अर्थ

प्रशोधनकर्तामार्फत नेपाली चियाकाे लोगो कार्यान्वयन

काठमाडौं – सरकारले नेपाली अर्थोडक्स चियालाई एउटै प्रमाणित ट्रेडमार्क दिने उद्देश्य अनुरुप दुई वर्षअगाडि जारी गरेको निर्देशिका पहिलो चरणमा चिया प्रशोधनकर्तामार्फत कार्यान्वयनमा ल्याउन लागेको छ। निर्देशिकमा ‘नेपाल टी क्वालिटी फ्रम हिमालय’ ट्रेडमार्क र त्यसको स्वामित्व राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग रहने व्यवस्था छ।

बोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनालले चिया प्रशोधनकर्ता (फ्याक्ट्री) लाई लक्ष्य गरी आवेदनमाग गरेकोमा आवेदन दिन तोकिएको समयभित्र ४० हाराहारी प्रशोधनक र्ताले आवेदन दिएको बताए। ‘आवेदन दिएका सबैले लोगो प्रयोग गर्न पाउने भन्ने हुँदैन, कागजात र स्थलगत अनुगमनपछि स्वीकृति दिइन्छ,’ उनले भने ‘प्रशोधनकर्ताले निर्देशिकामा व्यवस्था भए अनुसारको मापदण्ड पूरा गर्नुपर्छ।’

यो लोगो प्रयोग गर्नचियाको उत्पादन असल कृषि अभ्यास (ग्याप) को मापदण्ड अनुरुप हुनुपर्ने व्यवस्था छ। यो किसानसँग जोडिएको कुरा हो तर खनालले निर्देशिकामा प्रशोधनकर्ताले ग्यापको मापदण्ड अनुरुप उत्पादन र संकलन भएको चिया हुनुपर्ने भन्ने व्यवस्था भएकोले प्रशोधनकर्ताबाटै प्रभावकारी हुने दाबी गर्छन्। उनले भने, ‘हामी आवश्यक ठानेमा कृषकसम्म पनि पुग्छौं तर मापदण्ड पूरा गर्नप्रशोधनकर्ता पनि जिम्मेवार बन्छन्।’

आधा दशकअगाडि नै हिमालयन अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनले नेपाली चियाको एउटै लोगो बनाउन माग गर्दै यसको प्रक्रियाअघि बढाएको थियो,सुरुमा सोही संस्थामार्फत यसको कार्यान्वयन गर्ने भनेपछि बोर्डको स्वामित्वमा रहने गरी निर्देशिका बनेको हो। एसोसिएसनका उपाध्यक्षसमेत रहेका र लोगो कार्यान्वयनमा ल्याउनुपर्ने अभियान चलाइरहेका व्यवसायी उदय चापागाईं केही समय लोगो कस्तो रहने भन्नेमा विवाद भई सरकारले समेत सीमित राजनीतिक दलको प्रभावमा परेर प्र्रक्रिया अघि बढाउन असहयोग गरेको स्मरण गर्छन्। ‘यसलाई लागू गर्न हामी पटक–पटक मन्त्रालय धायौं, धेरै पछि मात्र सरकारले सहमति दियो,’उनले भने, ‘तर यसलाई कसरी अगाडि बढाउने भन्ने कुरामा त्यसयता छलफल भएको छैन।’

यसलाई अनुगमन ,व्यवस्थापन र नियमनका लागि बोर्डका निर्देशकको संयोजकत्वमा समिति समेत छ। तर अहिलेसम्म एकपटक पनि समितिको बैठक बस्न सकेको छैन। जबकि निर्देशिकामा वर्षमा कम्तीमा चारपटक बैठक बस्नुपर्ने व्यवस्था छ।

लोगो कार्यान्वयनका लागि व्यवसायी र बोर्डले जति चासो दिएको छ, यसको कार्यान्वयन योजनाका सन्दर्भका सरकारको वार्षिक तथा पञ्चवर्षीय योजनामा समेत कतै उल्लेख छैन। ‘लोगो तथा निर्देशिका मन्त्रालयको सहभागितामा बनेर मन्त्रीस्तरीय निर्णयबाट पारित भएको हो, तर यसको कार्यान्वयनका लागि योजना बनेनन्,’ उनले भने, ‘बोर्ड त कार्यान्वयन गर्ने निकाय मात्र हो, हामीले आवश्यक डकुमेन्टेसनका साथ यसको प्रक्रियामा ल्याउन सूचना जारी गरेका छौं।’

