अर्थ

सामूहिक अर्गानिक तरकारी खेतीमा रमाउदै किसान

भैरहवा - अहिलेको समयमा अर्गानिक तरकारी पाउन मुस्किल छ। बढी उत्पादनका लागि विषादीयुक्त तरकारी उत्पादन गर्ने क्रम बढिरहेका बेला रूपन्देही जिल्लाको देवदह क्षेत्रका कृषकहरू सामूहिक रूपमा अर्गानिक तरकारी उत्पादन गरिरहेका छन्। १० वर्ष अघिदेखि यहाँका सयभन्दा बढी कृषकहरूले अर्गानिक खेती गरिरहेका छन्। अन्नबाली भन्दा पनि राम्रो आम्दानी अर्गानिक तरकारी खेतीबाट पाएपछि उनीहरू यसमा आकर्षित भएका हुन्।

पूर्व पश्चिम राजगमार्गदेखि करिब ३ किलोमिटर उकालो देवदह नगरपालिकाकै विकट क्षेत्रको रूपमा रहेको  सरनटाडी क्षेत्र अहिले सिमीले लहलह छ। मगर समुदायको बसोबास रहेको सो क्षेत्रमा अहिले ५६ बिघाभन्दा बढी जग्गामा सिमीसहित तरकारी खेती भइरहेको छ। अर्गानिक खेतीबाट सोचेजति फाइदा हुन्छ। वर्षामा धान खेती गरे पनि हिउँदमा यहाँका किसानले सिमी, पिँडालु, तरुल, टमाटर, मुला, भाण्टा, करेला, काँक्रा भुइँकटहरको खेती गर्दै आएका छन्।

जैविक मल र विषादीको प्रयोग गरिने भएकाले यहाँको माटोमा उर्वरशक्ति बढी छ। ‘पहिलेदेखि प्रांगारिक मलको प्रयोग गरेकाले हालसम्म रासायनिक मलको प्रयोग गरेका छैनौं,’ कृषक मानबहादुर गाहाले भने, ‘हरेक वर्ष माटो परीक्षण हुन्छ, आवश्यकताअनुसारको गँड्यौला मल, प्रांगारिक मल प्रयोग गरेर उर्वरभूमिलाई समानान्तर बनाउने गरेका छौं। रोग लागेमा जैविक विषादीको रूपमा असुरो, निम, बकाइनोजस्ता अर्गानिक विषादी प्रयोग गर्छौं।’ कृषकले कुलो खनेर बारी–बारीमा सिँचाइ सुविधा पु-याएका छन्। पुरानो पद्धतिबाट तरकारी खेती गर्दा त्यति आम्दानी गर्न नसकेपछि समूहगत रूपमा नयाँ पद्धति र अर्गानिक तरकारीमा किसान लागेका हुन्। अहिले आम्दानी पनि राम्रो भएको कृषकहरूको भनाइ छ।

सामूहिक रूपमा प्रांगारिक खेती गर्ने देशकै नमुना र ठूलो अर्गानिक क्षेत्रको रूपमा सरनटाडी भए पनि संघीय र प्रदेश सरकारले हालसम्म कुनै सहयोग गरेका छैनन्। यहाँ सडक र पुलको समस्या छ। ‘पानी परेका बेला खहरे खोला  हुँदै आएको बाटो अवरुद्ध हुन्छ। सय घरधुरीको आवतजावत बन्द हुन्छ,’ देवदह नगरपालिका–६ का अध्यक्ष दामोदर क्षेत्रीले भने। अर्गानिक खेतीका लागि जिल्लाभरि प्रख्यात रहेको सरनटाडीको उत्पादन बिचौलियाकै कारण ओझेलमा परेको छ। एकीकृत भएर बेच्न खोज्दा पनि बिचौलियाले विभिन्न प्रलोभनमा पारेर किसानलाई एकजुट हुन नदिएको क्षेत्रीकोे भनाइ छ। किसानद्वय उत्पादित तरकारीको मूल्य व्यापारीहरूले मनोमानी ढंगले तोक्ने गरेको उनले बताए।

ज्याला मजदुरीभन्दा पनि आवश्यकताअनुसार सहकार्यमा कृषक सबै काम मिलेर गर्छन्। २०६५ सालमा संकलन केन्द्र बने पनि केही समयपछि बिचौलियहरूले आफ्नो स्वार्थका लागि कृषकबीच द्वन्द्व गराएकाले सञ्चालनमा कठिनाइ भएको छ। ‘घरमै आउने बिचौलियाहरूले उनीहरूबाट ३० रुपैयाँ प्रतिकिलोका दरले सिमी खरिद गरी बजार पु-याउँछन्, त्यही सिमी उपभोक्ताको हातमा आइपुग्दा एक सय २० रुपैयाँ प्रतिकिलोभन्दा बढी परिरहेको हुन्छ,’ वडा अध्यक्ष क्षेत्रीले भने। ‘यहाँबाट दैनिक ५० क्विन्टल सिमी बुटवल जाने गरेको छ, घरबाट नै तरकारी उठाउँछ, हामीलाई बजारीकरणको कुनै समस्या छैन,’ स्थानीय सरनकाली कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका किसान मानबहादुर गाहाले भने। मौसम अनुकूल हुने तरकारी खेती र पशुपालन समेत गर्दै आएका सरनटाडीका कृषकहरूले सबै कृषिकर्म संयुक्त रूपमा गर्ने गरेका छन्। विषादीरहित भएका कारण देवदहमा मात्र होइन जिल्लामै यहाँ उत्पादित तरकारीको माग बढ्दो छ।

कृषक एकजुट भएर सरनटाडीलाई तरकारीको पकेट क्षेत्र बनाए त्यसमा नगरपालिकाले नै लगानी गर्ने देवदह नगर प्रमुख हीराबहादुर खत्रीले बताए। उनले पकेट क्षेत्र विस्तारमा प्रदेश र संघले सहयोग नगरे पनि नगरपालिकाले आफ्नै स्रोतबाट यसको विकासमा लाग्ने बताए। मेयर खत्रीले सरनटाडी देशकै नमूना गाउँको रुपमा रहेकाले सबै कृषक एकजुट भएर कृषिमा लाग्न आग्रह गरे। सरनटाडीलाई नगरपालिकाले सिमी पकेट क्षेत्र घोषणा गरेको छ।

प्रकाशित: २७ पुस २०७६ ०५:२८ आइतबार

रूपन्देही विषादीयुक्त