अर्थ

गुफाडाँडाबाट भ्रमण वर्ष–२०२० लाई स्वागत

सिन्धुपाल्चोक - प्रथम जलवायु सम्मेलन गरिएको गुफाडाँडामा जलवायु दिवस मनाउँदै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० लाई स्वागत गरिने भएको छ। भ्रमण वर्षलाई भव्य बनाउन फेरि ७७ वटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख गुफाडाँडामा भेला हुँदैछन्।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोककाले जलवायु दिवसका अवसरमा साढे दुई हजार मिटरको उचाइमा आउँदो पुस १८ गते कार्यक्रम गरेर भ्रमण वर्षलाई स्वागत गर्न लागेको हो। गुफाडाँडा त्यही स्थान हो, जहाँ गत वर्ष पुसमा ७७ जिल्लाका समन्वय समितिका प्रमुख र उपप्रमुख भेला गराएर जलवायु सम्मेलन गरिएको थियो।

‘सम्मेलन भएको स्थानमा जलवायु दिवस मनाउँदै भ्रमण वर्ष–२०२० को भव्य स्वागत गर्न लागेको हौं,’ आयोजक जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले भने। उनले कार्यक्रमको तयारी पूरा हुन लागेको जानकारी दिँदै मुलुकभरका समन्वय प्रमुख र उपप्रमुखलाई निम्तो पठाइसकिएको बताए। उनका अनुसार संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई कार्यक्रमको प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको छ।

कार्यक्रममा जलवायु परिवर्तन, यसले निम्त्याएका असर तथा भ्रमण वर्षलाई सफल बनाउनेबारे बृहत छलफल गर्दै विभिन्न गतिविधि सञ्चालन गरिने प्रमुख तामाङले बताए। कार्यक्रममा सहभागीलाई जिल्लाको पर्यटनबारे सूचना दिने किरिङ र क्याप वितरण गरिने छ। गैरसरकारी संस्था जिल्ला महासंघ र होटल व्यवसायी संघले एक–एक हजार थान किरिङ र क्यापको व्यवस्था गर्ने छन्।

पाँचपोखरी थाङपाल गाउँपालिकाले सांस्कृतिक प्रस्तुती देखाउँदै भ्रमण वर्षको स्वागत गर्ने कार्यक्रममा स्थानीय उत्पादन, परिकार र लघु उद्यमीका सामग्रीको बिक्री तथा प्रदर्शनी स्टल राखिने आयोजकले जनाएको छ। जिल्लाका १२ वटै स्थानीय तहका भ्रमण वर्षको विशेषता र पर्यटन सम्बन्धी सूचना झल्कने ब्यानर प्रदर्शन गरिने कार्यक्रममा सन् २०२० भरि सञ्चालन गरिने गतिविधि समेटिएको क्यालेन्डरसमेत सार्वजनिक गरिने समन्वय समितिले जनाएको छ।

सोही दिन गुफाडाँडामै जिल्ला समन्वय समिति महासंघको बैठक बस्ने कार्यक्रम छ। ‘बैठकले जलवायु परिवर्तन न्यूनीकरण र भ्रमण वर्ष सफल बनाउनेबारे विभिन्न निर्णय लिने छ,’ प्रमुख तामाङले भने। उनका अनुसार यसअघि जिल्लाका १२ वटै स्थानीय तहले जलवायु परिवर्तन र यसका असरबारे वादविवाद प्रतियोगिता सञ्चालन गर्ने छन्। वादविवादका उत्कृष्टले कार्यक्रममा प्रतिस्पर्धा गर्ने छन्। वादविवादका विजेता र हालै सम्पन्न साग खेलकुदमा पदक विजेता जिल्लाका खेलाडीलाई सम्मानसमेत गरिने छ। कार्यक्रम स्थलमा ७७ वटा राष्ट्रिय झण्डा फहराइने छ।

जुगल र लाङटाङ हिमशृंखलाका विभिन्न हिमाल देखिने मेलम्ची नगरपालिकामा पर्ने गुफाडाँडाको फराकिलो चौरमा खुला कार्यक्रम गरेर जलवायु दिवस मनाउँदै जिल्लामा औपचारिक रुपले भ्रमण वर्षको सुरुवात गरिने आयोजक जिसस प्रमुख तामाङले जानकारी दिए। उनका अनुसार जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, ७७ जिल्लाका समन्वय समिति प्रमुख र उपप्रमुख, प्रदेश ३ का विभिन्न सांसद र मन्त्री भ्रमण वर्षलाई स्वागत गर्न गुफाडाँडा आउँने छन्।

प्रकाशित: १० पुस २०७६ ०३:५१ बिहीबार

भ्रमण_वर्ष–२०२० गुफाडाँडा