अर्थ

विकासका लागि सूचना प्रविधि अनिवार्य

वीरगन्जमा क्यान इन्फोटेक मेला उद्घाटन समारोहमा निवर्तमान राष्ट्रपति रामवरण यादवलगायत। तस्बिर : नागरिक

वीरगन्ज – वीरगन्जमा बिहीबार दोस्रो प्रदेशस्तरीय क्यान इन्फोटेक मेला सुरु भएको छ। माघ १३ गतेसम्म चल्ने मेला उद्घाटन  पूर्वराष्ट्रपति रामबरण यादवले उद्घाटन गरेका हुन्। नेपालमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशकभन्दा बढी समयदेखि काम गर्दै आएको आइटी व्यवसायीको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्सा र प्रदेश २ समितिले उक्त मेला आयोजना गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले वर्तमान युग सूचना प्रविधिको भएको भन्दै विकासका लागि आजको युगमा यो अनिवार्य सरह भएको बताए। सूचना प्रवृधिसँगै केही विकृति समेत भित्रिएकाले यसप्रति सचेत हुन आवश्यक रहेको उनले बताए। आइटी क्षेत्रमा सक्रिय रहेकाहरुले यसको न्यूनीकरण गर्न अग्रसर हुनुपर्ने उनले सुझाव दिए। आर्थिक तथा व्यापारिक नगरी वीरगन्ज र प्रदेश २ मा प्रविधिमैत्री वातावारण सृजना गर्नका लागि क्यानले दोस्रो पटक यहाँ प्रदेशस्तरीय आइटी मेला आयोजना गर्न लागेको क्यान इन्फोटेक महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले बताए। मुलुकको संरचना अनुसार क्यानलाई हरेक जिल्ला र तहसम्म विस्तार गरी सूचना प्रविधिमा सहयोग गर्ने र उपलब्धि हासिल गराउनेतर्फ क्यान अगाडि बढेको अध्यक्ष कुँवरले बताए।

सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरुका लागि नेपालमा कुम्भ मेला भनिने ‘क्यान इन्फोटेक’ वीरगन्जमा आयोजित मेलामा यसपटक आइटीसँग सम्बन्धित विभिन्न ६० स्टल राखिएको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए। प्रभु पे मुख्य प्रायोजक रहेको उक्त मेलामा मुख्य आकर्षणका रुपमा रोबोट प्रतियोगिता, आइटी म्युजियम, आइसिटी छात्रवृति, छुट दरमा विभिन्न उपकरणलगायत रहेका छन्। पाँच दिनसम्म चल्ने मेलामा हरेक दिन फरक विषयमा जानकारीमुलक कार्यशाला र अन्तरक्रिया समेत आयोजन गरिने क्यान पर्साका अध्यक्ष साहले बताए। मेलामा आइसीटी एक्ससरिज, गेम पार्लर, प्रोडक्ट लन्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, ई–बेस्ट म्यानेजमेन्ट, वाइफाई, इन्टरनेट र लर्निङ सेन्टर,  रोजगार केन्द्र मुख्य आकर्षणका रुपमा रहने आयोजकको भनाइ छ।

प्रकाशित: १० माघ २०७६ ०३:१० शुक्रबार

इन्फोटेक_मेला वीरगन्ज