोष पाण्डेको सुझावमा विदेशहरूमा जस्तै सिआइपी (कमर्सियल इम्र्पोटेन्ट पर्सन) कक्षको व्यवस्था मिलाइएको छ। केही शुल्क तिरेर निश्चित व्यक्तिहरू उक्त कक्षमा बस्न पाउनेछन्।

‘दोस्रो चरण आइसिबी–२ अन्तर्गतका सिएनएस (कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्स) को काममध्ये भिओआर/डिएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरण पनि ९५ प्रतिशतन्दा बढी आइसकेका छन्। बाँकी पाँच प्रतिशत उपकरण थाइल्यान्डबाट आउनु पर्नेछ। एरोथाई कम्पनीका प्रविधिकहरू आउँदा सो समान लिएर आउने राष्ट्रिय गौरव आयोजनाका उप–निर्देशक तथा आइसिबी–२ का प्रोजेक्ट म्यानेजर प्रवीण न्यौपानेले बताए।

कोरोनाको प्रभाव र स्थानीय रूपबाट आउनुपर्ने नदी पैदावर पदार्थ जुन रूपमा आउनुपर्ने हो, आउन सकेको छैन तर जिल्ला समन्वय समिति र स्थानीय तहसँग समन्वय भइरहेको छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘तोकिएको लक्ष्यमा काम सम्पन्न गर्ने गरी काम भइरहेको छ।

३१ डिसेम्बर २०१४ काम सुरु भएको आयोजनाको सुरुवाती चरण कछुवा गतिमा अघि बढेको निर्माण कार्यले पछिल्लो दुई वर्षमा २५ प्रतिशतबाट ८६ प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ। आयोजनाले विमानस्थल चौथो पटक ३१ मार्च २०२० सम्ममा सञ्चालनयोग्य बनाउने म्याद पाएकोे छ।

६ अर्ब ८२ करोडको लगानीमा सम्पन्न हुन लागेको आइसिबी–१ स्तरको सो विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ। यस्तै, आइसिबी–२ अन्तरगत विमानस्थलमा जडान हुने उपकरणहरूका लागि पनि करिब ५० करोड लगानी छ।

प्रकाशित: २८ माघ २०७६ ०२:०२ मंगलबार

चिनियाँ_प्राविधिक उपकरण कोरोना_भाइरस गौतमबुद्ध_अन्तरर्राष्ट्रिय_विमानस्थल