अर्थ

आकर्षक बनाइँदै त्रिभुवन विमानस्थल

काठमाडौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुरुप धमाधम विमानस्थलको साजसज्जा र स्वरूप परिवर्तन गर्ने कार्य भइरहेको छ। सोहीअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थलमा शाक्यमुनि भगवान् गौतमबुद्धको प्रतिमा स्थापना गरिएको छ। विमानस्थलको आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अनावरण गरे।

‘वेलकम टू द ल्यान्ड अफ लर्ड बुद्ध’ लेखिएको बुद्धको प्रतिमा सजाइएको छ। बुद्धको प्रतिमा स्थापित भएसँगै अब विदेशी पर्यटकले जहाजबाट ओर्लने बित्तिकै बुद्धको देश नेपालमा आएको अनुभव गर्नेछन्। पर्यटनमन्त्री भट्टराईले बुद्धको प्रतिमाले विदेशी पर्यटकलाई विमानस्थलमा ओर्लेपछि बुद्धको देशमा प्रवेश गरेर आनन्दको महसुस गराउने बताए। ‘यात्रुको आवागनमा सहजै देखिने गरी बुद्धको प्रतिमा स्थापना गर्ने भन्ने योजना बनेको थियो, त्यसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको आगमन कक्ष सामुन्ने स्थापित गरेका छौँ, जहाजबाट ओर्लने बित्तिकै बुद्धको देश नेपालमा आइयो भन्ने उहाँहरूलाई अनुभव पैदा हुन्छ। यसले छुट्टै आनन्दको महसुस गराउनेछ,’ उनले भने।

करिब एक टन वजनको बुद्धको प्रतिमाको लागत ७० लाख रहेको विमानस्थ कार्यालयले जनाएको छ। यसमा झण्डै २४ लाखको सुनको जलप लगाइएको छ। उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाएका हुन्। बुद्धको प्रतिमामा अब कुनै पनि पर्यटकले बुद्धसँगै बसेर फोटो खिच्न सक्नेछन् सहज रूपमा अवलोकन गर्न पाउनेछन्। बुद्धको प्रतिमा स्थापित भएसँगै विमानस्थललाई सुन्दर बनाउने काम सुरु भएको पर्यटनमन्त्री भट्टराईले बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रुपान्तरण गर्ने बाँकी कामहरू क्रमशः अघि बढाइने उल्लेख गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना थियो। अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्ने विभिन्न आइटममध्ये बुद्धको प्रतिमा एक महत्वपूर्ण पाटो हो।

विमानस्थलभित्र नेपाली मौलिक कलासँस्कृतिको विशेषता झल्कने सामग्रीको साजसज्जाले बुटिक एयरपोर्टको अवधारणालाई सार्थक तुल्याउने पर्यटनमन्त्रीको भनाइ थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुटिक एयरपोर्टको अवधारणाअनुरूप अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको अघिल्तिर ‘क्यानोपी’ राख्ने र यसले यात्रुलाई घामपानीमा सहज व्यवस्थापन गर्न सकिने बताए। उनले अन्तर्राष्ट्रिय विमानस्थलको भित्रीतर्फ मर्मतको कामका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको तथा आन्तरिक टर्मिनलतर्फ पनि प्रधानमन्त्रीको निर्देशनबमोजिम ‘परम्परागत मौलिकता झल्कने, आधुनिकता टल्कने’ गरी टेन्डर सम्पन्न भइसकेको छ। बाँकी काम छिट्टै सुरु हुँदैछ। करिब चार महिनाभित्र बुटिक एयरपोर्टको सम्पूर्ण काम सकिने महानिर्देशक पोखरेलले बताए।रासस

प्रकाशित: २१ पुस २०७६ ०४:५७ सोमबार

त्रिभुवन_विमानस्थल साजसज्जा