अर्थ

११ दिनमा २६ अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौं - मुलुकमा सञ्चालनमा रहेका ‘क’ वर्गाका वाणिज्य बैंकहरुले ११ दिनमा करिब २६ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेका छन्। २७ वटा बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ को पुष ११ गतेसम्म उक्त निक्षेप संकलन गरेका हुन्।

गत मंसिर महिनामा करिब २९ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले पुषको पहिलो सातासम्म करिब ३० खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार पुषमा संकलन भएको निक्षेपमध्ये करिब एक खर्ब १९ अर्ब रुपैयाँ विदेशी मुद्रा निक्षेप संकलन भएको हो।

त्यसैगरी, वाणिज्य बैंकले पुष पहिलो सातासम्म करिब २६ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो महिनाको मसान्तसम्म यी बैंकले करिब २६ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म यी वाणिज्य बैंकले करिब २८ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। त्यसैगरी, सोही अवधीमा करिब २५ अर्ब सात अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

भदौं महिनाको मसान्तसम्ममा वाणिज्य बैंकले निक्षेप संकलन करिब ११ अर्ब रुपैयाँले बढाएका थिए। सो अवधीमा वाणिज्य बैंकले करिब २८ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्। त्यसैगरी, भदौंमा यी बैंकहरुले २५ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यो कर्जा रकम अघिल्लो महिनाको भन्दा ४४ अर्ब रुपैयाँ बढी हो।

चालु आवको असोज मसान्तसम्मको अवधीमा वाणिज्य बैंकको निक्षेप संकलन करिब एक अर्ब सात अर्ब रुपैयाँले निक्षेप संकलनमा वृद्धि भएको छ। यी बैंकले पहिलो त्रैमासमा करिब २९ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्। त्यसैगरी, सोही अवधीमा वाणिज्य बैंकहरुको कर्जा लगानीमा करिब ७८ अर्ब रुपैयाँले वृद्धि भएको छ। असोज मसान्तसम्म यी बैंकले करिब २६ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लागनी गरेको राष्ट्र बैंकले जनाएको छ।

कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकको निक्षेपमा करिब एक अर्ब रुपैयाँ निक्षेप संकलन थप भएको थियो। दशैं, तिहारमा खर्च धेरै हुने भएकाले निक्षेप संकलन घटेको बैंकहरुले जनाएका छन्। तर, कात्तिकमा वाणिज्य बैंकले कर्जा लगानीमा छलाङ् मारेका छन्। यो महिनामा कर्जा लगानी करिब ११ अर्ब रुपैयाँले बढेको हो। यी बैंकले कात्तिक मसान्तसम्म करिब २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्। दशैं तिहारमा, नयाँ घर, गाडी खरिद गर्ने भएकाले कर्जा लगानी बढेको बैंकहरुले बताएका छन्।

प्रकाशित: १८ पुस २०७६ ०२:०६ शुक्रबार

निक्षेप_संकलन वाणिज्य_बैंक