अर्थ

वीरगन्ज फुटवेयर एक्स्पोमा ग्राहकको घुइँचो

वीरगन्जमा चलिरहेको ‘फुटवयर एक्स्पो–२०७६’ मा किनमेल गर्दै ग्राहक। तस्बिर : रितेश त्रिपाठी/नागरिक

वीरगन्ज - वीरगन्जमा गत बिहीबारदेखि सुरु एक महिने ‘फुटवयर एक्स्पो–२०७६’ मा किनमेल र अवलोकन गर्नेको भीड बढेको छ। एक महिनामा दुई लाखले अवलोकन गर्ने लक्ष्य लिएकामा पाँच दिनमै ५० हजारभन्दा बढीले अवलोकन गरेपछि आयोजक हौसिएका छन्।

‘हामीले सोंचेभन्दा बढीले मेला अवलोकन गरेका छन्, समग्रमा बिक्री राम्रै छ, चप्पल, स्यान्डल लगायत बढी र जुत्ता अलि कम बिक्री भएकाले बिक्री मूल्य भने धेरै हुन सेकेको छैन,’ ‘बिएफ डियर हिल’ ब्रान्डमा जुता उत्पादन गर्ने नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘सुरुवाती अवस्थामा यसलाई हामीले राम्रै मानेका छौं, मेलाप्रति धेरैबाट सकारात्मक प्रतिक्रिया नै छ।’

महिलाले लगाउने स्यान्डल र जुत्ता बिक्री अधिक छ। शितलहर बढेका बेला सुरु भएको मेलामा घाम लाग्दै जाँदा अवलोकनकर्ता र बिक्री दुवै बढ्ने आयोजकको अनुमान छ। वीरगन्जको घण्टाघर नजिकै उद्यानको खाली जग्गामा सुरु भएको यो पहिलो प्रदेशस्तरीय जुत्ता–चप्पल व्यापार मेला फागुन ८ गतेसम्म चल्ने आयोजक नेपाल फुटवेयर उत्पादक संघले जनाएको छ।

मेलामा नेपाल र भारतका करिब दुई लाख ग्राहकले अवलोकन तथा किनमेल गराउने लक्ष्य लिइएकामा उक्त संख्या त्योभन्दा अझ बढ्ने आयोजकले बताए। यहाँ सातवटा विभिन्न कम्पनीका बेग्लाबेग्लै ब्रान्ड विभिन्न प्रकारका जुत्ता चप्पल बिक्री भइरहेका छन्। स्वदेशी ब्रान्ड जुत्ता चप्पल सस्तो मूल्यमा बिक्री गर्ने लक्ष्यले मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटमा बिक्री भइरहेको आयोजकले जनाएको छ।

मेलामा एक लाख जोडी जुत्ता चपल बिक्री गर्ने लक्ष्य राखिएको छ। मेलाले यस क्षेत्रमा स्वदेशी उत्पादनको जुत्ता चप्पलको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ। मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल र हिल गरी कुल सात स्वदेशी कम्पनीको उत्पादन बिक्री भइरहेको छ।

प्रकाशित: १६ माघ २०७६ ०३:०८ बिहीबार

वीरगन्ज एक्स्पो