अर्थ

निगमले तिर्‍यो वाइड बडीको किस्ता

काठमाडौं – लामो समयसम्म ऋणको सावाँब्याज तिर्न नसकेर आलोचना खेप्दै आएको नेपाल वायुसेवा निगमले एक अर्ब एक करोड ४१ लाख ६४ हजार तीन सय ९३ रुपैयाँ किस्ता बुझाएको छ। निगमले कर्जा लिएको कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई कात्तिकदेखि पुस मसान्तसम्मको किस्ता भुक्तानी गरेको हो।

वित्तीय विभागका निर्देशक उमेश पौडेलका अनुसार निगमले वाइडबडी तथा न्यारोबडी खरिदका क्रममा कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषसँग लिएको ऋणबापतको पछिल्लो किस्ताको रकम तिरेको छ। ‘निगमले हरेक तीन–तीन महिनामा किस्ता तिर्ने सहमति रहेको छ,’ उनले भने, ‘असोजसम्मको ऋण पुँजीकृत हुँदै लोनमा गाभिने प्रक्रियामा गएको छ भने असोजपछिको पुसमा तिर्नुपर्ने किस्ता बुझाइएको हो।’

पुँजीकृत लोनको अन्तिम निर्णय भने अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको उनको भनाइ छ। निगमले दुईओटा वाइडबडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय ७० रुपैयाँ र न्यारोबडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ गरी जम्मा एक अर्ब एक करोड ४१ लाख ६४ हजार तीन सय ९३ रुपैयाँ भुक्तानी गरेको उनले जानकारी दिए। निगमले वाइड बडी विमान खरिदका लागि सरकारको जमानीमा २०७४ जेठ अन्तिम साता नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँका दरले २४ अर्ब ऋण लिएको थियो।

उचित गन्तव्यमा उडान भर्न नसकेको भन्दै आलोचना भोगिरहेको निगमको हालको घाटा रकम ३७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। हाल निगमसँग भएका वाइड बडी, न्यारो बडीसहित आन्तरिकतर्फका सबै विमान उडाउन नसक्दा दैनिक करोडौं रुपैयाँ घाटा व्यहोर्दैे आएको निगमकै कर्मचारी बताउँछन्।

ऋणको तीन/तीन महिनामा किस्ता तिर्नुपर्ने भए पनि पछिल्लो समय निगमले किस्ता तिर्न सकेको थिएन। किस्ताबापतको रकम तिर्न नसकेपछि दोस्रो पटक गत वर्षको भदौ ३१ मा निगममा नियुक्त भएर आएका तत्कालीन निगमका अध्यक्ष मदन खरेलको समेत आलोचना हुँदै आएको थियो। हाल उनले कार्यकारीको जिम्मेवारीबाट राजीनामा दिइसकेका छन्। निगमले सञ्चय कोष र नागरिक लगानी कोषका अतिरिक्त विभिन्न बैंकबाट पनि तीन अर्ब रुपैयाँ ऋण लिएको छ। ऋणको किस्ता तिर्न नसकेपछि निगमले सरकारसँग २० अर्ब रुपैयाँ ऋण मागेको थियो तर सरकारले दिएको छैन।

निगमका एक अधिकारीका अनुसार निगमले नाफामूलक गन्तव्यमा उडान गर्न नसक्दा र पूर्ण क्षमतामा विमान उडाएर लाभ लिन नसक्दा विमान किन्दाको ऋण तिर्न नसकेको हो। निगमका विमान पूर्ण क्षमताअनुसार चल्न नसक्दा निगम आर्थिक संकटमा फसेको उनको दाबी छ।

गत माघ ९ गते निगममा कार्यरत २० जना पाइलटले सेवासुविधा वृद्धिको माग गर्दै राजीनामाको धम्की दिइरहँदा निगमका सानाठूला गरी १३ विमानमध्ये आठवटा विमान हाल ग्राउन्डेड अवस्थामा छन्। वाइड बडी विमान थपिएपछि जेट विमानको संख्या चार (दुईवटा वाइड बडी र दुईवटा न्यारोबडी) पु-याएको निगमले हाल काठमाडौंबाट दिल्ली, मुम्बई, बैंग्लोर, क्वालालम्पुर, हङकङ, बैंकक, दोहा र दुबई उडान गर्दै आएको छ।

प्रकाशित: १८ माघ २०७६ ०३:०१ शनिबार

नेपाल_वायुसेवा_निगम किस्ता वाइड_बडी