अर्थ

साताको शेयरबजारः साढे छ अर्बमाथि कारोवार

काठमाडौं - धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो। लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो। नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर रु छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ मा खरीदबिक्री भए।

साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अङ्कले ओरालो लाग्यो। सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा समेटियो। कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरीदबिक्री भए।

यस्तै सोमबार नेप्से झण्डै २४ अङ्कले वृद्धि भयो। स्टकका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुग्यो। नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन। कूल १८० कम्पनीका २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीदबिक्री भए।

यस्तै मङ्गलबार नेप्से सामान्य वृद्धि भयो। त्यस दिन नेप्से ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुग्यो। मङ्गलबार कूल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरीदबिक्री भयो।

बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो। सो दिन नेप्से ०.२७ अङ्कले घटेर एक हजार ३०५.८८ मा थामियो। त्यसदिन कूल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरीदबिक्री भए।

साताको अन्तिम दिन नेप्से उकालो लाग्यो। लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अङ्कले उकालो लाग्यो। स्टकका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुग्यो। नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भयो।

कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए। यस साता स्कटकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए। स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन्।

प्रकाशित: १८ माघ २०७६ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App