अर्थ

प्रदेश पाँच लगानीको गन्तव्य

काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन कानुनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार रहेको बताएका छन्।

नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्तासँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताए। मोतिपुर करिडोर, बाँकेको नौवस्ता र दाङमा जग्गा अधिग्रहण भइसकेकाले लगानी परियोजना आए तत्काल जग्गा उपलब्ध गराउन तयार रहेको पनि बताए।

मुख्यमन्त्री पोखरेलले वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना विकासको चरणमा सहकार्य गर्न परिसंघलाई आग्रह गरे। सिमेन्ट उद्योगको क्षमता विस्तार गर्न, कृषिजन्य उद्योग स्थापना गर्न तथा वनजन्य कच्चा पदार्थ उपयोग गर्ने गरी कागज उद्योग स्थापनाको प्रस्ताव ल्याउन पनि लगानीकर्तालाई आग्रह गरे। भैरहवा विमानस्थलसँग जोडेर पर्यटन पूर्वाधार लगानी विस्तारतर्फ सहकार्य गर्न मुख्यमन्त्री पोखरेलले जोड दिए।

परिसंघका अनुसार अध्यक्ष सतिशकुमार मोरले उद्योग तथा लगानीमैत्री वातावरण सिर्जना गर्न मुख्यमन्त्रीले लिएको पहलमा परिसंघले सहकार्य गर्ने बताए। अध्यक्ष मोरले प्रदेश ५ सरकारले आगामी वैशाखमा आयोजना गर्नेे लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउने जानकारी पनि मुख्यमन्त्री पोखरेललाई गराए। अध्यक्ष मोरले प्रदेश सरकारले लगानी तथा औद्योगिकीकरणमा लिएको उत्तरदायित्वले लगानीकर्ताका लागि सकारात्मक वातावरण बन्दै गएको बताए। प्रदेश स्तरमा निजी सार्वजनिक साझेदारीका नमुना परियोजना पहिचान तथा विकासमा परिसंघले थप सहकार्य गर्ने पनि अध्यक्ष मोरले उल्लेख गरे।

परिसंघका उपाध्यक्ष राजेश अग्रवाललले प्रदेश ५ मा खुलेका सिमेन्ट उद्योगलाई आवश्यक विद्युत् अपुग रहेकातर्फ मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराए। छलफलमा सहभागी परिसंघको विभिन्न उद्योग लगानी प्रवद्र्धनसँग सम्बन्धित समितिका अध्यक्षहरुले लगानी सम्मेलनमा उद्योगमैत्री कानुन निर्माण तथा नयाँ लगानीकर्ताका लागि आकर्षक प्याकेज प्रस्तुत भए प्रदेश ५ लगानी गन्तव्य हुन सक्ने धारणा राखे।

प्रकाशित: १७ माघ २०७६ ०२:२६ शुक्रबार

मुख्यमन्त्री उद्योग लगानी