अर्थ

बैंकिङ क्षेत्रमा हडताल नगर : अदालत

काठमाडौं – उच्च अदालत पाटनले बैंकिङ क्षेत्रमा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले लघुवित्त संस्थामा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। नाडेप लघुवित्त वित्तीय संस्थाका कर्मचारीले हडताल गरेपछि काममा वाधा पुगेको, सर्वसाधारणलाई सेवा दिन नसकिएको भन्दै संस्थाका तर्फबाट उच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। नाडेप लघुवित्तका कर्मचारीले हडताल गरी काममा बाधा पुगेको भन्दै रिट निवेदन दर्ता भएको हो।

अदालतले सर्वसाधारण नागरिकको सुविधासँग सम्बन्धित बैंकिङ सेवामा हडताल नगर्न मुद्दाको टुंगो नलागेसम्मका लागि अन्तरिम आदेश गरेको हो। अदालतले दुवै पक्षलाई छलफलका लागि पुस १६ मा छलफलका बोलाएको छ। दुवै पक्षको छलफलपछि अन्तरिम आदेशका विषय टुंगो लाग्नेछ।

‘संस्थाको कार्यालयमा कुनै पनि हडतालजन्य कार्य नगर्न नगराउन तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै किसिमको वाधा अवरोध नगर्नु नगराउनु भनी यो अन्तरिम आदेश जारी गरिएको छ’ अदालतद्वारा जारी आदेशमा भनिएको छ।

लघुवित्तले कर्मचारीको आन्दोलनका कारण कम्पनीको कारोबार बन्द भएको हुँदा मर्का परेको भन्दै रिट दर्ता गरेको थियो। यस विषयले प्रतिनिधिसभा बैठकमा समेत छलफल भएको थियो। प्रतिनिधिसभा वैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले सरकारको ध्यानाकर्षणसमेत गराएका थिए। चार अर्ब ऋण लगानी र एक अर्बभन्दा बढी बचत भएको नाडेप लघुवित्त संस्था बन्द भएको अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ११ पुस २०७६ ०२:०० शुक्रबार

बैंकिङ_क्षेत्र