अर्थ

स्वास्थ्य बिमामा आकर्षण बढ्यो

काठमाडाैँ - सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमामा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। बिरामी पर्दा खर्चको जोहो गर्न सहज हुन थालेपछि सर्वसाधारणको स्थास्थ्य बिमातर्फ आकर्षण बढेको हो।

स्वास्थ्य बिमा बार्डका सूचना अधिकृत कृष्णप्रसाद आचार्यका अनुसार सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएकामा चालु आवको दोस्रो त्रैमासिक अवधिसम्म दुई लाख ४६ हजार दुई सय तीन जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन्। सुदूरपश्चिमका सात जिल्लामा कूल १९ लाख १८ हजार सात सय ३३ जनसंख्या रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। चालु आवको पुस मसान्तसम्म सात जिल्लामा करिब १२.८३ प्रतिशत जनसंख्याले स्थास्थ्य बिमा गरेको उनले बताए।

आफ्नै स्रोत साधनको चरम अभाव भएकाले सरकारको उद्देश्य अनुसार प्रभावकारी रुपमा स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढ्न नसकेको बताउँदै सूचना अधिकृत आचार्यले भने, ‘सम्बन्धित निकायले स्वास्थ्य बिमा कार्यक्रम गाउँगाउँसम्म पु-याउन आवश्यक सहयोग गर्न जरुरी छ।’ सूचना अधिकृत आचार्यका अनुसार सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएकामा सबैभन्दा बढी बाजुरा जिल्लाका सर्वसाधारण सहभागी भएका छन्।

कुल जनसंख्या एक लाख ३४ हजार नौ सय १२ रहेको बाजुरा जिल्लामा २६ हजार पाँच सय ७४ जनाले स्वास्थ्य बिमा गराएका छन्। उक्त संख्या कूल जनसंख्याको १९ प्रतिशत हो। बोर्डका अनुसार सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनेको संख्या कैलाली दोस्रो स्थानमा रहेको छ। कूल सात लाख ७५ हजार सात सय नौ जनसंख्या रहेको कैलालीमा एक लाख ३५ हजार आठ सय जनाले स्वास्थ्य बिमा गरेका छन्। उक्त संख्या कुल जनसंख्याको करिब १७ प्रतिशत हो। त्यसैगरी, बझाङ जिल्लामा ३० हजार एक सय २२ जनाले स्थास्थ्य बिमा गराएका छन्। यो संख्या कूल जनसंख्याको करिब १५ प्रतिशत हो। केन्द्रीय तथ्यांक विभागका अनुसार कैलाली जिल्लाको जनसंख्या एक लाख ९५ हजार एक सय ५९ छ।

बोर्डका अनुसार सो अवधिमा बझाङ जिल्लामा स्वास्थ्य बिमा गराउनेको संख्या ३० हजार एक सय २२ पुगेको छ। कूल एक लाख ९५ हजार एक सय ५९ जना जनसंख्या रहेको जिल्लाका १५.४३ प्रतिशतले स्वास्थ्य बिमा गरिसकेका छन्। अछाम जिल्लामा करिब १०.२ प्रतिशत जनसंख्या स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन्। कूल दुई लाख ५० हजार आठ सय ९८ जनसंख्या रहेको जिल्लाका २५ हजार आठ सय ६ जनाले स्थास्थ्य बिमा गरेको बोर्डले जनाएको छ।

त्यसैगरी, कञ्चनपुर जिल्लामा कूल जनसंख्याको ५.९५ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन्। यस जिल्लामा करिब १० हजार दुई सय जनाले स्वास्थ्य बिमा गराएका छन्। जिल्लाको कूल जनसंख्या एक लाख ७१ हजार तीन सय चार रहेको छ। बैतडी जिल्लामा सो अवधिमा ११ हजार नौ सय ९० जनाले स्थास्थ्य बिमा गराएका छन्। जिल्लाको कूल जनसंख्या दुई लाख ५० हजार आठ सय ९८ रहेको छ। जसमध्ये ४.७७ प्रतिशतले स्थास्थ्य बिमा गराएको बोर्डले जानकारी दिएको छ। बोर्डका अनुसार सो अवधिमा सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा करिब पाँच हजार ६ सय ८५ जनाले स्वास्थ्य बिमा गराएका छन्। जिल्लाको कूल जनसंख्या एक लाख ३३ हजार दुई सय ७४ रहेकामा करिब ४.२६ प्रतिशतले स्थास्थ्य बिमा गराएका छन्।  

सुदूरपश्चिमका सात जिल्लामा कूल १९ लाख १८ हजार सात सय ३३ जनसंख्या रहेकामा चालु आवको पुस मसान्तसम्म करिब १२.८३ प्रतिशत जनसंख्याले स्थास्थ्य बिमा गराएका छन्।

स्वास्थ्य बिमा गर्दा तोकिएका सरकारी अस्पतालबाट निःशूल्क औषधि पाउँछन् तर, व्यक्तिगत झगडका कारण चोपटकट लागेमा, लागु तथा मादक पदार्थ सेवन गरी दुर्घटनामा परी चोटपटक लागेमा, इमर्जेन्सी, ओपिडी सेवा, ल्याब उपचार, सामान्य अपरेसन लगायत सेवा लिन नपाइने बोर्डले जनाएको छ। बोर्डका अनुसार स्वास्थ्य बिमा गर्न वार्षिक दुई हजार पाँच सय रुपैयाँ प्रिमियम तिरेपछि ५० हजार रुपैयाँ बराबरको उपचार खर्च पाउँछन्। यस कार्यक्रममा पाँच वर्षदेखि ६५ वर्षसम्मका व्यक्ति सहभागी हुन सक्छन्। तर,  बिमा गर्दा लाग्ने शूल्क एक सयदेखि पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी, स्वास्थ्य बिमा व्यक्तिगत मात्र नभई संस्थागत रुपमा गर्न सकिने बोर्डले जनाएको छ। संस्थागत स्वास्थ्य बिमा गर्न सम्बन्धित कम्नपीको प्यान, लेटरप्याड पेश गरी पाँच देखी १० जनाको बिमा गर्न सकिने व्यवस्था छ। सूचना अधिकृत आचार्यका अनुसार व्यक्तिगत स्वास्थ्य बिमा गर्दा प्रतिपरिवार वार्षिक तीन हजार पाँच सय रुपैयाँ बिमाशुल्क लाग्छ भने एक लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिन्छाैँ। उनका अनुसार पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रतिसदस्य अतिरिक्त सात सय रुपैयाँ बिमा शूल्क निर्धारण गरिएको छ। यसवाफत बिमा गर्ने व्यक्तिले वार्षिक बढीमा एक लाख रुपैयाँ उपचार खर्च पाउँछन्। यस योजनाअन्तर्गत एक जनालाई बढीमा २० हजार रुपैयाँ उपचार खर्च भुक्तानी गर्ने व्यवस्था छ।

स्वास्थ्य बिमा कार्यक्रम मुलुकका ५० जिल्लामा लागू भएको बोर्डले जनाएको छ। चालु आवको पुस मसान्तसम्म करिब १३ लाख महिला र ११ लाख पुरुष गरी करिब २५ लाखले स्वास्थ्य बिमा गरेका छन्। यस कार्यक्रममा सात लाख ३१ हजार चार सय ६६ परिवार समेटिएको सूचना अधिकृत आचार्यले बताए।

प्रकाशित: १९ माघ २०७६ ०३:२२ आइतबार

बिमा बिमा_बार्ड