खनालले गत वर्ष लोगो कार्यान्वयनका लागि २० लाख बजेट छट्ट्याइएकोमा यस वर्ष १० लाख मात्र छुट्ट्याएको बताए। ‘व्यवसायीदेखि स्थानीय निकायसम्म मानसिक रुपमा तयार भइसके, आवश्यक पर्दा सरकारसँग थप बजेट पनि माग्न सकिन्छ,’ उनले भने, ‘हामीसँग प्राविधिक समिति र कर्मचारीसमेत रहेका कारण कार्यान्वयन त्यति असजिलो छैन।’

उनले बोर्डको पूर्ण तयारी भएको बताए पनि चियाको असल कृषि अभ्याससम्बन्धी मापदण्ड नबनेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागमा चियाको मापदण्ड बनेको भए पनि यसले असल कृषि अभ्यासलाई नसमेट्ने विभागका प्रवक्ता मोहनकृष्ण महर्जन बताउँछन्। उनले भने, ‘यसको लागि मन्त्रालयबाट पहल हुनुपर्ने हो तर भएको छैन। ग्याप कार्यान्वयनको लागि प्राविधिक मापदण्ड त चाहिन्छ नै।’ 

सरकारले यसअघि नै तरकारी र फलफूलमा ग्याप कार्यान्वयन गर्न खोजे पनि सफल हुन सकेको छैन। एक वर्षमा दातृ निकायको सहयोगमा तीन कृषि फर्मले कार्यान्वयन गरे पनि किसानको आफ्नै प्रयासमा मात्र यसको कार्यन्वयन गाह्रो हुने विभागका कर्मचारी बताउँछन्।

व्यवसायी चापागाईं चियामा अन्तर्राष्ट्रिय ब्रान्ड आवश्यक पर्ने हुँदा लोगो अनिवार्य भएको बताउँछन्। उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि धेरै देशले चियालाई आफ्नो देशको ब्रान्ड दिएका छन्। हाम्रो लोगोले राष्ट्रियता र हिमालीहावापानी समेटेको छ।’

लोगो कार्यान्वयन गर्दा व्यवसायीले इमान्दारी देखाउने कुरा चुनौतीको रुपमा रहने देखिन्छ। तर व्यवसायी चापागाईं अर्थोडक्स चिया अगाडिदेखि नै तेस्रो मुलुक निर्यात गर्दा निर्यातकर्ताको आवश्यकताको आधारमा प्रमाणीकरण समेत गरिँदै आएकोले त्यही प्रक्रियाले यसलाई समेट्ने हुनाले गाह्रो नहुने दाबी गर्छन्।उनले तत्काललाई अर्गानिक प्रमाणीकरणको प्रक्रिया पूरा गर्ने उत्पादकले तत्काल यसलाई कार्यान्वयनमा ल्याउँदा त्यो जोखिम कम हुने बताउँछन्।

एकथरी उत्पादकले नेपाली ब्रान्डको लोगो प्रयोग गर्ने तर अरुले प्रयोग गर्न नपाउने स्थिति रहन्न। तत्काललाई बोर्डको तयारी हेर्दा निर्देशिकामा दिएको मापदण्ड अनुरुप प्रशोधनकर्ताबाट प्रतिबद्धता र त्यसलाई कार्यान्ययन गरेको प्रमाणित गर्न कागजी प्रक्रिया मात्र देखिन्छ।

व्यावसायी चापागाईं लोगो प्रयोग गर्ने क्रममाफार्म, फ्याक्ट्री र मार्केटसँग जोडिएका उत्पादनलाई मात्रविश्वास गर्न सकिने अवस्था रहने बताउँछन्। अहिले अर्थोडक्स चियाको उत्पादन ६० लाखकिलो भएको तथ्यांक छ, जसमा तीन लाख किलो मात्र तेस्रो मुलुकमा निर्यात हुन्छ। चापागाईं अर्थोडक्स चियाको थपउत्पादन र निर्यात बढाउन पनि लोगो सहयोगीहुने दाबी गर्छन्।अहिलेसम्म व्यवसायीले आफ्नै फरकफरक ब्रान्डमा चिया निर्यात गर्दै आएका छन्।

प्रकाशित: १६ पुस २०७६ ०५:३७ बुधबार

नेपाली_चिया लोगो