अर्थ

भ्रमण वर्षकाे भव्य तयारी : राजधानीसहित सबैै प्रदेश पर्यटक स्वागत गर्न आतुर

कुम्भकर्ण हिमाल। तस्बिर : गिरिराज/नागरिक

प्रदेश ब्युरो

काठमाडौं – २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष–२०२० सुरु हुँदै छ। भ्रमण वर्षलाई ध्यानमा राख्दै प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिएका पर्यटकीय गन्तव्यलाई सिँगार्ने कार्य भएको छ। पर्यटकीय क्षेत्रमा नेपाली कला–संस्कृतिको प्रदर्शनीसमेत हुने नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले जनाएको छ। पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने लक्ष्यसहित राष्ट्रिय अर्थतन्त्रमा १० प्रतिशतको योगदान पु¥याउने दसवर्षे लक्ष्य सरकारले लिएको छ। हाल राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहेको छ। सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याएर पर्यटकको बसाइ लम्ब्याउने, पर्यटकले गर्ने खर्चका क्षेत्रलाई फराकिलो बनाई देशभित्रै रोजगारी सिर्जना गर्ने सरकारको योजना छ।

भ्रमण वर्षको पहिलो दिन बुधबार काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा सहभागी हुन भारत, चीन, जमैका र म्यानमारका पर्यटनमन्त्रीहरू मंगलबार नै काठमाडौं आइसकेका छन्। उद्घाटन कार्यक्रमलाई विशेष बनाउन ४० देशलाई निमन्त्रणा पठाए पनि उद्घाटन विशेषमा चार देशका पर्यटनमन्त्रीसहित सात देशको प्रतिनिधित्व रहनेछ। बौद्धनाथ क्षेत्र विकास समितिले बुधबार सयजना विदेशी पर्यटकलाई बौद्ध स्तूपमा निःशुल्क प्रवेश गराउने भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले पर्यटन वर्षको स्वागत गर्ने दिनमा सय विदेशी पर्यटकलाई बौद्धमा निःशुल्क प्रवेश दिने बताए।

पर्यटनमा प्रदेश १ लाई अगाडि बनाउने योजना
नेपाल भ्रमण वर्ष–२०२० को कार्यक्रम सहिद मैदान विराटनगरमा विभिन्न सांस्कृतिक झाँकीसहित उद्घाटन गर्ने कार्यक्रम छ। प्रदेश १ लाई आगामी १० वर्षमा विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिएर पर्यटकीय गुरुयोजना बनाएर प्रदेश सरकार अघि बढेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले बताए। सरकारद्वारा घोषित सय गन्तव्यमध्ये १६ वटा यही प्रदेशमा पर्छन्।

यो प्रदेशमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक विविधता, कृषि, ग्रामीण जनजीवन र साहसिक पर्यटनको हिसाबमा प्रदेश १ लाई महत्वपूर्ण मानिन्छ। विश्वकै अग्लो सगरमाथादेखि नेपालकै होचो स्थान केचनासम्मको क्षेत्र भएकाले पर्यटन विकासका लागि यो प्रदेश महत्वपूर्ण मानिन्छ। नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन तथा अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकलाई लक्षित गरेर पूर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने फुड फेस्टिभल सुरु भएको छ।

प्रदेश २ मा उत्साहजनक सुरुवात
प्रदेश २ का आठवटै जिल्लामा बुधबार विभिन्न कार्यक्रम गरी पर्यटकलाई स्वागत गरिँदै छ। जनकपुरधामको जानकी मन्दिरमा २०२० वटा दियो बालेर भ्रमण वर्षको स्वागत गर्ने कार्यक्रम छ। मन्दिर परिसरमा दुई हजार बीसवटा बेलुन उडाइँदैछ। जानकी मन्दिरमा दर्शनका लागि आउने पर्यटकमध्ये दुई हजार बीसजनालाई माला लगाएर स्वागत गरिँदैछ।

