अर्थ

पर्यटकीय क्षेत्रमा २९ अर्ब लगानी बढ्यो

काठमाडौं –  मुलुकका बैंक तथा वित्तीय संस्थाले पर्यटकीय क्षेत्रमा कर्जा लगानी बढाएका छन्। चालु आर्थिक वर्ष ०७६/७७ को कात्तिक मसान्तसम्मको अवधिमा पर्यटकीय क्षेत्रमा करिब एक खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी भएको छ। यो रकम गत आवको सोही अवधिको तुलनामा करिब २९ अर्ब ३५ करोड रुपैयाँ बढी हो।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको चार महिनाको अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले एक अर्ब दुई अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए। यी बैंक तथा वित्तीय संस्थाले होटल, रेस्टुरेन्टलगायत क्षेत्रमा कर्जा लगानी गरेका हुन्।

राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिक मसान्तसम्म ‘क’ वर्गक वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनीले ३४ अर्ब ४४ अर्ब ८३ करोड रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेका छन्।

त्यसैगरी, सोही अवधिमा यी बैंक तथा वित्त कम्पनीले कूल ३० खर्ब ५१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ।

चालु आवको चार महिनामा पर्यटकीय क्षेत्रमा सबैभन्दा बढी वाणिज्य बैंकहरुले कर्जा लगानी गरेका छन्। २८ वटा वाणिज्य बैंकले यो क्षेत्रमा एक खर्ब १६ अर्ब ४६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
सो अवधिमा वाणिज्य बैंकहरुले कुल २६ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरी करिब २९ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेका छन्। राष्ट्र बैंकका अनुसार यी बैंकहरुले गत आवको कात्तिक मसान्तसम्म पर्यटकीय क्षेत्रमा ८८ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए।

त्यसैगरी, चालु आवको कात्तिक मसान्तसम्म विकास बैंकहरुले पर्यटकीय क्षेत्रमा १२ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। सो अवधिमा २५ वटा विकास बैंकले करिब तीन खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ३६ अर्ब ९७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ। यी संस्थाले गत आवको सोही अवधिमा पर्यटकीय क्षेत्रमा ११ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको चार महिनामा २२ वटा वित्त कम्पनीले दुई अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। यी संस्थाले सो अवधिमा ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत आवको सोही अवधिमा यी वित्त कम्पनीले पर्यटकीय क्षेत्रमा दुुई अर्ब एक करोड रुपैयाँ कर्जा लगानी गरेका थिए।

प्रकाशित: १६ पुस २०७६ ०४:५६ बुधबार

पर्यटकीय_क्षेत्र लगानी