अर्थ

विराटनगर नाकाबाट आयात–निर्यात ठप्प

सीमावर्ती जोगवनी नजिकैको मिरगन्ज पुल मर्मत गर्दै कामदार। पुल मर्मतका कारण विराटनगर नाकाको आयात–निर्यात ठप्प भएको छ। तस्बिर:विनोद/नागरिक

विराटनगर - भारतको जोगवनीस्थित मिरगन्जपुल भत्किएका कारण विराटनगर नाकाबाट आयात–निर्यात ठप्प भएको छ। जीर्ण अवस्थाको मिरगन्जपुल भत्किएपछि मर्मत गर्न पुलबाट आवतजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ। पुल मर्मत गर्न समय लाग्ने देखिएकाले उद्योगी व्यवसायीले रोकिएका ट्रक र कन्टेनर रिरुट गर्न माग गरेका छन्।

मर्मत गर्न मिरगन्ज पुल बन्द गरिएपछि विराटनगर नाकाबाट हुने आयात निर्यात सोमबार देखि पूर्ण रुपमा ठप्प भएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनिराम पौडेलले जानकारी दिए। पौडेलका अनुसार मर्मतका लागि पुल बन्द हुनुअगाडि आएर एकीकृत जा“च चौकीमा राखिएका ट्रक तथा कन्टेनर आइतबारसम्म भन्सार क्लियरेन्सका लागि आएपनि सोमबारदेखि आउने क्रम ठप्प भएको छ। ‘सोमबारदेखि विराटनगर भन्सारमा क्लियरेन्सका लागि आउने ट्रक तथा कन्टेनर ठप्प भएको छ,’ पौडेलले भने।

पौडेलका अनुसार यो नाकाबाट दैनिक रुपमा आउने मालबाहक ट्रक तथा कन्टेनर पुलपारि नै रोकिएका छन्। चार दिनदेखि पुल मर्मतका लागि बन्द गरिएकाले करिब हजार ट्रक तथा कन्टेनर उता रोकिएका हुन्। विराटनगर नाकाबाट दैनिक दुई सय ५० देखि तीन सयहाराहारी ट्रक तथा कन्टेनरभारतबाट आउने गर्छन्। यस्तै संख्यामा खालि र नेपालबाट निर्यात गरिएका वस्तु बोकेका ट्रक भारतजान्छन्। नेपालबाट गएका खालि ट्रकहरू पनि मिरगन्ज पुलवारिको सडक किनारामा रोकिएका छन्।

ट्रक र कन्टेनरलाई रिरुट सुविधा दिन उद्योगी व्यवसायीको माग

पुल मर्मतका लागि साना सवारी मात्रै एकतर्फी रुपमा आवतजावत गर्न दिइएका कारण मालबाहक सवारी र खाली ट्रक तथा कन्टेनर सडकमै अलपत्र परेका हुन्।जोगवनी नाकाबाट हुने आयात–निर्यात ठप्प भएपछि विराटनगर भन्सारको राजस्वसमेत प्रभावित भएको प्रवक्ता पौडेलले बताए। उनका अनुसार विराटनगर नाकाबाट दैनिक १५ करोड हाराहारीमा राजस्व संकलन हुने गरेको थियो।

चार स्थानमा मर्मतको काम भइरहेको मर्मतका लागि खटिएका इन्जिनियरले बताए। पुलमर्मतका लागि खटिएका साइटइन्जिनियर हिरालाल शर्माले सोमबारसम्म पुलको एकातर्फको मर्मत सकिने भए पनि अझै सात दिन कुनै पनि यातायातका साधन आवत–जावत गर्न नमिल्ने बताए। ‘मर्मत गरिएको भाग सेट हुन कम्तीमा सात दिन लाग्ने भएकाले पुलबाट कुनै पनि सवारी आवतजावत गर्न मिल्दैन,’ शर्माले भने।

