अर्थ

खलंगामा एक मेगावाटको सोलार प्लान्ट

विद्युत आपुर्ति नियमित हुन नसक्दा अन्धकार जुम्ला खलंगा । तस्बिर: नागरिक

जुम्ला- नियमित विद्युत आपुर्ति हुन नसक्दा विद्युतीय सामाग्री सञ्चालनमा समस्या आउन थालेपछि कर्णाली प्रदेश सरकारले जुम्लाको खलंगामा एक मेगावाटको सोलार प्लान्ट स्थापना गर्न थालेको छ।

सोलार प्लान्ट राख्नको लागि सबै तयारी भइसकेकाले ६ महिनाभित्र खलंगामा विद्युत आपुर्ति भइसक्ने आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए। उनले भने, ‘जुम्ला लामो समयसम्म अध्याँरोमा बस्यो। केही वैकल्पीक उपाय सोचिए तर त्यसबाट राहत प्रदान गर्न सकिएन। विद्युत आपुर्तिको अल्पकालिन समाधानका लागि एक मेगावाटको सोलार प्लान्ट राख्न लागिएको हो। यो परियोजनाले जुम्ला झलमल्ल हुनेछ।’ उनले यो प्लान्टले राष्ट्रिय प्रसारण लाइन नपुग्दासम्म नियमित रुपमा विद्युत आपुर्ति गर्ने बताए।

जुम्लाको खलंगालाई ६ महिनाभित्र विद्युत आपुर्ति गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, उत्पादक कम्पनी र वैकल्पीक उर्जाको इडिसँग बसेर छलफल भइसकेको छ। वैकल्पीक उर्जाले सोलार प्लान्ट परियोजना जुम्लामा सञ्चालन गर्नका लागि तयार भइसकेको छ। ६० प्रतिशत अनुदान दिने,२० प्रतिशत सहुलियत कर्जा दिने र उत्पादकहरुले निर्माण गर्ने गरि प्रक्रिया अघि बढिसकेको छ।  

सोलार प्लान्ट राख्नको लागि यसअघि प्राविधिक टोली पुगेर अध्ययन समेत गरेको थियो। वैकल्पीक उर्जाको टोली प्नः अध्ययन गर्न आउँदैछ, डिपिआर समेत बन्दैछ, कानुनमन्त्री भण्डारीले भने, ‘जुम्ला उज्यालो बनाउने अभियान अघि बढिसकेको छ। अब धेरै दिन अध्याँरोमा रहनेछैन।’ जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले भने, ‘सांसद विकास कोषको ५० लाख रुपैयाँमा खरिद गरेको डिजेल प्लान्ट चलाउन सकिएको छैन। विद्युत प्राधिकरणले पठाएको डिजेल प्लान्ट तथा विद्युत उत्पादनका साधन सबै थन्किएका छन्। यहाँका नागरिक अध्यारोमा जीवन चलाइराखेका छन्।’  

कर्णाली प्रदेश सरकारले सोलार प्लान्टमा ब्याट्री राम्ररी राख्न उत्पादन कम्पनीहरुलाई सुझाव दिएको छ। आकारका हिसाबले सानो तर बढि पावर रिजर्भ गर्ने, यहाँको पर्यावरणीय रुपमा अनुकुल  ब्याट्री ल्याउन सुझाव दिन्छौँ, कानुनमन्त्री भण्डारीले थपे, ‘मूल्यमा पनि छलफल गछौँ, ब्याट्रीको गुणस्तरीयता हेर्छौँ, बिजुली बिना अन्धकार झेल्नु परेको जनताको दुखेसोको सम्बोधन गर्न लागि परेका छौँ।’

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की सोलार प्लान्ट अध्ययनका लाग चिनियाँ टोली जुम्ला पुगेर फर्किसकेको बताउँछन्। उक्त टोलीमा शेखर गौल्छासहित सहभागी थिए। उनीहरु सोलार प्लान्ट मार्फत जुम्ला झलमल्ल बनाउन आतुर छन्। सबै सामाग्री तयारी हालतमा राखेका छन्, उनले भने, ‘विद्युत प्राधिकरण र वैकल्पीक उर्जाबीच सम्झौता हुने वित्तिकै जुम्लामा ६ महिनाभित्र नियमित विद्युत आपुर्ति तथा सोलार प्लान्टको कार्य सुरु भइसक्छ।’

सोलार प्लान्टमा निकै राम्रो विकास भइरहेको छ। यो सस्तो पनि छ, पत्रकार महेश नेपालीले भने, ‘सोलार प्लान्टबाट बिजुली निकाल्नको लागि ब्याट्री गुणस्तरको पाइरहेको छैन। यसमा ध्यान दिन कर्णाली प्रदेश सरकारलाई आग्रह छ।’ वैकल्पीक उर्जाबाट प्रत्येक सामुदायीक विद्यालयमा आएका सोलारका ब्याट्री ड्यामेज भइसकेका छन्। नेपाली उत्पादनको ब्याट्रीमा समस्या आइरहेको छ।’ सोलार प्लान्टबाट ६ महिनाभित्र बिजुली बल्ने भएपछि स्थानीय खुसी छन्। यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खलंगामा आयोजित कृषि महोत्सवलाई सम्बोधन गर्न आउदा खलंगाको विद्युत समस्या समाधान गर्न सोलार प्लान्ट राख्ने आश्वासन दिएका थिए।

योसँगै चुकेनी जलविद्युत आयोजनाको काम पनि तीब्र रुपमा चलिरहेको छ। तिला गाउँपालिकामा पनि विद्युत निर्माणको काम भइरहेको छ। राष्ट्रिय प्रसारण लाइन जडानको काम पनि विद्युत प्राधिकरणले अघि बढाइसकेकोले आगामी दिनमा विद्युत आपुर्ति नहुने समस्या जुम्लाबासीले झेल्नु पर्नेछैन। जुुम्लामा सोलार प्लान्टबाट तातोपानी गाउँपालिकाको डाँगीबाडमा विद्युत आपुर्ति भइरहेको छ। सिँजा गाउँपालिकामा सौर्य उर्जा मार्फत विद्युत उत्पादनको काम भइरहेको छ।  

अहिले चन्दननाथ नगरपालिकामा झण्डै ३ हजार सेवाग्राहीले नियमित रुपमा विद्युत सेवा पाउन सकेका छैनन्। विद्युत आपुर्ति हुन नसक्दा विद्युतीय काममा बाधा पुगेको छ। ब्यापारीले जेनेरेटर चलाएर  र सोलारबाट विद्युतीय काम गरेको भन्दै ठग्न थालेका छन्।
 

 

प्रकाशित: ७ माघ २०७६ ०९:२६ मंगलबार

खलंगा मेगावाट सोलार_प्लान्ट