अर्थ

बैंक तथा वित्तीय संस्था परिसंघमा तिवारी

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा गोपाल तिवारीलाई नियुक्त गरिएको छ। परिसंघ मुलुकका वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुको छाता संगठन हो। परिसंघको हालै सम्पन्न कार्यसमिति बैठकले तिवारीलाई चार वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो।

तिवारीसँग नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम, विश्व बैंक, विभिन्न वैदेशिक दातृ निकाय, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रमा काम गरेको अनुभव छ। काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० श्रीचौरमा जन्मेका तवारी विभिन्न संघसंस्थामा पनि आवद्ध छन्। अर्थशास्त्रमा स्नातकोत्तर तिवारीले नेपालमा लगानीको वातावरण सुधारसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्।

परिसंघले बैंक तथा वित्तीय संस्था बीचमा समन्वय कायम गरी स्वस्थ्य प्रतिस्पर्धाको माध्यममार्फत गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवालाई दूरदराजसम्म विकास तथा विस्तार गर्ने सहयोग गर्ने उद्देश्य लिएको छ।

प्रकाशित: ८ माघ २०७६ ०२:५१ बुधबार

परिसंघ विश्व_बैंक बैकिङ_सेवा