अर्थ

वाणिज्य बैंकका सिइओको पारिश्रमिक

काठमाडौँ - मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई उपलब्ध गराउँदै आएको पारिश्रमिक तथा सेवा सुविधाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन्। हालसम्म सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी निजी क्षेत्र रसरकारी मातहतका बैंकले कम तलब, सेवा सुविधा दिएका छन्।

वाणिज्य बैंकहरुको वार्षिक प्रतिवेदनअनुसार गत आवमा सबैभन्दा बढी एभरेस्ट बैंकले पारिश्रमिक दिएको छ। बैंकले प्रमुख कार्यकारीसहित पाँच उच्च तहका कर्मचारीलाई चार करोड ११ लाख रुपैयाँ प्रदान गरेको जनाएको छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकले तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र कामु प्रमुख कार्यकारी महेश शर्मा ढकाललाई सेवा सुविधा र पारिश्रमिक गरी तीन करोड ७८ लाख रुपैयाँ वितरण गरेको जनाएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गत आवमा तीन करोड ६ लाख रूपैयाँ बुझेका छन्। बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी शोभनदेव पन्तले गत आवमा दुई करोड ३२ लाख रुपैयाँ बुझेका छन्। त्यसैगरी, प्रभु बैंकका अशोक शेरचनले दुई करोड २९ लाख रुपैयाँ बुझेको प्रतिवेदनमा उल्लेख गरिएको छ। नबिल बैंकका अनिल शाहले गत आवमा एक करोड ९८ लाख बुझेका छन् भने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले दुई दुई करोड आठ लाख रुपैयाँ तलब बुझेका छन्।

सिटिजन्स बैंकले गत आवमा एक करोड ७९ लाख रूपैयाँ सुविधा दिएको छ। जसमध्ये नेपाल बैंकर संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले एक करोड ४१ लाख रुपैयाँ तलब दिएको बैंकले जनाएको छ। त्यसैगरी, लक्ष्मी बैंकले सो अवधिमा एक करोड २१ लाख रुपैयाँ पारिश्रमिक वितरण गरेको छ। माछापुछ्रे बैंकले गत आवमा एक करोड १७ लाख रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ। बैंकले प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई उक्त पारिश्रमिक दिएको जनाएको छ।

त्यसैगरी, मेगा बैंककी अनुपमा खुञ्जेलीलाई एक करोड १४ लाख रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको जनाएको छ। एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी रोशनकुमार न्यौपानेले दुई करोड १३ लाख, कुमारी बैंकका सुरेन्द्र भण्डारीले दुई करोड १४ लाख, जनता बैंकले तत्कालीन प्रमुख कार्यकारी पर्शुराम कुँवर क्षेत्रीले एक करोड ८० लाख रुपैयाँ पारिश्रमिक पाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। एनएमबी, सिद्धार्थ र नेपाल एसबिआई बैंकले करिब एक करोड ५० लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् भने सिभिल बैंकका गोविन्द गुरुङले एक करोड ४३ लाख रुपैयाँ बुझेको बैंकले जनाएको छ।

त्यसैगरी, सरकारी मातहतको बैंक कृषि विकास बैंकले ३७ लाख ५० हजार रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ भने नेपाल बैंकले ३० लाख भुक्तानी गरेको वार्षिक प्रतिवदेन सार्वजनिक गरेको जनाएको छ। त्यसैगरी हालसम्म वार्षिक प्रतिवदेन सार्वजनिक गरेका निजी क्षेत्रका वाणिज्य बैंकमा प्राइम कमर्सियल बैंक रहेको छ। बैंकले गत आवमा प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई एक करोड नौ लाख रुपैयाँ तलब भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ।

मुलुकमा हाल २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन्। अहिलेसम्म हिमालयन बैंक, एनसिसी बैंक, सेञ्चुरी कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले साधारणसभा गर्न बाँकी छ ।

प्रकाशित: २ माघ २०७६ ०३:०९ बिहीबार

वाणिज्य_बैंक सिइओ