अर्थ

बजारमा महँगी दोब्बर पुग्यो

काठमाडौं - सरकारले बजारमा मूल्यवृद्धि नियन्त्रण गर्ने बताइरहँँदा पोहोरको तुलनामा यो वर्ष महँगी दोब्बर छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुद्रास्फीति गत वर्षको तुलनामा करिब दोब्बर हो। यो वर्षको मंसिरसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत छ। पोहोरको सोही अवधिमा मुद्रास्फीति ३.७१ प्रतिशत थियो।

सबैभन्दा धेरै मूल्यवृद्धि दैनिक उपभोग्य वस्तुमा छ। राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.१० प्रतिशत छ। तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च छ। गैरखाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको हो। सबैभन्दा बढी महँगी काठमाडौं उपत्यकामा बढेको छ। उपत्यकामा मुद्रास्फीति ७.६० प्रतिशत, पहाडमा ५.२७, हिमालमा ४.८३ प्रतिशत छ।

मुद्रास्फीति खाद्य तथा पेय पदार्थमा कात्तिकको तुलनामा मंसिरमा बढेको छ। कार्तिकमा ५.७६ प्रतिशत रहेकोमा मंसिरमा ६.५५ प्रतिशत पुगेको छ। मूल्यवृद्धि नेपालको तुलनामा भारतमा पनि बढेको छ। यहाँ अधिकांश दैनिक उपभोग्य वस्तु भारतबाट आयात हुने भएकाले त्यसको असर नेपाली बजारमा परेको हो। नेपालको वैदेशिक व्यापारमा भने सुधार आएको छ। अघिल्लो वर्षको तुलनामा निर्यात २७ प्रतिशतले बढेको छ भने आयात घटेको छ। पाँच महिनामा ४७ अर्ब ६२ करोड रुपैयाँका वस्तु निर्यात भएको छ। गत वर्षको सोही अवधिमा निर्यात १२.७ प्रतिशतले मात्र बढेको थियो। भारततर्फ निर्यात ४८.६ प्रतिशतले बढेको छ भने चीनतर्फ ६.२ र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा विगतका महिना पाम तेल, अलैंची, जुटका सामान, धागो, आयुर्वेदिक औषधि लगायत वस्तुको निर्यात बढेको थियो। छिमेकी भारतले पाम आयल आयातमा रोक लगाएकाले आगामी दिनमा यसको निर्यात ठप्प हुने देखिएको छ। जस्तापाता, तार, तयारी पोसाक, जुस, तामाको तार, रडलगायत वस्तुको निर्यात घटेको छ। यो वर्ष वस्तु आयात ४.२ प्रतिशतले घटेको छ। पाँच महिनामा पाँच सय ८१ अर्ब २६ करोड रुपैयाँका वस्तु आयात भएको छ। पोहोर सोही अवधिमा आयात ३४.२ प्रतिशतले बढेको थियो। यो वर्ष व्यापार घाटा ६.३ प्रतिशतले घटेर पाँच सय ३३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।

गत वर्ष वैदेशिक रोजगारमा परेको असरले चालु आर्थिक वर्षको सुरुआतका महिनामा घटेको रेमिटेन्स आप्रवाहमा सामान्य सुधार देखिएको छ। चालु आवको मंसिरसम्म तीन खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिटेन्स आएको छ। अहिले रेमिटेन्स वृद्धिदर ०.१ प्रतिशत छ। विगतका वर्ष रेमिटेन्स वृद्धिदर धेरै थियो। गत आव ०७५/७६ मा रेमिटेन्स आप्रवाह ३१.९ प्रतिशतले बढेको थियो। चालु आवको चौथो महिना पोहोरको तुलनामा २.३ प्रतिशतले कमी आएको थियो। यो वर्ष रोजगारीका लागि बिदेसिने नेपालीको संख्या बढेको छ। वैदेशिक रोजगारी ११.८ प्रतिशतले बढेको छ। गत वर्ष ३८.४ प्रतिशतले घटेको थियो।

यसैगरी, पाँच महिनामा चालु खाता घाटा घटेको छ। समीक्षा अवधिमा घाटा ७० अर्ब ३२ करोड रुपैयाँ छ। पोहोर सोही अवधिमा यस्तो घाटा एक सय १९ अर्ब ३३ करोड थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा एक अर्ब चार करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ६१ करोड ७७ लाख छ। शोधानान्तर स्थितिमा सुधार आएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा छ। पोहोर शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पाँच महिनासम्ममा ७५ करोड एक लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २० करोड ५९ लाखले बचतमा छ।

विदेशी मुद्राको सञ्चिति ४.८ प्रतिशतले बढेको छ। मंसिरसम्म सञ्चिति एक हजार ८८ अर्ब ३१ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप चार प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.१ प्रतिशत, ३२.० प्रतिशत र ४९.१ प्रतिशते छ। पोहोर यस्तो अंश क्रमशः ८.८ प्रतिशत, ३३.४ प्रतिशत र ४७.५ प्रतिशत थियो। निजी क्षेत्रमा प्रवाहित कर्जा पोहोरभन्दा ६.२ प्रतिशतले बढेको छ। गत वर्ष कर्जा १०.२ प्रतिशतले बढेकोमा मंसिर मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ प्रतिशतले बढेको छ। कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ६ माघ २०७६ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App