अर्थ

पर्यटन प्रवद्र्धन गर्न बहानेपोखरी महोत्सव

ऐसेलुखर्क गाउँपालिकास्थित पर्यटकीयस्थल बाहानेपोखरी। तस्बिर: दमन/नागरिक

खोटाङ– पर्यटन प्रवद्र्धनका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाले बहानेपोखरी महोत्सवको तयारी गरेको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीय बहानेपोखरीको प्रचार–प्रसार गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सवको तयारी गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

अग्लो डाँडामा रहेको तथा बाह्रैमास पानी भरिने र कहिल्यै नसुक्ने दुई सय मिटर क्षेत्रफलमा फैलिएको बहानेपोखरीमा आगामी फागुन १३ गतेदेखि १५ गतेसम्म महोत्सव गर्न लागिएको गाउँपालिकाले जनाएको छ । महोत्सवका लागि गृहबहादुर राईको संयोजकत्वामा २१ सदस्यीय महोत्सव आयोजक समिति गठन गरिएको छ । महोत्सवलाई वृहत बनाउन छिमेकी गाउँपालिकाका वडाबाट पनि थप सदस्य थपिने गाउँपालिकाले जनाएको छ ।

तीनदिने महोत्सवमा अर्गानिक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातीको साँस्कृतिक झाँकी, साँस्कृतिक कार्यक्रम, खेलकुद लगायतका कार्यक्रम हुने छ । पर्यटकीय सम्भावना रहे पनि ओझेलमा रहेको बहानेपोखरीबाट जिल्लाका अधिकांश स्थान, छिमेकी जिल्लादेखि हिमशृंखला अवलोकन गर्न सकिन्छ । पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, स्तुपा र सोभन्दा केही माथि विविध आकृतिका संरचनाहरु रहेको बहानेपोखरीमा जनै पूर्णिमा, मंसिर पूर्णिमाकाबेला धामी झाँक्री सहितका दर्शनार्थीहरुको बाक्लो उपस्थिती रहने गरेको अध्यक्ष निरौलाले बताए ।

फागुनमै दश दिने दिक्तेल महोत्सव
खोटाङको प्रमुख व्यापारिक केन्द्रकारुपमा रहेको दिक्तेलमा प्रथम दिक्तेल महोत्सवको तयारी गरिएको छ । ‘आर्थिक समृद्धिका आधार व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित उद्योग वाणिज्य संघ खोटाङले आगामी फागुन २ गतेदेखि १२ गतेसम्म महोत्सव गर्न लागेको हो ।

करिब एक अर्वको कारोबार हुने प्रक्षेपण गरिएको महोत्सवबारे वाणिज्य संघले सार्वजनिकीकरण कार्यक्रम गरेर जानकारी दिएको छ । जिल्लाको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडीबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यसाथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सवको तयारी गरिएको संघका अध्यक्ष उपिन राईले बताए ।

महोत्सवमार्फत आन्तरिक बजार सवलीकरण गर्ने र निकासीयोग्य स्थानीय उत्पादनको बजारीकरण गर्न प्रचार–प्रसार गर्दै उच्चतम दिगो आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने संघले जनाएको छ । स्थानीय तहको कार्यान्वयनसँगै साविकको दिक्तेलबजारको घट्दो व्यापार व्यवसायलाई पुनः जागृत गराउन संघले महोत्सवको तयारी थालेको हो ।


 

 

 

प्रकाशित: ६ पुस २०७६ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App