भैरहवा - सरकारलेगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलनिर्माणलाई ठूलो प्राथमिकता दिएको बताए पनि तेस्रोपटक समय थपेर समेत यसको निर्माण पूरागर्न सकेको छैन। रुपन्देहीको भैरहवास्थित यो विमानस्थल निर्माणको समयावधि आगामी मंगलबार (डिसेम्बर ३१) सकिँदैछ। अहिलेसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत मात्र छ।
गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजनाले काम नसकिनुमा विभिन्न कारण देखाएर चौथोपटक म्याद थपका लागि प्रक्रिया अघि बढाएको छ। यो विमानस्थल निर्माण नर्थ वेस्ट सिभिल एभियसनले गरिरहेको छ। यसको तेस्रोपटकको म्याद २०१९ को डिसेम्बरमा सकिँदैछ। कम्पनीले निर्माणको काम नसकिने देखेपछि अघिल्लो साता म्याद थपका लागि निवेदन दिएको थियो।
आयोजनाले निर्माण कम्पनीको म्याद थपको माग, अहिलेसम्मको प्रगति र बाँकी काम सम्पन्न गर्न लाग्ने समयावधि हेरेर अन्तिमपटकका लागि नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमा गत बिहीबार पत्र पठाएको हो। आयोजनाका एकाइ प्रमुख इन्जिनियर प्रवेश अधिकारीले नागरिक उड्डयनमा म्याद थपको पत्र पठाएको जानकारी दिए।
‘तोकिएको समयभित्र भौतिक संरचनाको काम अन्तिम चरणमा पुगे पनि इलेक्ट्रो–मेकानिकलका सामान समयमा नआएर परीक्षण उडानका लागि तयार नभएको हो।समयमै निर्माण नसकिएपछि म्याद थप्नुको विकल्प रहेन। अहिले प्राविधिक, आर्थिक कुनै समस्या छैन,’ अधिकारीले नागरिकसँग भने,‘तीन महिना म्याद थप्न नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन पठाएका छौं। सञ्चालक समितिको निर्णयले म्याद थप नगर्ने वा के कति गर्ने निर्णय गर्छ। म्याद थपको निर्णय नभएपनि विमानस्थलको काम रोकिन्न, काम निरन्तर भइरहेको छ।’
विमानस्थल पूर्णस्तरमा सञ्चालन गर्न तेकिएको समयमा निर्माणको काम सम्पन्न गर्न नसकिएपछि चौथोपटक म्याद थप्न लागिएको हो।‘आइसिबी–१को डिसेम्बर ३१ र आइसिबी–२को जनवरी ७मा म्याद सकिँदै छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘पहिलोपटक २०१८ कोजुन १८,दोस्रोपटक २०१९ को जुन २८ र तेस्रोपटक २०१९ को डिसेम्बर ३०सम्म सक्ने लक्ष्य तयभए पनि त्यस अवधिमा काम सम्पन्न हुन नसकेपछि म्याद थपका लागि अहिले चौथोपटक आइसिपी १ र आइसिपी २ सम्मको काम सम्पन्न गर्ने गरी तीन महिनाको म्याद थपका लागि माथि निवदेन पठाएका हौं।’
सुरुआती समयमा कछुवा गतिमा भइरहेको विमानस्थलको निर्माण कामले पछिल्लो दुई वर्षमा २५ प्रतिशतबाट ८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ। पहिलो चरण अर्थात आइसिबी–१को अधिकांश काम भइसकेको छ। भारत र चीनबाट आउनुपर्ने चारवटा बिल्डिङ लिफ्ट, ब्यागेज लिफ्ट रनवेका उपकरण मात्र बाँकी छ।विद्युतीय उपकरण सिसिआरका ४० वटा उपकरण आउनुपर्नेमा ३४ वटा आइसकेको छ। बाँकी सबै उपकरण एक हप्तामा आई यही महिनाभित्र जडान हुन्छ।फिनिसिङपछिका सामान पनि एक महिनाभित्र सबै सकिन्छ। आइसिबी–२को भिएमआर÷डिएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरणसहित अन्य उपकरणका लागि फाउन्डेसनको काम पनि भइरहेको छ। आइसिबी–२ कामथाइल्यान्डको एरोथाई कम्पनीले गरेकोे छ।
‘दोस्रो चरण आइसिबी–२ अन्तर्गतका सिएनएस (कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्स) को काममध्ये अहिलेकम्युनिकेसनसम्बन्धी उपकरण युकेको लन्डन र अस्ट्रियाको भियनाबाट, नेभिगेसन तथा मेट्रोलोजीसम्बन्धी उपकरण अमेरिकाबाट समुद्री बाटो भएर भारतको कोलकाता आइसकेको छ, भन्सार लगायत प्रक्रिया पूरा जनवरी १५ भित्र भैरहवा आइपुग्छ। उपकरण आएको दुईदेखि तीन महिनाभित्र जडान गर्छौं,’राष्ट्रिय गौरव आयोजनाका उप–निर्देशक तथा आइसिबी–२ का प्रोजेक्ट म्यानेजर प्रवीण न्यौपानेले भने।
