अर्थ

बजार निरन्तर उकालो, रकम अर्ब नाघ्यो

काठमाडौं –  यो साताको सुरुदेखि नै बुलिस देखिएको सेयर बजार लगातार तेस्रो दिन पनि उच्च विन्दुले वृद्धि भएको छ। बजार मापक परिसूचक मंगलबार १६.२३ विन्दुले उकालो लागेको छ। यसअघि आइतबार र सोमबार पनि नेप्से दोहोरो अंकले नै वृद्धि भएको थियो।

दैनिक चार्टमा मंगलबार नेप्सेले झन्डैझन्डै मारुबोजु प्रकृतिको हरियो महिनबत्ती बनाएको छ। सोमबार महिनबत्तीको तलमाथि कतै पनि धर्को (छाया) थिएन तर मंगलबार भने माथिपट्टि छोटो धर्को (छाया) देखिएको छ। यसले सोमबारको तुलनामा मंगलबार बजारको बुलिस प्रवृत्ति केही कमजोर बनेको हो कि भन्ने संकेत गर्छ। तर यो पूर्ण निश्चित भने हुँदैन। मंगलबार १२००.६९ विन्दुमा खुलेको बजारले १२००.६५ को न्यून विन्दु १२१८.१४ को उच्च विन्दु बनायो भने बजार १२१६.९२ विन्दुमा बन्द भयो। नेप्से १.३५ प्रतिशतले बढ्दा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशत (४.१३ विन्दु) ले बढेको छ।

यस दिन कारोबार भएका १२ वटा समूहमध्ये १० वटाको सूचक हरियो छ भने बाँकी दुईवटाको सूचक रातो देखिएको छ। सबैभन्दा बढी उकालो लाग्नेमा निर्जीवन बिमा समूह देखिएको छ। यो समूहको सूचक १.८९ प्रतिशतले वृद्धि भएको छ। विन्दुगत आधारमा हेर्दा पनि निर्जीवन बिमा समूहकै सूचक बढी उकालो लागेको छ। यो समूहको सूचक ८६.५६ विन्दुले उकालो लाग्दा लघुवित्त समूहमा ३२.९ विन्दुको वृद्धि देखिएको छ। यस्तै विकास बैंक समूह २६.१८, बैंकिङ १९.०३, जलविद्युत् १७.५५, वित्त ५.०२, अन्य १.५२, जीवन बिमा १.०४, व्यापार १.०१ र म्युचुअल फन्ड ०.०१ विन्दुले उकालो लागेका छन्। बढ्दो बजारमा पनि यस दिन उत्पादनमूलक समूह २२.६६ र होटल्स समूह ८.३७ विन्दुले खस्किएका छन्।

कारोबार रकम निरन्तर उकालो
बजारमा लगातार वृद्धि देखिँदा लगानीकर्ताले पनि सोही अनुपातमा सेयर खरिद बढाएका छन्, जसले गर्दा कारोबार रकममा पनि निरन्तर वृद्धि देखिएको छ। यस दिन कारोबार रकमले अर्ब नाघेको छ। सोमबार ८४ करोड २५ लाख ८२ हजार एक सय ५० रुपैयाँको सेयर खरिदबिक्री भएकोमा यस दिन एक खर्ब १० करोड २७ लाख ३६ हजार सात सय ४८ रुपैयाँको सेयर किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा ३०.९ प्रतिशतले बढी हो। कारोबार रकम आइतबारदेखि नै वृद्धिको क्रममा छ। आइतबार ७१ करोड २३ लाख ५७ हजार दुई सय ४१ रुपैयाँको कारोबार भएको थियो। मंगलबार कारोबार रकम उच्च देखिनुमा माछापुच्छ्रे बैंकको पनि सहयोग छ। यो बैंकको मात्रै १९ करोडभन्दा बढीको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकमका साथै कारोबार संख्या र किनबेच भएको सेयर संख्यामा पनि वृद्धि देखिएको छ। सोमबार १० हजार सात सय २६ कारोबारबाट एक सय ७८ कम्पनीका २६ लाख ८३ हजार ६ सय १० कित्ता सेयर किनबेच भएकोमा मंगलबार १२ हजार चार सय ५७ कारोबारबाट एक सय ७९ कम्पनीका ३८ लाख ८० हजार नौ सय ५० कित्ता सेयर किनबेच भएका छन्। कारोबार रकममा माछापुच्छ्रे अगाडि कारोबार रकमका आधारमा मंगलबार माछापुच्छ्रे बैंक अगाडि देखिएको छ। यस कम्पनीको मात्रै १९ करोड ४९ लाख १३ हजार चार सय १३ रुपैयाँको सेयर किनबेच भएको छ। यो कुल कारोबार रकमको १७ प्रतिशतभन्दा बढी हो।

कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एसिया बैंकको ६ करोड ४८ लाखको सेयर किनबेच भएको छ। कारोबार रकमका आधारमा प्रभु बैंक, डिप्रोक्स लघुवित्त र एनसिसी बैंक क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।  एनएमबी बैंक, लुम्बिनी विकास बैंक, सिद्धार्थ बैंक, नेपाल लाइफ इन्सुरेन्स र सानिमा बैंक पनि उच्च कारोबार हुने १० कम्पनीभित्र पर्न सफल भएका छन्।

तीन कम्पनीको भाउमा सर्किट
 यस दिन तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारी बढ्दो नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाउनुपरेको छ। सर्किट लागेका सिभिल लघुवित्त, वोमी लघुवित्त र सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य क्रमशः १०, ९.९७ र ९.७६ प्रतिशतले बढेको छ। यस्तै सबैको लघुवित्तको सेयर भाउ पनि ९.४९ प्रतिशतले बढेको छ।

प्रकाशित: २३ पुस २०७६ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App