अर्थ

साना उद्योगका निर्यातयोग्य वस्तुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं - स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत लघु, घरेलु तथा साना उद्योग विकास कोषले मंगलबार संयुक्त रुपमा राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगका लागि ट्रेडमार्क तथा बौद्धिक सम्पत्ति संरक्षण’ विषयक एकदिने कार्यशाला गोष्ठीका सहभागीले यस्तो बताएका हुन्। महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपछि विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकमा डब्लुटिओको नियम कानुनअन्तर्गत रही आफ्ना उत्पादन अन्य सदस्य मुलुकमा निर्यात गर्दै आएका बताए।

‘नेपालबाट उत्पादन सुरु भए पनि अन्य मुलुकले यस्ता वस्तुको प्रतिलिपी उतार गरी उत्पादन गरिदिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तु समेतमा नेपालको हक कायम नभइदिँदा भविश्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्न सक्ने र हाम्रा उत्पादनले उल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।’ उनले भने, ‘हालसम्म पेटेन्ट अधिकारबारे नेपालका अधिकांश लघु, घरेलु तथा साना उद्यमीलाई वौद्घिक सम्पत्ति संरक्षणबारे जानकारी समेत छैन, उनीहरुलाई ट्रेडमार्क र ब्रान्डसम्बन्धी चेतना जगाउनुपर्छ ।’

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बौद्धिक सम्पत्तिको संरक्षण गर्नुपर्ने बताए। ‘उद्योगको कुरा गर्दा कुल जिडिपीको ६ प्रतिशत उद्योगको योगदान छ त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको छ,’ उनले भने, ‘औद्योगिक सामान उत्पादन हुन्छन् तर तिनको पेटेन्ट दर्ता अत्यन्तै कम हुनुको पछाडि सचेतना र समय अभावले हुन सक्छ। तर यो विषयमा व्यवसायी बेलैमा सचेत हुन जरुरी छ ।’

कार्यक्रममा उद्योग विभागका कानुन उपसचिव टंकबहादुर महतले ट्रेडमार्कको अवधारणा, महत्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा बौद्धिक सम्पत्ति संरक्षणको अवधारणा र प्रभावकारीताका साथै वस्तु डिजाइन तथा बौद्धिक सम्पत्तिको अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धी प्रस्तुति गरेका थिए। कार्यक्रममा विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र बौद्धिक सम्पत्ति संरक्षणका विषयमा बोलेका थिए।

प्रकाशित: ८ माघ २०७६ ०२:५७ बुधबार

मन्त्रालय ट्रेडमार्क सरोकारवाला