अर्थ

जिल्लामा कार्ययोजना तयार

रसुवा – नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा जिल्लामा कार्ययोजना निर्माण गरिएको छ। पर्यटकको आगमन बढाउनका लागि विभिन्न प्याकेज सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, पहिलो दिन विभिन्न जोडीलाई निःशुल्क खाना तथा बासको व्यवस्था गर्ने लगायत योजना तयार पारिएको हो।

नेपाल भ्रमण वर्ष २०२० जिल्लास्तरीय समितिको सचिवालयका अनुसार भ्रमण वर्ष शुभारम्भका लागि सातबुँदे निर्णय गरिएको छ। पहिलो दिन जिल्लाको बेत्रावती, कालिकास्थान, बाहुनडाँडा, धुन्चे, स्याफ्रुबेसी र रसुवागढीमा पर्यटकलाई स्वागत गरिने छ।

सोही दिन होटल व्यवसायीले पहिलो वा दोस्रो जोडीलाई एक रात निःशुल्क खाना तथा बासको व्यवस्था गर्ने छन्। समितिले दिएको जानकारी अनुसार रसुवागढी नाकाबाट प्रस्थान गर्ने सबै पर्यटकलाई २० प्रतिशत सहुलियत दिन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

जनवरी १ मा मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, फुड स्ट्रिट फेस्टिबल, साँझ दिपावली गर्ने, तामाङ संग्रहालयको अवलोकन, डिजिटल डिस्प्लेद्वारा रसुवाको जानकारी दिने र सूचना केन्द्र स्थापना गरी पम्प्लेट,पोस्टर तथा स्टिकर वितरण गरिने छ।

जिल्लामा वार्षिक ५० हजारसम्म पर्यटकको आवतजावत हुने गर्छ। तीमध्ये करिब १८ हजार पर्यटक जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र घुम्न जाने गरेका छन्। बाँकी पर्यटकले यहाँको सडक मात्र प्रयोग गर्ने गरेका छन्। रसुवागढी नाकाबाट भित्रिने तथा बाहिरिने पर्यटक रसुवामा बस्ने गरेका छैनन्।

रसुवागढी नाकाबाट भित्रिने तथा बाहिरने चिनियाँ तथा तेस्रो मुलुकका पर्यटकलाई एक दिन बस्ने वातावरण सिर्जना गर्नुपर्ने होटल व्यवसायी निसान गजुरेलले बताए। जिल्लामा आएका आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्।

साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्। असोज १५ गतेदेखि काञ्कि मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर, तीन महिना पर्यटकका लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।

विदेशी पर्यटक नभए रसुवा मात्र नभइ अन्य पर्यटकीय जिल्लाको पर्यटन तथा होटल व्यवसाय धरासायी हुने अवस्था आएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका महासचिव निशान गजुरेलले बताए। ‘मुख्य सिजनमा विदेशी पर्यटक आवागमन घटेको छ,’ उनले भने, ‘आएका पर्यटकले पनि खानेकुरा बाहिरबाट किनेर ल्याउँछन्।’ होटलमा खानेले पनि चिया र पाउरोटी मात्रै खाने गरेका उनको भनाइ छ।

मुख्य सिजनमा आएका विदेशी पर्यटकले गर्ने खर्चले घर भाडा तिर्न सकस हुने व्यवसायी बताउँछन्।  इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, वेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिंगापुर लगायत मुलुकका पर्यटक आउने गरेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङ लगायत एक दर्जन हिमशृंखला, गोसाइँकुण्ड लगायत विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायत जनावर पनि देख्न सकिन्छ।

प्रकाशित: ९ पुस २०७६ ०४:३० बुधबार

भ्रमण_वर्ष_२०२० पर्यटक