अर्थ

बिजुली किन्न बंगलादेश एलओआई

काठमाडौं - बंगलादेश पावर डेभलपमेन्ट बोर्डले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली किन्नआशयपत्र (लेटर अफ इन्टेन्ट) जारी गरेको छ। बोर्डले गत जनवरी ३० मा आशयपत्र जारी गरेसँगै विद्युत् खरिद–बिक्री सम्झौताको लागि बाटो खुलेको छ। अपर कर्णाली हाइड्रोपावर लिमिटेडका आयोजना प्रमुख केके शर्माले बोर्डले आशयपत्र जारी गरेसँगै आयोजनाबाट उत्पादन हुने बिजुली खरिद गर्ने वातावरण बनेको बताए।

बोर्डले आशयपत्र जारी गरेसँगै अब हामीले ५० लाख अमेरिकी डलर बैंक ग्यारेन्टी राख्नेछौं,’उनले भने, ‘विद्युत् खरिद–बिक्री सम्झौता(पिपिए)को ड्राफ्ट बंगलादेशको कानुन मन्त्रालय र बैंक अफ बंगलादेशले अध्ययन गरेर टुंगो लगाउनेछन्।’ जिएमआरले उत्पादन गरेको बिजुली बंगलादेशले प्रतियुनिट ७.७१२ अमेरिकी सेन्टमा खरिद गर्ने सम्झौता हुनेसम्भावना छ। आयोजना प्रमुख शर्माले दुईदेखि तीन महिनाभित्रै बंगलादेशसँग बिजुली खरिद–बिक्री सम्झौता हुने दाबी गरे।यसअघि बंगलादेश सरकारको गत पुस ३ गते सार्वजनिक खरिद समितिले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजलीमध्ये पाँच सय मेगावाट बिजुली गरिद गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

प्रमुख शर्माले बोर्डले आशयपत्र जारी गरेसँगै आयोजना निर्माणको काम एक कदम अगाडि बढेको प्रतिक्रिया दिए। कम्पनीले माथिल्लो कर्णालीबाट उत्पादित बिजुलीमध्ये पाँच सय मेगावाट बंगलादेश र दुई सय ९२ मेगावाट भारतीय एनभिभिएनलाई बिक्री गर्नेछ। बाँकी एक सय आठ मेगावाट नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराउनेछ। जिएमआरले आयोजनाको २७ प्रतिशत सेयर नेपाल विद्युत् प्राधिकरणलाई दिनेछ। कम्पनीले आगामी आर्थिक वर्षदेखि नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण थाल्ने जनाएको छ। ‘सन् २०२० भित्र मुआब्जा र साइट क्लियर लगायत काम सकेर सन् २०२१ देखि आयोजना निर्माण थालिनेछ,’ प्रमुख शर्माले भने,‘माथिल्लो कर्णालीको जलविद्युत् आयोजना पाँच वर्षभित्रै निर्माण सम्पन्न गरिनेछ।

जिएमआरले इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन (इपिसी) मोडलमा एक अर्ब ५० करोड अमेरिकी डलर (हालको विनियम दरअनुसार करिब एक खर्ब ७० अर्ब रुपैयाँ) लागत अनुमान गरिएको छ। सुरु भएको पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।यो आयोजना अछाम, दैलेख र सुर्खेत जिल्लामा पर्छ। आयोजनामा दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ। आयोजना प्रमुख शर्माले आयोजना निर्माणको लागि तीन सय २२ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने बताए। आयोजनाबाट उत्पादित बिजुली ४०० केभीको ९९ किलोमिटर डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरेर भारत र बंगलादेश निर्यात गरिनेछ। जिएमआरले आयोजना निर्माणको लागि इपिसी प्याकेज एक र दुईको लागि छुट्टाछुट्टै बिडरको लिस्टसमेत तयार पारिसकेको छ।

अपर कर्णाली हाइड्रोपावर लिमिटेडका आयोजना प्रमुख शर्माले आयोजना निर्माणमा नेपाली बैंक इच्छुक रहेको बताए।‘माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा लगानी गर्न नेपाली बैंक इच्छुक देखिएका छन्,’ उनले भने,‘हामीले नेपाली बैंकलाई लगानी गर्न प्रोत्साहन गरिरहेका छौं।’ नेपाल सरकार र जिएमआरबीच सन् २००८ मा यो आयोजना बनाउने विषयमा एमओयू भएको थियो। सन् २०१४ मा पिडिए सम्झौता भएको थियो।

प्रकाशित: २७ माघ २०७६ ०३:४२ सोमबार

विद्युत् कन्सट्रक्सन