अर्थ

एउटा तयार, अर्काे शून्य

काठमाडौँको नयाँ बानेश्वर र बबरमहल जोड्न धोबीखोलामाथि तयार भएका दुईवटा आर्क नेटवर्क ब्रिज । तस्बिर : दिपेश श्रेष्ठ /नागरिक

काठमाडौं - सरकारले ०७१ पुसमा बिजुलीबजारको धोवीखोला र तीनकुनेको बाग्मती खोलाको दुवैतर्फ ट्राफिक जाम कम गर्ने तथा सहरी सौन्दर्य बढाउने उद्देश्यले निर्माण कम्पनीसँग ‘आर्क नेटवर्क ब्रिज’ (पुल) को छुट्टाछुटै ठेक्का सम्झौता ग-यो।  उपत्यकामा सडक विस्तारपछि साँघुरिएका पुललाई फराकिला बनाउने योजनाअन्तर्गत सरकारले यी पुल निर्माण अघि बढाएको थियो।  तर दुवै ठेकेदार कम्पनी तोकिएको समय सीमाभित्र पुल निर्माण गर्न असफल भए।

धोवीखोलामा पुल निर्माण गर्ने ठेक्का पाएको जेई कन्सट्रक्सन प्रालिले तोकिएको समयभन्दा दुई वर्ष ढिला भए पनिकाम सक्यो। तरतीनकुने पुलको ठेक्का लिएको कोस्टल–पप्पु जेभीले तोकिएको समयभित्र निर्माण गर्न सकने।  उसले निर्माण गरेको पुलमा प्राविधिक समस्या देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गत  मंसिर ३ गते ठेक्का रद्द गरिसकेको छ।  कोस्टल–पप्पु जेभीले आयोजना विरुद्ध जिल्ला अदालत काठमाडौंमा ‘स्टे अर्डर’ माग्दै रिट दायर ग-यो।

जिल्ला अदालतले अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलको लागि बोलाएको छ।  काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले कोस्टल–पप्पु जेभीले अदालतमा रिट दायर गरेसँगै नयाँ बोलपत्र आह्वान गर्न समस्या भएको बताए।  उनले भने,‘जिल्ला अदालतले जहिले जे फैसला गर्छ सोही अनुसार पुल निर्माणको कामले गति लिनेछ। ’आयोजना प्रमुख अधिकारीले धोवीखोला र बाग्मती खोलामा पुल निर्माण गर्न एउटै समयमा ठेक्का सम्झौता भए पनि ठेकेदार कम्पनीको लापरवाहीकै कारण तोकिएको समयभित्र निर्माण हुन नसकेको बताए। ‘धोवीखोलाको ठेकेदार कम्पनीले लगभग दुवै पुल तयार पारिसक्यो,’ उनले भने,‘धोवीखोलामा अब पुलको एप्रोच र रङरोगन गर्न मात्रै बाँकी छ। बाग्मतीको पुल भने जगमै अड्किएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना र जेई कन्सट्रक्सनबीच २०७१ पुस १३ गते बिजुलीबजारस्थित धोवीखोलामा ५० मिटर लम्बाइ र १२ मिटर चौडाइको दुईवटा पुल १३ करोड १३ लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको थियो।  सम्झौता अनुसार जेईले उक्त पुल २०७४ पुस १३ गतेभित्र निर्माण सम्पन्न गर्नुपथ्र्यो। तर ठेकेदार कम्पनीले तोकिएको समयभन्दा दुई वर्ष ढिलामात्रै निर्माण सम्पन्न गर्न लागेको हो।  आयोजना र कोस्टल–पप्पु कन्सट्रक्सनबीच २०७१ पुस ४ गते तीनकुनेस्थित बाग्मती खोलामा दुईवटा पुल निर्माण गर्ने सम्झौता भएको थियो।  सम्झौता अनुसार ८५ मिटर लम्बाइ र १२ मिटर चौडाइको पुल निर्माण गर्न लागिएको थियो।  उक्त पुलको लागत २१ करोड ३३ हजार रुपैयाँ कायम गरिएको थियो।

सरकार र ठेकेदार कम्पनीबीच ०७५ असार ५ गतेभित्र सो पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। आयोजनाका प्रमुख अधिकारीले कोस्टल–पप्पु जेभीले हालसम्म तीन करोड ८६ लाख १६ हजार नौ सय ४२ रुपैयाँ भुक्तानी गरिसकेको बताए।  आयोजनाले ठेकेदार कम्पनीले मोबिलाइजेसन रकम लिनको लागि राखेको एडभान्स पेमेन्टबापतको दुई करोड ७७ लाख रुपैयाँ धरौटी जफत गरेको जनाएको छ।

त्यसैगरी, पप्पुले राखेको कार्यसम्पादन जमानत (पर्फर्मेन्स बन्ड)बापतको रकममा अदालतमा रिट दायर गरेको छ।  उक्त रकम एक करोड पाँच लाख एक सय ६० रुपैयाँ छ।  आयोजना प्रमुख अधिकारीले कोस्टल–पप्पु जेभीले  पुल निर्माणमा लापरवाही गरेकाले ठेक्का रद्द गरेको बताए। ‘पप्पुले पुल निर्माणमा गम्भीर त्रुटि गरेकाले सम्पूर्ण प्रक्रिया पूरा गरेर ठेक्का रद्द गरेका हौं,’ उनले भने,‘अदालती प्रक्रिया टुंगिनेबित्तिकै नयाँ टेन्डरमा जानेछौं। ’ यसअघि संसद्को विकास तथा प्रविधि समितिले ठेकेदार कम्पनीलाई पुलको फाउन्डेसन (जग)को पाइल निर्माणमा रहेको गम्भीर त्रुटि सच्याउन भनेको थियो। ठेकेदार कम्पनीले गल्ती नसच्याएपछि गत मंसिर ३ गते आयोजनाले एकतर्फी रुपमा ठेक्का तोडेको हो।  

संसद्को विकास तथा प्रविधिसमितिको अध्ययन प्रतिवेदनले तीनकुने पुल निर्माणमा गम्भीर गल्ती फेला पारेको थियो। समितिले गत जेठमै ठेकेदार कम्पनीलाई कारवाही गर्न सिफारिस गरेपनि आयोजना र सडक विभागले आनाकानी गर्दै आएका थिए।  ठेक्का सम्झौताअनुसार २९.५ मिटर गहिराइको पाइल निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो।  ठेकेदार कम्पनीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। त्यसैगरी, दुईवटा पाइल क्र्याक भएको प्राविधिक परीक्षणमा देखिएको छ। 

प्रकाशित: १५ माघ २०७६ ०४:१८ बुधबार

पुल कन्सट्रक्सन