अर्थ

पोखरामा कुखुरा मासु किलोको चार सय ६० रुपैयाँ

पोखरा - पोखरामा कुखुरा मासुको मूल्य प्रतिकिलो चार सय ६० रुपैयाँ पुगेको छ। व्यवसायीले गुणस्तरीय मासु उपलब्ध गराउने भन्दै अन्य सहरको तुलनामा पोखरामा महँगोमा बेच्ने गर्छन्। डेढ महिनाको अवधिमा यहाँ कुखुरा मासुको मूल्य प्रतिकिलो एक सय रुपैयाँ बढेको छ। उपभोक्ता मञ्चले कुखुरा मासुको सबैभन्दा बढी मूल्य पोखरामा रहेको बताएको छ।

चार वर्षअघि पनि यहाँ यसैगरी महँगिएको थियो। मासु व्यवसायी संघ कास्कीका अध्यक्ष गोविन्दप्रसाद तिवारीका अनुसार यहाँ कुखुरा मासुको मूल्य दुईथरि हुन्छ। सामान्यको प्रतिकिलो चार सय ३० रुपैयाँ र विशेषको चार सय ६० रुपैयाँ रहेको अध्यक्ष तिवारीले बताए। पुस पहिलो सातासम्म यहाँ विशेषको मूल्य प्रतिकिलो तीन सय ६० रुपैयाँ थियो। पखेटा, बोसो, पुच्छर फालेर पोलेको मासुलाई व्यवसायीले विशेष भन्दै बढी मूल्यमा बेच्ने गरेका छन्।

ह्याचरी व्यवसायीका कारण अहिले मूल्य बढेको मासु व्यवसायीले बताएका छन्। मंसिर अन्तिम साता ह्याचरी व्यवसायीले अण्डा र चल्ला नष्ट गर्ने निर्णय गर्दा चल्ला अभाव भई अहिले मासुयोग्य कुखुरा नपाएको व्यवसायीले बताए। ह्याचरी व्यवसायीले चल्ला बिक्री र ओसारपसार समेत बन्द गरेका थिए। ठूलो संख्यामा चल्ला र अण्डा नष्ट गरेका थिए। ‘कुखुरा उत्पादनका लागि चल्ला नै पाइएन। चल्ला नपाएपछि उत्पादन हुने कुरै भएन,’ अध्यक्ष तिवारीले भने।  

ह्याचरी व्यवसायीले १८ दिनसम्म उत्पादन भएका सबै चल्ला नष्ट गरेका थिए। त्यसबाहेक चिसोका कारण पनि कुखुरा उत्पादनमा असर परेको उनको भनाइ छ। पुस–माघको चिसोमा चल्ला हुर्काउन कठिन हुने उनको भनाइ छ। ‘हजार चल्ला हालियो भने आधामात्र मासुका लागि योग्य हुन्छन्। आधाजति चिसोले मर्छन्,’ अध्यक्ष तिवारीले भने, ‘त्यसले पनि उत्पादन कम हुन्छ। चिसोमा उत्पादन कम हुने तर, बजारमा माग बढी हुने भएकाले मूल्य केही बढेको हो।’ सबैभन्दा बढी बदमासी चल्ला गाड्नुमा भएको उनले बताए। ह्याचरीले किसानलाई चल्ला दिइसकेकाले अबको एक सातापछि मूल्य नियन्त्रणमा आउन सक्ने उनको अनुमान छ। दानाको मूल्य बढेकाले किसान मारमा पर्दा पनि कुखुरा पाल्न कम भएको उनले सुनाए।