आइसिबी–२ का लागि आइसिबी–१को काम सम्पन्न हुनुपर्छ। ‘हामीले परीक्षण गर्दा आइसिबी १ र २ कोसँगै गर्ने हो तर अहिले आइसिबी–१को काम नै भएको छैन। अप्रिलमा परीक्षण उडानका लागि सक्दो प्रयास गरिरहेका छौं,’म्यानेजर न्यौपानेले भने।
करिब ५० करोडको लागतमा नौ महिनामा काम सक्ने गरी आइसिबी–२को कामको समयावधि भए पनि तीन महिनाभित्र काम सकिन्छ आइसिबी–२न्यौपानेले भने। ‘हामीले मार्चभित्र जडान गर्ने लक्ष्य राखेका छौं, तत्पश्चात फ्लाइट जाँचका लागि विशेष जहाज थाइल्यान्डबाट ल्याएर परीक्षण उडान गरी सचालनयोग्यका लागि क्यालिब्रेसन फ्लाइट ओके गर्छौं, सन् २०२० को मार्चभित्र विमानस्थलको परीक्षण उडान हुन्छ,’ आयोजना प्रमुख अधिकारीले भने।
उपकरण आउनासाथ प्रगति ८० प्रतिशत हुने र दुई महिनामा उक्त उपकरण जडान भई शतप्रतिशत काम हुनेअधिकारीले बताए।‘अब भैरहवा विमानस्थल सञ्चालनमा आइसक्यो, जसरी पनि सन्२०२० मार्चअन्तिमसम्मसञ्चालनयोग्य हुने गरी संरचना तयार हुन्छ। अहिलेको अवस्थामा सम्भव छ। सञ्चालनको पाटोमा भने प्राधिकरण र प्रधानकार्यालयले काम गर्ने कुरा हो।प्राविधिक समस्या छैन, निर्माण कम्पनीले पनि तीव्र गतिमै काम गरिरहेको छ। उपकरण जोड्ने १० प्रतिशत र फिनिसिङको पाँच प्रतिशत काममात्र बाँकी छ,’ आयोजना प्रमुख अधिकारीले भने।
पछिल्लो एक महिनामा छानाको काम सम्पन्न भएको छ। कार पार्किङको ५० प्रतिशत कालोपत्रेको काम बाँकी छ। एक महिना भित्र सबै फिनिसिङ हुने अधिकारीहरुको दाबी छ। आधा भन्दा बढी फिनिसिङ भइसकेको छ। एप्रोन मार्किङको काम सम्पन्न भएको छ। त्यस्तै, विमानस्थलका भित्री फेन्सिङ (तारजालीको काम)को १० किलोमिटर र बाहिरी फेन्सिङको १८ देखि २० किलोमिटरको काम भइरहेको आयोजनाले जानकारी दिएको छ।
फिनिसिङसँगै विमानस्थलमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, सुरक्षा निकायको आवश्यक संरचनाका लागि समन्वय र सहकार्य गरी ठाउँ तोकिइसकेको छ। तीनवटा ड्युटी फ्री स्टोरको ठाउँ बनिसकेको छ। सम्बन्धित निकायलाई आवश्यक पूर्वाधार र फर्निचरको व्यवस्थापन आयोजनाले गर्ने भएकोले सो कामको लागि सम्बन्धित निकाय विमानस्थलमा आइसकेको र काम अघि बढेको छ। अहिलेउपकरण जडान, फिनिसिङमा रंङरोगन, वायरिङ, सिसी क्यामरा,एसी जडान, कारपर्किङ सहितको छिटफुट सिभिलको काम भइरहेको छ। त्यस्तै, युपिएस, सञ्चार उपकरण, एक्स–रे मेसिन, फायरसम्बन्धी उपकरण जडानको काम पनि भइरहेको आयोजनाले जनाएको छ।
सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो। ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा सम्झौता भई ३१ डिसेम्बर २०१४ काम सुरु भएको आयोजनामा एडिबीको ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान,ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ।
चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभिएसनले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको आइसिपी १ को सबै काम सक्नुपर्ने थियो। तर विविध कारणले काम हुन नसकेपछि उसले २०१९ को डिसेम्बरसम्म म्याद पाएकोे छ। यस्तै, आइसिबी–२ अन्तर्गत विमानस्थलमा जडान हुने उपकरणका लागि पनि करिब ५० करोड लगानी छ।
प्रकाशित: १३ पुस २०७६ ०५:५९ आइतबार