अर्थ

माघ तेस्रो सातादेखि सञ्चालन हुने

काठमाडौं - जनकपुर–जयनगर–कुर्था खण्डमा आउँदो माघ तेस्रो सातादेखि (फेब्रुअरी पहिलो साता) रेल सञ्चालन हुने भएको छ। नयाँ रेल बनाउने जिम्मा  पाएको भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडले दोस्रो पटक संशोधन गरिएको सम्झौता अनुसारको मितिमा बनाएकाले माघ तेस्रोदेखि सञ्चालनको तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

‘जनवरी ३० सम्म कोकन रेलवेजले रेल हस्तान्तरण गर्नेछ। फेब्रुअरी पहिलो सातादेखि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउने तयारीमा छौं,’ मिश्रले सोमबार नागरिकसँग भने। कोकन रेलवेजले भारतको चेन्नईमा नेपाल आउने रेल बनाइरहेको छ।

रेल सञ्चालनका लागि भने ऐन तयार भइसकेको छैन। त्यस्तै विभागले आवश्यक कर्मचारीको पनि व्यवस्थापन गर्न सकेको छैन। रेल सञ्चालनसम्बन्धी ऐन तथा कर्मचारी भर्ना गर्न आर्थिक स्रोतको जोहो नहुँदासम्म विभागले केही भारतबाट (२८ जना) र केही  अवकाश पाएका कर्मचारी प्रयोग गरी रेल चलाउने तयारी गरेको मिश्रले बताए। ‘चालक लगायत विज्ञ कर्मचारी रेल निर्माण गर्ने कम्पनीसँग लिन्छौं,’ उनले भने, ‘अपुग जनशक्ति विगतमा अवकाश पाएका कर्मचारीलाई पुनः करारमा भर्ना गर्छौं।’

विगतमा रेल विभागसँग करिब डेढ सय कर्मचारी कार्यरत भए पनि हाल २० जनामात्र कार्यरत रहेको मिश्रले जानकारी दिए। कैयौं वर्ष रेल सञ्चालन नभएपछि अधिकांश कर्मचारीले अवकाश लिएका थिए। पुनः रेल सञ्चालनका लागि विभागले करिब दुई सय कर्मचारी आवश्यक पर्ने जनाएको छ।

ती कर्मचारीको पूर्तिका लागि विभागले अर्थ मन्त्रालयसँग दरबन्दी थपको माग पनि गरेको छ। तर अर्थले आर्थिक वर्षको बीचमा त्यति धेरै कर्मचारी थप गर्न नसकिने जवाफ दिएपछि अवकाश पाएका कर्मचारीबाटै काम चलाउने तयारी गरिएको बताइएको छ। रेल सञ्चालनका लागि विभागले दुई सय कर्मचारीको दरबन्दी स्वीकृत गर्न अर्थमा फाइल पेस गरेको जनाएको छ।

विभागले मागेअनुसारका कर्मचारीको दरबन्दी अर्थले स्वीकृत नगरेपछि कतिपयले चालु आर्थिक वर्ष रेल सञ्चालन गर्न कठिनाइ हुने बताइरहेका छन्। मिश्र भने रेल सञ्चालनसम्बन्धी ऐन संघीय संसद्बाट स्वीकृत हुँदै जाने र  अवकाशप्राप्त कर्मचारीलाई करारमा भर्ना गरी रेल चलाउन थालिने बताउँछन्।

उनका अनुसार जनकपुर–जयनगर–कुर्था खण्डमा चल्ने रेल भारतमा तयार भइसकेको छ। ‘केही दिनअघि भारतको भ्रमण गर्दा रेल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको पाएका थियौं,’ उनले भने, ‘अहिलेसम्म निर्माणकर्ता कम्पनीले जनवरी ३० सम्म पहिलो रेल दिने बताएको छ। जसले गर्दा फेब्रुअरी पहिलो सातासम्म रेल चलाउनु पर्नेछ।’
विभागले वैशाखमा करिब एक हजार दुई सयजनाले (पाँच सय बसेर र बाँकी उभिएर) यात्रा गर्न मिल्ने डेमो रेल तयार गर्ने कोकन रेलवेजसँग सम्झौता गरेको थियो। सुरुको सम्झौता भदौसम्म उक्त रेल ल्याउने थियो। त्यतिखेर रेल तयार नभएपछि सम्झौतालाई जनवरी ३० सम्म लम्ब्याइएको थियो।

