अर्थ

बिद्युतगृह निर्माण तीव्र

टीकापुर - राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत बिद्युतगृह निर्माणको काम तीव्र पारिएको छ। आयोजनाले तेस्रोपटक थपिएको म्यादभित्रै बिद्युतगृह निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको डिभिजन इन्जिनियर विदुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगामी जेठ २२ गतेभित्र विद्युत्गृह निर्माणको काम सक्ने लक्ष्य छ।

यसअघि सन् २०१९ जुलाईभित्र निर्माण सम्पन्न गर्ने गरी आयोजनाको सिफारिसमा विभागले बिद्युत्ागृह निर्माणको म्याद दोस्रोपटक एक वर्ष थप गरेको थियो। यसको म्याद पहिलोपटक सन् २०१७ मा थप भएको थियो। सन् २०१४ मा तीन वर्षभित्र विद्युत्गृह निर्माण गर्ने गरी आयोजना र एसइडब्लू/तुँदी जेभीबीच सम्झौता भएको थियो। जसमा पाँच किलोमिटर नहरसमेत निर्माण गर्नुपर्ने उल्लेख छ। नहर निर्माणको काम भने लगभग सकिएको छ।

विद्युत्गृह निर्माणले बेलाबेलामा विभिन्न अवरोध खेप्नुपरेका कारण निर्माण कार्यमा ढिलाइ भएको आयोजनाको दाबी छ। सुरुका दुई वर्ष वन विभागले रुख काट्न आदेश नदिएका कारण विद्युत्गृह निर्माणको काम रोकिएको थियो। समयमा रुख काट्ने आदेश नपाएपछि निर्माण कम्पनीले बिद्युत्ागृह निर्माणको काम सुरु गर्न पर्खिनु प-यो।

बिद्युत्ागृह निर्माणको काम सुरु भएपछि समेत विभिन्न अवरोध देखा परे। बिद्युत्ागृह निर्माणका लागि खनिएको खाल्डोमा अनियन्त्रित रुपमा जमिनमुनिबाट पानी निस्कियो। जसको व्यवस्थापन निर्माण पक्षका लागि निकै ठूलो चुनौती बन्न पुग्यो। निर्माण कम्पनीले खाल्डोमा पानी जम्न नदिन बोरिङको सहायताले बाहिर निकाल्यो।

निर्माण पक्षले खाल्डो सुक्खा पारेर विद्यृत्गृहको फाउन्डेसन तयार पारेपछि एकाएक डिजाइनमा फेरबदल भयो। नयाँ डिजाइन बनाउनुपर्ने भन्दै केही समय विद्युत्गृह निर्माणको काम पुनः रोकियो। जसका कारण विद्युत्गृह निर्माणको म्याद बेलाबेलामा थप्नुपर्ने बाध्यता सिर्जना भएको आयोजनाले जनाएको छ।

तर अहिले भने बिद्युत्ागृह निर्माणको काममा कुनै अवरोध नरहेको डिभिजन इन्जिनियर श्रेष्ठ बताउँछन्। ‘अहिले डिजाइन पास भएर आइसक्यो, पानी जम्ने समस्या पनि छैन,’ उनले भने, ‘दिन–रात गरेर दुई सिफ्टमा काम भइरहेको छ। समयमै निर्माण सम्पन्न हुन्छ।’

जानकी गाउँपालिका–९, कटासे बजार नजिकै विद्युत्गृह निर्माणको काम भइरहेको छ। बिद्युत्ागृह निर्माणका लागि मूल नहरसँगै १६ मिटर गहिरो खाल्डो खनिएको छ। बिद्युतगृहका लागि आवश्यक सबै उपकरण भारतको नोयडामा निर्माण गरिएका छन्। तीमध्ये कतिपय उपकरण निर्माणस्थलमा ल्याइसकेको बिडिए जिओइसी इको कोड कन्सल्टेन्सीले जानकारी दिएको छ।

यो बिद्युत्ागृह नेपाल सरकारको करिब ४५ करोडको लागतमा निर्माण हुन लागेको हो। यसबाट ४.७१ मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ। यहाँ उत्पादित विद्युत् आयोजना क्षेत्रभित्रका बासिन्दालाई उपभोगका लागि वितरण गर्ने आयोजनाको उद्देश्य छ। आयोजनाले बिद्युतबाट भएको आम्दानीले सिँचाइ आयोजना मर्मत सम्भार लगायत काममा खर्च गर्न सकिने जनाएको छ।

सिँचाइ आयोजनाको काम सर्भे भइरहेका बेला विज्ञको टोलीले नहरबाट विद्युत् उत्पादन गर्न सकिने औंल्याएका थिए। सोही आधारमा रानी जमरा कुलरिया जल उपभोक्ता समितिले सम्भाव्यता अध्ययनका लागि सरकार समक्ष आग्रह गरेको थियो। विज्ञहरुको टोलीले विद्युत् उत्पादनको सम्भावना रहेको भन्दै सरकार समक्ष प्रतिवेदन बुझाएपछि सरकारले सिँचाई आयोजनाभित्रै विद्युत् उत्पादनको कामलाई समेत जोडेको थियो। यो विद्युत्गृहसँगै आयोजनाले अन्य ठाउँमा समेत विद्युत् उत्पादनको सम्भाव्यताबारे अध्ययन गरिरहेको छ।

प्रकाशित: २३ पुस २०७६ ०४:०५ बुधबार

सिँचाइ टीकापुर