रौतहटको नुनथर पर्यटकीय स्थलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। विभिन्न सांस्कृतिक झाँकीले यहाँ आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम छ। बाराको सिमरादेखि निजगढसम्म साइकल -याली हुँदैछ। सिमानामा फूलमालाले भारतबाट आउने पर्यटकलाई स्वागत गरिने भएको छ। यही अवसरमा सर्लाहीमा प्रभातफेरी गरिँदैछ। सोनबर्सा नाकामा भारतबाट आउने पर्यटकलाई फूलमाला लगाएर स्वागत गर्ने कार्यक्रम छ। महोत्तरीको जलेश्वर, बर्दिबासमा पनि स्वागत तथा अन्तक्र्रिया कार्यक्रम गरेर भ्रमण वर्ष मनाइँदैछ। सप्तरीको छिन्नमस्ता भगवती (सखडा) मा विशेष पूजापाठ तथा संस्कृतिक कार्यक्रम गरी भ्रमण वर्ष मनाइँदैछ।

सिरहाको तीनवटा मुख्य नाकामा पर्यटकका स्वागतमा विशेष कार्यक्रम गरेर भ्रमण वर्ष मनाउने तयारी रहेको नेपाल भ्रमण वर्ष–२०२० का प्रदेश २ सदस्य राकेश गुप्ताले बताए। ठाढी, बरियारपट्टी र माडर नाकामा पर्यटकलाई फूलमाला लगाएर भिœयाउने कार्यक्रम रहेको गुप्ताले जानकारी दिए। भ्रमण वर्ष–२०२० का प्रदेश २ संयोजक मनीष झाका अनुसार कात्तिक १४ गते जनकपुरमा नेपाल भ्रमण वर्षको शुभारम्भ गरिएको हो।

गण्डकी प्रदेश समृद्धिको आधार पर्यटन बनाइने
गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले कार्यक्रम भव्य र सभ्य बनाउँदै गण्डकी प्रदेशलाई पर्यटनमार्फत समृद्ध बनाउने सपना देखेको बताए। भ्रमण वर्ष शुभारम्भलाई भव्य बनाउन दर्जनभन्दा बढी सांस्कृतिक झाँकीसहित प्रदेशका ११ वटै जिल्लाका उच्च पदाधिकारी, कर्मचारी, ८५ वटै स्थानीय तहबाट समेत पाहुनालाई आमन्त्रण गरेको लम्सालले जानकारी दिए।

पोखरा।

प्रदेश सरकारले भ्रमण वर्षलाई भव्य र सभ्य बनाउन बजेट अभाव हुन नदिने पनि लम्सालले बताए। ‘हामीले पर्यटनबाटै समृद्धिको सपना देखेका छौं,’ लम्सालले भने, ‘बजेट कम भयो भनेर वार्षिक कार्यक्रम तय गर्नबाट हच्किनु जरुरी छैन।’ पर्यटनमन्त्री लम्सालका अनुसार प्रदेशको भ्रमण वर्षको शीर्षकमा एक करोड रुपैयाँ बजेट छ। त्यस्तै पर्यटनका पूर्वाधार बनाउन पनि १७ करोड रुपैयाँ छ। त्यसबाहेक नेपाल भ्रमण वर्षका लागि भनेर प्रादेशिक सचिवालयमार्फत दुई करोड ५० लाख रुपैयाँ माग गरिएको छ। ‘बजेट अभाव छ भन्ने कल्पना गर्नुपर्दैन। हिजोका दिनसम्म एउटा मात्र सरकार हुँदा बजेट अभावको गुनासो आउँथ्यो,’ उनले भने, ‘अहिले प्रदेशमै सरकार छ। त्यसैले बजेटबिना कार्यक्रम रोकिन्न। सरकारको यो अभियान सफल पार्न हामी सबै एकजुट छौं।’