कास्की कुखुराको मासुमा आत्मनिर्भर रहे पनि यो पटक आन्तरिक उत्पादनले नथेगेको उनले बताए। चल्लाको मूल्य बढाउन व्यवसायीले चालेको कदमले अहिले उपभोक्ता मारमा परेको मासु व्यवसायीको भनाइ छ। तिवारीका अनुसार मासु व्यवसायी संघ कास्कीमा आठ सय ६४ व्यवसायी आवद्ध छन्। कुखुरा अभाव भएपछि तीमध्ये आधा व्यवसायीले अहिले व्यवसाय नै बन्द गरेको उनले बताए। ‘कुखुराको मासु बेच्ने आधा पसल बन्द भइसके। कुखुरा नै नपाएपछि व्यवसाय नै रोकियो,’ उनले भने, ‘सबैले खसीको मासु बेच्दैनन्। साना आकारका व्यवसायी बढी प्रभावित भएका छन्।’ उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाका अनुसार ३० लाख चल्ला र तीन करोड अण्डा फुटाएर ह्याचरी उद्योगले कृत्रिम अभाव सिर्जना गर्दाको परिणाम अहिले देखिएको हो। त्यसमा मासु व्यवसायीले मनोमानी मूल्य तोक्दा झनै महँगो पर्न गएको कोइरालाले बताए। मासुको मूल्य मुलुकभरकै सर्वाधिक महँगो पोखरामा रहेको उनले बताए।

‘असक्षमता राज्यको हो, ३० लाख चल्ला र तीन करोड अण्डा फुटाउँदा सरकारले ह्याचरी व्यवसायीलाई कारबाही गरेन,’ कोइरालाले भने, ‘ह्याचरी व्यवसायीले आफ्नो उद्देश्य पूरा गरेरै छाडे। सरकारले कारबाही गरेको भए यो अवस्था आउने थिएन।’ चल्ला नष्ट गरेर चल्लाको भाउ बढाउन ह्याचरी व्यवसायी सफल भएको उनले बताए। ‘चल्लाको मूल्य प्रतिगोटा १५–२० रुपैयाँ रहेकामा अहिले बढेर ८० रुपैयाँ पुगेको छ। चल्लाको भाउ र किसानको लागत थपिँदा उपभोक्ता दोहोरो मारमा परे,’ उनले भने, ‘चल्ला नपाउँदा कुखुरा उत्पादन भएनन्। त्यसैमाथि गुणस्तर कायम गर्ने निहुँमा पोखरामा झनै बढी मूल्य तोक्दा थप मूल्य उपभोक्ताले बेहोर्नुपरेको छ।’

गण्डकी प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय छ। निर्देशनालयका निर्देशकको संयोजकत्वमा रहेको मूल्य निर्धारण समितिका सदस्यसमेत रहेका कोइरालाले गुणस्तर कायम गर्ने निहुँमा १०–१५ रुपैयाँ बढ्नु स्वाभाविक हुँदाहुँदै मासु व्यवसायीले ४०–५० रुपैयाँ बढी लिँदा पोखरेली उपभोक्ताले सर्वाधिक महँगी बेहोर्नुपरेको बताए। बजार हस्तक्षेप गर्न सक्ने अधिकार निर्देशनालयलाई छ। बजार हस्तक्षेप गर्र्ने गरी संघीय सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ पनि ल्याएको छ। त्यही ऐन मातहतमा रहेर गण्डकी प्रदेश सरकारले बजार अनुगमन नियमावली बनाएको छ। तर मूल्य नियन्त्रणको प्रयास भएको छैन। निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले जथाभावी बढेको मूल्य नियन्त्रणको पहल भइरहेको दाबी गरे पनि बजार मूल्य उकालो लाग्ने क्रममा छ।

‘व्यवसायीले चल्ला अभाव भएकाले कुखुराको मूल्य बढेको बताएका छन्। हामीले कसरी मूल्य नियन्त्रण गर्ने भनेर छलफल गरिरहेका छौं,’ उनले भने। पोखरामा दैनिक करिब ३५ हजार किलो कुखुराको मासु खपत हुने अनुमान छ।

प्रकाशित: २६ माघ २०७६ ०२:४२ आइतबार

कुखुरा गुणस्तरीय पोखरा