अर्थ

तरकारीको बीउ उत्पादन प्रणालीबारे सार्क बैठक सुरु

‘सार्क राष्ट्रमा उच्च मूल्य जाने तरकारीको बीउ उत्पादन प्रणाली’ विषयक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय परामर्श बैठकमा सहभागी। तस्बिर : सन्देश/नागरिक

पोखरा – ‘सार्क राष्ट्रमा उच्च मूल्य जाने तरकारीको बीउ उत्पादन प्रणाली’ विषयक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय परामर्श बैठक आइतबारदेखि पोखरामा सुरु भएको छ।

मंगलबार सम्पन्न हुने तीनदिने सम्मेलनमा सार्क राष्ट्रका नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र अफगानिस्तान गरी ६ राष्ट्रका बीउबिजन सम्बन्धी विज्ञ तथा नीति निर्माताहरु सहभागी छन्। बैठकमा पाकिस्तान भने सहभागी छैन। सार्क एग्रिकल्चर सेन्टर, ढाका बंगलादेश र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा भएको बैठकको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उद्घाटन गरे।

बैठकमा सार्क राष्ट्रमा उच्च मूल्य जाने तरकारी बालीको बीउबिजन उत्पादनमा सार्क राष्ट्रभरी एकरुपता ल्याउने गरी तरकारी बाली अनुसन्धान, विकास र प्रसारमा सार्क राष्ट्रबीच आपसी समन्वय, सहकार्य र सहयोग आदानप्रदानबारे छलफल गरी निश्कर्ष निकालिने कृषि महाशाखा प्रमुख गृष्म न्यौपानेले जानकारी दिए। सहभागी राष्ट्रहरुको बीउ उत्पादनसम्बन्धी राष्ट्रिय स्थिति प्रस्तुत हुने उनले बताए।

बैठकमा नेपालका तर्फबाट तरकारी बाली अनुसन्धान, विकास र प्रसार गर्ने निकाय, गैरसरकारी तथा नीजि क्षेत्रका व्यवसायीहरुबाट गण्डकी प्रदेशमा तरकारी बीउ उत्पादन तथा वितरणको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिने गण्डकी प्र्र्रदेशका कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख माधव लम्सालले जानकारी दिए।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बीउको जातीय विकास तथा प्रजनन्, बीज वृद्धि, प्रशोधन तथा तयारी, बजारीकरण र अनुगमन तथा नियमनका लागि पारस्परिक सहयोग आवश्यक रहेको बताए। सम्मेलनलाई सम्बोधन गर्दै उनले गण्डकी प्रदेशले गुणस्तरीय बीउमा आत्मनिर्भर हुने लक्ष्य लिएको बताए। बीउबिजनको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका माध्यमबाट आम्दानी बढाउने र रोजगारीका अवसर सिर्जना गरी गरिब, महिला तथा सीमान्तकृत वर्गमा खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने नीति सरकारले लिएको उनको भनाइ छ। साथै उनले गुणस्तरीय बीउबिजन उत्पादनका माध्यमबाट जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणतर्फ पनि प्रदेशलाई डो-याउने बताए।

मन्त्री थापाले सीमित भण्डारण तथा प्रशोधन केन्द्र, माग र आपूर्तिबीच तालमेल नहुँदा सोचेअनुरुप तरकारी बीउ प्रणाली सशक्त हुन नसकेको बताए। उनले नेपालमा तरकारीको बीउ उत्पादनदेखि बिक्री स्थलसम्म आइपुग्दा १० देखि २० प्रतिशतसम्म क्षति हुने गरेको उनले उल्लेख गरे।

मन्त्रालयका सचिव अच्युतराज ढकालले नेपालमा सबै प्रकारको हावापानी पाइने भन्दै त्यस अनुरुपको गुणस्तरीय तरकारी उत्पादन गर्न सहज रहेको बताए।

कार्यक्रममा सार्क एग्रिकल्चर सेन्टर बंगलादेशका निर्देशक डा एम एस बोख्तियारले यस क्षेत्रमा कृषि उत्पादनले सबैजसो देशको कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान दिएको धारणा राखे।

प्रकाशित: ७ पुस २०७६ ०५:५१ सोमबार

सार्क_बैठक