अर्थ

‘लगानीका पर्याप्त सम्भावना’

काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक, औद्योगिक, पर्यटकीय, कृषिजस्ता क्षेत्रमा लगानीका लागि आफ्नो प्रदेशमा पर्याप्त सम्भावना रहेको बताएका छन्।

नेपाल बैंकर्स संघका पदाधिकारीसँग हालै भएको भेटमा पोखरेलले प्रदेश ५ मुलुकको आर्थिक हबसमेत बन्नसक्ने सम्भावना भएको बताए। उनले प्रदेशमा देखिएका सम्भाव्य क्षेत्रको थप पहिचान गरी लगानी ल्याउन ‘लगानी सम्मेलन’ गर्न लागेको जानकारी पनि दिए।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले प्रादेशिक स्तरमा बैंकिङ सेवा विस्तार गर्न राष्ट्र बैंकले लिएका विविध नीति निर्देशनबारे पनि जानकारी दिए। उनले सम्मेलनले वित्तीय साक्षरता तथा बैंकिङ पहुँच बढाउन थप मद्दत मिल्ने धारणा व्यक्त गरे।

संघका अध्यक्ष भुवन दाहालले प्रदेश सरकारले आयोजना गर्न लागेको सम्मेलनमा बैंकहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रादेशिक हिसाबमा लगानी बढाउन तथा वित्तीय पहुँच विस्तार गर्न संघका पदाधिकारीहरूले विभिन्न सुझाव दिएका थिए। प्रदेश सरकारको आर्थिक मन्त्रालय, राष्ट्र बैंक तथा बैंकर्स संघका प्रतिनिधिसहितको एक कार्यदल गठन गरी अगाडि बढ्न उपयुक्त हुने सुझाव पनि उनीहरूले दिए।

प्रकाशित: २० माघ २०७६ ०४:२९ सोमबार

मुख्यमन्त्री नेपाल_बैंकर्स_संघ