अर्थ

तेस्रो गैंडाकोट महोत्सवको तयारी तीव्र

चितवन – तेस्रो गैंडाकोट महोत्सवको तयारी तीव्र पारिएको छ। ‘आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव’ नाराका साथ नारायणी नदी किनारमा माघ १५ गतेदेखि २६ गतेसम्म हुने महोत्सवको तयारी तीव्ररुपमा भइरहेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। महोत्सवका संयोजक एवं जिल्ला उद्योग बाणिज्य संघ नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अध्यक्ष अमृत भट्टचनले स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धन गर्न महोत्सव केन्द्रित हुने बताए। उनले यस वर्षको महोत्सवको आम्दानीले एकवर्षभित्र संघको भवन निर्माण गर्ने समेत पनि बताए।

महोत्सवका सचिवालय प्रमुख एवं संघका महासचिव छवि कँडेलले महोत्सव सम्पन्न गर्न डेढ करोेडभन्दा बढी खर्च लाग्ने बताए। महोत्सवमा तीन सय ५० स्टल रहने छन्। स्थानीय उत्पादनलाई निःशुल्क स्टल प्रदान गर्ने योजना छ। कँडेलका अनुसार महोत्सव अवधिभर मनोरञ्जनात्मक प्रस्तुति पनि हुनेछ। यसपटकको महोत्सवमा रसियन कलाकारबाट दैनिक बेली डान्स लगायतकार्यक्रम हुनेछ।यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लन्डन ब्रिज आकारको कलात्मक प्रवेशद्वार समेत राखिने आयोजकले जनाएको छ।

महोत्सव प्रवेशको लागि ५० रुपैयाँको टिकट लाग्नेछ। समूह र विद्यार्थीलाई छुटको व्यवस्था हुनेपत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ। महोत्सव गैंडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजनामागर्न लागेको बताइएको छ।

प्रकाशित: ३ माघ २०७६ ०३:०४ शुक्रबार

चितवन गैंडाकोट