चालु आर्थिक वर्षमा रेल चलाउन अर्थले सुरुमा ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। त्यति रकमले दुईवटा डेमो रेल खरिद गर्न अपुग भएपछि मन्त्रिपरिषद्ले बजेट थप गरी ८५ करोड ६५ लाख रुपैयाँ पु¥याएको थियो। विनियोजन गरिएको सबै रकमबाट विभागले दुईवटा रेल खरिद गर्न सम्झौता गरिसकेको छ। पहिलो रेल आइपुगेको एक महिनापछि दोस्रो रेल नेपाल आउने मिश्रको भनाइ छ।

नेपालमा रेल चलाउने प्रयास लामो समयदेखि भइरहेको छ। जयनगर–कुर्था (४४ किमी) खण्डमा चल्ने रेल निर्माण गर्न भारतीय कम्पनीले सन् २०१८ को अप्रिलमा नै मूल्यसहित नेपाललाई प्रस्ताव गरेको थियो। त्यतिबेला पनि अनेक कारणले रेल खरिदमा ढिलाइ गरिएको थियो।

स्रोतका अनुसार त्यतिखेर जिटुजी (सरकारी निकाय) स्तरबाट खरिदबिक्री नगरी बिचौलिया नियुक्त गर्ने प्रयासले गर्दा दुई देशबीचको सम्झौता लम्बिएको थियो। ‘जिटुजीको साटो बिचौलिया घुसाएर कमिसन लिने चक्करमा एक वर्ष खेर फालियो,’ स्रोतले भन्यो, ‘बिचौलिया घुसाउन सक्ने सम्भावना नदेखिएपछि अन्तिममा वैशाखमा जिटुजीमै सम्झौता गरियो।’

विगतमा सञ्चालन हुँदै आएको जनकपुर–जयनगर खण्डलाई कुर्थासम्म बढाई मर्मतसम्भार गरेपछि रेल चलाउन लागिएको हो। सोही खण्डमा चल्दै आएको एकमात्र रेल निकै जीर्ण भएका कारणसात वर्षदेखि बन्द छ। स्थानीयले पुरानो रेलसेवा बन्द भएदेखि नै रेल चलाउनुपर्ने माग गर्दै आएका छन्। जीर्ण भएको पुरानो रेलमार्गलाई भारतले नै मर्मत गरिदिएपछि नयाँ रेल चलाउन योग्य भएको विभागले जनाएको छ।

जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि जनकपुर–बर्दिबास (६९ किलोमिटर) सम्म विस्तार हुने बताइएको छ। हाल बर्दिवास खण्डमा भारतीय पक्षले नै रेलमार्ग निर्माण गरिरहेको छ। जनकपुर–बर्दिबास खण्डबाहेक भारतको सहयोगमा काँकडभिट्टा, विराटनगर, भैरहवा र नेपालगन्ज नाकामा रेलमार्ग निर्माण हुने विभागले जनाएको छ। महानिर्देशक मिश्रले डेमो रेलमा अघिल्लो र पछिल्लो भागमा इन्जिन रहने हुनाले घुमाउन नपर्ने र प्रतिघन्टा एक सय किलोमिटरको गतिमा कुद्ने विशेषता रहेको  बताए।

छोटो दूरीमा कुदाउनुपर्ने भएकाले डेमो रेललाई आवश्यक परेको स्टेसनमा रोक्न सक्ने सुविधा रहेको बताइएको छ। भारतमा चल्ने गरेका अधिकांश रेललाई अघिल्लो भागमा राखिएको इन्जिनले तान्ने भएकाले छोटा स्टेसनमा रोक्न कठिन हुने बताइन्छ। तर डेमो रेलको प्रत्येक डिब्बामा विद्युत् आपूर्तिको सुविधा हुने र जसले गर्दा छोटा स्टेसनमा रोक्न सहज हुने प्राविधिक बताउँछन्। दुईमध्ये एउटा रेलमा एसी सुविधाको डिब्बा (कार) हुनेछ।

प्रकाशित: २२ पुस २०७६ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App