अर्थ

राजस्व छलेका ३० थान मोबाइल बरामद

बनेपा – इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छलेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरेको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बुधबार पत्रकार सम्मेलन गरी बरामद गरिएका मोबाइल सेट सार्वजनिक गरे।

उनका अनुसार बनेपा नगरपालिका–८ बसपार्कमा दर्ता नै नगरी सुनिल खनालले सञ्चालन गर्दै आएको मोबाइल पसलबाट विभिन्न कम्पनीको २१ थान र वडा नं ८ चाँदनी चोकस्थित चाँदनी कम्प्लेक्सभित्र सुदीप दाहालले सञ्चालन गरेको एमआइजी मोबाइल सेन्टरबाट नौ थान गरी ३० थान मोबाइल बरामद गरिएको हो। बरामद गरिएका मोबाइल कम्पनीको बजार मूल्यअुनसार १७ हजार ६ सयदेखि एक लाख ६० हजारसम्मका छन्।

बरामद गरिएका १० लाख १७ हजार पाँच सय रुपैयाँ बराबरका मोबाइल राजस्व अनुसन्धान विभाग पुल्चोकमा थप अनुसन्धानका लागि पठाइने प्रहरीले जनाएको छ। पसलेले भन्सार छली गरेर ल्याएका मोबाइल काठमाडौंबाट ल्याई बेच्ने गरेका पाइएको प्रहरीको भनाइ छ। ती पसल सञ्चालकलाई राजस्व छलीअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ। (रासस)

प्रकाशित: २ माघ २०७६ ०४:०७ बिहीबार

बनेपा प्रहरी मोबाइल