अर्थ

तेस्रो पक्ष बिमा पुनर्बिमा कम्पनीलाई

काठमाडाैं – तेस्रो पक्ष बिमा पुलमार्फत सञ्चालन गर्ने नयाँ कार्यविधि लागू भएपछि यसको व्यवस्थापन कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। बिचौलियालाई निरुत्साहित गरी तेस्रो पक्ष बिमालाई सहज गर्ने उद्देश्यले नेपाल बिमक संघले कार्यविधि तयार गरेर बिमा समितिलाई पेस गरेको थियो। पुलमार्फत तेस्रो पक्ष बिमा गर्दा सहज हुने बिमा समितिले पुल सञ्चालन अनुमति दिएको हो।

माघ एकदेखि पुलमार्फत लागू भएको तेस्रो पक्ष बिमाको व्यवस्थापन लगायत अन्य विषयमा निर्णय गरी पेस गर्न निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडलले बताए। ‘तेस्रो पक्ष बिमालाई व्यवस्थित गर्न पुलमार्फत बिमा कार्यक्रम सुरु गरेका हांै,’ उनले भने, ‘कुन ढंगले कार्यक्रमलाई प्रभावकारी र सहज रुपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा माघ १५ गेतभित्र पेस गर्न नेपाल बिमाक संघलाई निर्देशन दिएका हाैं।’

संघका अनुसार तेसो पक्ष बिमाका लागि कार्यविधि तयार गरे पनि व्यवस्थापनको जिम्मा कुन कम्पनीलाई दिने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ। तेस्रो पक्ष बिमालाई पारदर्शी बनाउने उद्देश्यले ‘मोटर तेस्रो पक्ष बिमा कोष सञ्चालन सम्बन्धी प्रकृयागत व्यवस्था, २०७६’ अनुसार सम्पूर्ण निर्जीवन बिमा कम्पनीलाई नयाँ व्यवस्था कार्यान्वयन गर्न पत्राचार गरिसकेको संघले जनाएको छ।

त्यस्तै नयाँ कार्यविधि अनुसार तेस्रो पक्ष बिमा पुलमार्फत सञ्चालन गर्दा बजार हिस्सा कसरी निर्धारण गर्ने विषयमा निर्णय भइसकेको छ। जसअनुसार अब तेस्रो पक्ष बिमा गर्न निर्जीवन बिमा कम्पनीको बजार हिस्सा अनुसार ६५ प्रतिशत र बाँकी ३५ प्रतिशत सम्पूर्ण कम्पनीलाई समान बाँडफाँड हुनेछ।

प्रकाशित: ७ माघ २०७६ ०३:३८ मंगलबार

पुनर्बिमा बिमा