प्रदेश ५ मा ठाकुरद्वारबाट भ्रमण वर्ष शुभारम्भ
बाँके–बर्दियाका राष्ट्रिय निकुञ्जको प्रचारप्रसारलाई जोड दिँदै धेरै पर्यटक भिœयाउने लक्ष्य प्रदेश सरकारले लिएको देखिन्छ। त्यसैले भ्रमण वर्षको नारा नै ‘घुम्न जाऔं बर्दिया’ राखिएको छ। सरकारले बर्दियाको ठाकुरद्वारमा बुधबार बिहान ११ बजे भव्य समारोहबीच भ्रमण वर्षको औपचारिक सुरुवात गर्नेछ। समारोहको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नेछन्। कार्यक्रममा विदेशी विशिष्ट पाहुनासहित तीन हजारभन्दा बढी सहभागी हुने प्रदेशका पर्यटनमन्त्री लीला गिरीले जानकारी दिए। औपचारिक उद्घाटनअघि मुख्यमन्त्री पोखरेलले बुधबार बिहान बाँके राष्ट्रिय निकुञ्ज परिसरबाट जंगल सफारी कार्यक्रमको उद्घाटन गर्नेछन्। नयाँ वर्षको पूर्वसन्ध्यामा मंगलबारै प्रदेशको पर्यटन मन्त्रालयको सहयोग र बाँके होटल एसोसिएसनको आयोजनामा भ्रमण वर्षको स्वागत गर्न भारतीय पर्यटक भित्र्याइएको छ।

भैरहवाको पर्यटकलाई स्वागतद्वार।

बर्दियामा मूल समारोह गरी पर्यटन वर्षको उद्घाटन गरिरहँदा देशकै मुख्य पर्यटकीय गन्तव्य लुुम्बिनीमा पनि बुधबार बिहान पर्यटकलाई विशेष स्वागतसहित कार्यक्रम गरिँदैछ। बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म लुम्बिनी प्रवेश गर्ने पर्यटकहरूलाई बाजागाजासहित स्वागत सत्कार गर्ने नहरमा निःशुल्क बोटिङ र लुम्बिनीको चिनो प्रदान गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए। भ्रमण वर्षकै अवसर पारेर लुम्बिनी र बुटवलमा सडक खाना महोत्सव गरिएको छ।

कर्णालीमा बुलबुलेबाट शुभारम्भ
कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरको बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने भएको छ। प्रदेश सरकारले भ्रमण वर्षमा एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। शुभारम्भ कार्यक्रममा कर्णालीको संस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिनेछ। नेपाल भ्रमण वर्ष शुभारम्भका दिन स्थल र हवाईमार्गबाट कर्णालीमा आउने पहिलो पर्यटकलाई पुष्प गुच्छासहित स्वागत गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए। कर्णालीमा नेपाल भ्रमण वर्षको शुभारम्भ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नेछन्।

सुदूरपश्चिममा भव्य तयारी
नेपाल भ्रमण वर्षको पहिलो दिन सुदूरपश्चिम प्रदेश सरकारले भव्यताका साथ मनाउने तयारी गरेको छ। प्रदेश सरकारका अनुसार भारतीय सीमा नाका धनगढीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा स्वागतद्वार बनाएर भारतीय नाकाबाट आउने पर्यटकलाई स्वागत गर्ने तयारी भएको छ। नेपाल भ्रमण वर्षमा सुदूरपश्चिमलाई नयाँ गन्तव्यका रूपमा पहिल्याउन र पर्यटकलाई भित्र्याउन प्रदेश सरकारले तेस्रो मुलुकका साथै भारतीय पर्यटकलाई भव्य स्वागत गर्ने भएको छ। जनवरी १ मा बिहानै भारतीय नाका गौरीफन्टा नजिकै गएर भारतबाट आउने पर्यटकलाई फूलमालाले स्वागत गर्दै उनीहरूलाई नेपाल भ्रमण गर्न आएकोमा धन्यवाद दिने कार्यक्रम रहेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले जानकारी दिए।

गौरीफन्टा नाकामा धनगढी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र नेपाल पर्यटन व्यवसायी संघ (नाटा) ले स्वागत गर्नेछन् भने कञ्चनपुरका गड्डाचौकीमा त्यहाँको भीमदत्त नगरपालिका, कञ्चनपुर उद्योग वाणिज्य संघले पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका नेपाल भ्रमण वर्ष तयारी समितिका सम्पर्क व्यक्ति भोजराज पाठकले जानकारी दिए। उनका अनुसार सम्बन्धित नाकाहरूमा सम्बन्धित स्थानीय तहले त्यहाँका उद्योग वाणिज्य संघसँग मिलेर पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १६ पुस २०७६ ०१:०६ बुधबार

भव्य_तयारी भ्रमण_वर्ष–२०२०