अर्थ

१४ परियोजनामा १२ खर्ब लगानी प्रस्ताव

काठमाडौं – अघिल्लो वर्ष चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा प्रस्तृत गरिएका परियोजनामध्ये १४ वटामा ११ खर्ब ८८ अर्ब रुपैयाँ लगानी गर्न प्रस्ताव तयार पारिएको छ।

सम्मेलनमा ५० परियोजना प्रस्तुत गरिएका थिए। लगानी बोर्डको सचिवालयले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सम्मेलनमा प्रस्तुत परियोजनामध्ये १४ वटाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न गरी योग्य लगानीकर्ताको संक्षिप्त सूची तयार भइसकेको छ।

लगानीकर्ताको संक्षिप्त सूची तयार पारिएका परियोजनामध्ये सात सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।

त्यस्तै सम्मेलनपछि अनुमानित १० खर्ब ५४ अर्ब रुपैयाँ लागत भएको भेइकल म्यानुफ््याक्चरिङ तथा एसेम्ब्लिङ प्लान्ट परियोजनाका लागि कोरियाको मोट्रेक्स कम्पनीसँग लगानी सम्झौतामा पनि हस्ताक्षर भएको बोर्डले जनाएको छ।

अधिकारीले कोरियन कम्पनीले उत्पादन गर्न थालेपछि सवारी साधनको मूल्यमा कमी आउने दाबी गरे। उक्त कम्पनीले कहिलेदेखि सवारी साधनको उत्पादन गर्ने भन्नेबारे भने बोर्डले कुनै जानकारी दिएको छैन।

त्यसैगरी बोर्डले प्रस्ताव आह्वान नगरेका परियोजनामा प्राप्त १५ प्रस्तावमध्ये १० परियोजना कार्यान्वयनको लागि अध्ययनको चरणमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। बोर्डले पूर्वयोग्यता मूल्यांकन सम्पन्न गरी योग्य लगानीकर्ताको संक्षिप्त सूची तयार पारेका परियोजनामा काठमाडौंको बाहिरी चक्रपथ, तल्लो अरुण जलविद्युत् आयोजना, निजगढ विमानस्थल, तमोर जलविद्युत्, पश्चिम सेती, सुनकोशी जलविद्युत् तथा सात वटै प्रदेशमा एक÷एक एकीकृत कृषि पूर्वाधार छन्।

प्रकाशित: १९ पुस २०७६ ०२:३८ शनिबार

परियोजना लगानी