पुल मर्मत दुई चरणमा भइरहेको शर्माले जानकारी दिए। हाल पुलको एक लेनको मर्मत भइरहेको छ। एकातर्फको मर्मत सम्पन्न भएपछि अर्को लेनको काम सुरू हुने उनले जानकारी दिए। पुलको मर्मत गरिएको भाग सेट भएपछि अर्को लेनको मर्मतसुरू हुने शर्माले बताए। अर्को लेनको मर्मत सुरू भएपछि पनि करिब १० दिन पुल अवरुद्ध हुने उनको भनाइ छ। शर्माले भने, ‘पहिलो चरण र दोस्रो चरणको मर्मतका लागि कम्तीमा १५ देखि २० दिन पुल अवरुद्ध हुनेछ।’

चार दिनमा मर्मत सम्पन्न हुने भनिएको पुल मर्मतका लागि अझै २० दिन लाग्ने भएपछि विराटनगरमा उद्योगी, व्यवसायीले जोगवनी नाकाबाट आउने मालबाहक ट्रक तथा लरीहरू सुनसरीको भीमनगर नाकाबाट रिरुट गर्न माग गरेका छन्। सोमबार पुल मर्मतको अवस्थाबारे जानकारी लिन मिरगन्ज पुल पुगेका मोरङ व्यापार संघको टोलीले पुल मर्मतका लागि लामो समय लाग्ने देखिएकाले आयात—निर्यात सहज बनाउन सुनसरीको भीमनगर नाकाबाट रिरुट गर्न माग गरेको हो।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले पुल मर्मत गर्न लामो समय लाग्ने भएकाले पुल मर्मत सम्पन्न नहुन्जेलका लागि सुनसरीको भीमनगर नाकाबाट रिरुटको व्यवस्था गर्न सरकारस“ग माग गरिएको बताए। मोरङ व्यापार संघको टोलीले विराटनगर भन्सार कार्यालयमा प्रमुख शिव भण्डारीलाई भेटेर विराटनगर नाकाबाट हुने आयात–निर्यात सुचारु गर्न भीमनगर नाकामा रिरुट गर्न माग गरेको हो। जवाफमा विराटनगर भन्सार प्रमुख शिव भण्डारीले रिरुट गर्न विराटनगर भन्सार कार्यालय तत्पर रहेपनि स्थानिय स्तरबाट सम्भव नभएको बताए। ‘रिरुटको निर्णय गर्न स्थानीय स्तरबाट सम्भव छैन,’ भण्डारीले भने, ‘केन्द्रबाट रिरुटको निर्णय भएर आएको  खण्डमा विराटनगर भन्सार कार्यालय सुनसरीको भीमनगर नाकाबाटआयात–निर्यात सुचारु गर्न तत्पर छ।’

जोगवनी नाकाबाट आउने ट्रक तथा कन्टेनर सुनसरीको भीमनगर नाकाबाट रिरुटका लागि भन्सार विभाग, विराटनगर भन्सार कार्यालय, जोगवनी कस्टमलगायत निकायमा पहल थालिएको मोरङ व्यापार संघले जनाएको छ। औद्योगिक कच्चापदार्थ बोकेका ट्रक तथा कन्टेनर भारतमै रोकिँदा पूर्वका उद्योगहरू प्रभावित हुने र आयातकर्ताले डिटेन्सन र डेमरेज शुल्कको भार बोक्न बाध्य हुनुपर्ने व्यवसायीले बताएका छन्।

दुई वर्ष पहिलेको बाढीले मिरगन्जको पुल भासिएको थियो। पुल भासिएपछि करिब १० महिना जोगवनी नाकाबाट आउने–जाने ट्रक तथा लरीहरू सुनसरीको भीमनगर नाकाबाट रि–रुट गरिएको थियो। बाढीले भासिएको पुलमा पटक–पटक समस्या आइरहे पनि नया“ पुल निर्माणमा भारतीय पक्षले बेवास्ता गर्दै आएको छ। नेपाल सरकारले पनि आवश्यक पहल नगरेकोउद्योगी व्यवसायीको गुनासो छ। जीर्ण मिरगन्ज पुलको उत्तरतर्फ नया“ पुल निर्माण सुरू गरिए पनि भारत सरकारले प्राथमिकता नदिएका कारण निर्माण सुस्त छ। पुलको पिलर बनाउने काम सुरु गरेर अलपत्र छाडिएको छ।

प्रकाशित: ८ पुस २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App