अर्थ

ठेक्का लिएको ६ वर्षपछि काम सुरु

ओखलढुंगा- ओखलढुंगा सदरमुकामदेखि पश्चिमी भू–भाग हुँदै रामेछापको साँघुटार जोड्ने मुख्य सडक अन्तर्गतको मोलुङ खोला पुलको काम सुरु भएको छ । यो पुलको ठेक्का लागेको ६ वर्षपछि ठेकेदारले काम थालेको हो ।

६ वर्ष पहिले लिएको ठेक्का विभिन्न बहानामा एउटा पिलर उठाएर अलपत्र छाडिएको थियो । चौतर्फी दबाबपछि पर्शुराम नगरपालिका डडेलधुराका मेयर भीमबहादुर साउद सञ्चालक रहेको राजेन्द्र–लोकप्रिय जेभी कम्पनीले अहिले म्यानेजर नियुक्ति गरी पुलनिर्माण थालेको छ । कम्पनीले दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी २०७० मा ठेक्का पाएको थियो ।

अहिले काम सुरु भइसकेको निर्माण कम्पनीका म्यानेजर विदुर कँडेलले बताए । उनले पुलको डिजाइन परिवर्तन, संघीयताले बजेट कार्यान्वयन गर्ने निकाय नतोकिनु र कन्ट्र्याक्टरले काम नगर्दा ढिलाइ भएको जानकारी दिए । आगामी असारभित्रै पुलको सम्पूर्ण निर्माण सक्ने कडेँलले दाबी गरेका छन् ।

ओखलढुंगालाई पूर्वपश्चिम जोड्ने सडकको बीचमा रहेको उक्त मोलुङ खोलाको मान्द्रे दोभान पक्की पुल सम्झौताअनुसार २०७१ सालमा सम्पन्न हुनुपर्ने थियो । २०७६ असोजमा ठेकेदार कम्पनीका प्रतिनिधि बोलाएर संघिय सांसद यज्ञराज सुनुवार प्रदेश सांसद मोहन खड्का र प्रमुख जिल्ला अधिकारीले गणेश आचार्य लगायतले कार्यजोजना पेस गरेर काम सुरु गर्ने कागज गराएका थिए । तोकिएको समयमा पुलको निर्माण कार्य नसकिएपछि दुईपटक म्याद थप भइसकेको छ ।

दुईपटकसम्म थपिएको म्यादमा ठेकेदार कम्पनीले पुलको जग समेत हालेको थिएन । दोस्रोपटक थपिएको म्याद २०७६ जेठमा सकिएको थियो । ठेक्का लागेको ६ वर्षमा पुलको जग समेत निर्माण कम्पनीले नहालेपछि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले निर्माण कम्पनीका प्रतिनिधि र संघीय सांसद यज्ञराज सुनुवार लगायत सरोकारवालासहितको बैठक बोलाएका थिए ।

बैठकमा कम्पनीका प्रतिनिधि इन्जिनियर विदुर कँडेलले चालु आर्थिक वर्षभित्र पुलनिर्माण कार्य सक्ने बताएका छन् । तेस्रोपटक म्याद थपका लागि कम्पनीका तर्फबाट इन्जिनियर कँडेलले पत्र बुझाएका छन् । पुल नबन्दा मोलुङखोलामा वर्षाको समयमा यातायातका साधान तर्न नसक्ने भएकाले स्थानीयलाई समस्या छ । जिल्लाका धेरै जसो भू–भाग सदरमुकामदेखि पश्चिमतर्फ पर्छन् ।

पुल नबन्दा कटुन्जे कोषहाट, फेदिगुठ, घोराखोरी, रानीवन, सिंहदेवी, लिखुगाउँपालिका र रामेछापको साँघुटार आउन–जान समस्या छ । पुल निर्माणमा ढिलासुस्ती भएको स्थानीयको गुनासोपछि पूर्वसांसद रामहरि खतिवडा र कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवारसहितको टोली निमार्णस्थल पुगेर स्थानीयको उपस्थितिमा म्यानेजर कडेलसँग छलफल गरेका छन् । ‘अहिले पिलरको जग खन्ने काम थालिएको रहेछ, कामदारले अन्य काम पनि गरिरहेका रहेछन्,’ अनुगमनपछि फर्किएका खतिवडाले भने, ‘हामीले ठेकेदारका प्रतिनिधिलाई स्थानीयसँग छलफल गरायौं । उनीहरुले स्थानीयको आक्रोश थाहा पाए, अब काम गर्छु भनेर प्रतिबद्धता गरेका छन् ।’

दुई स्पान संख्या रहेको ८० मिटर लम्बाइ र पाँच मिटर चौडाइको उक्त पुलको लागत सुरुमा तीन करोड ३२ लाख ५५ हजार एक सय ६९ रुपैयाँ थियो । बीचमा चट्टान भेटिएपछि फेरिएको डिजाइन अनुसार पाँच करोड ६९ लाख २४ हजार पाँच सय ९८ लागत पुगेको छ । पुल नहुँदा ओखलढुंगाबाट पश्चिमी क्षेत्र जोड्ने सडक वर्षा लागेपछि अवरुद्ध हुने गरेको छ ।
 

प्रकाशित: ६ पुस २०७६ ०६:४३ आइतबार

मोलुङ_खोला ठेक्का काम