अर्थ

वर्षाले पाँंच करोड काँंचो इटा नष्ट, कर छुट गर्न व्यवसायीको माग

भक्तपुर। बिहीबारदेखिको वर्षाले भक्तपुरका इटाभटाहरुका करिव पाँंच करोड इटा नष्ट भएको इटाभटा व्यवसायीहरुले बताएका छन्। उनीहरुका अनुसार प्रतिइटाभटा करिव आठ लाख काँंचो इटा नष्ट भएका छन्। यहाँं ६२ वटा इटाभटाहरु सञ्चालनमा छन्। यस हिवासले चार करोड ९० लाख इटाहरु नष्ट भएका छन्।

भक्तपुर इटा उद्योग व्यवसाय संघका अध्यक्ष नातिभाइ ह्योम्वाले पिक आवरमा भएको वर्षाले असाध्यै समस्यामा पारेको बताए। यो महिना सबैभन्दा बढी इटा उत्पादन हुने समय हो। इटाभटाहरुमा गएको पुस १० गते इटा पोल्नका लागि आगो लगाइएको थियो। नियम अनुसार इटाभटामा सबैले एकैपटक आगो लगाउनुपर्छ। त्योभन्दा अगाडि आगो लगाउन पाइँदैन। बरु नसक्नेले त्यो भन्दा पछाडि लगाए पनि हुन्छ।

भर्खरै आगो लगाउन सुरु गरेर तीव्र रुपमा इटा उत्पादन सुरु भइरहेको बेला काँंचो इटा नष्ट भएर आगो नै निभाउनुपर्ने अवस्था आएको अध्यक्ष ह्योम्वाले बताए। यसकारण सरकारबाट कर छुट हुनुपर्ने माग उनले राखे। यहाँंका अधिकांश इटाभटाहरु चाँंगुनारायण नगरपालिकामा छन्। नगरपालिकाले प्रति इटाभटा वार्षिक सात लाख कर लिने गरेको छ। साथै आन्तरिक राजश्व विभागमा पनि कर तिर्नुपर्छ।

प्रकाशित: ४ माघ २०७६ ०६:११ शनिबार

काँंचो_इटा व्यवसायी वर्षा