अर्थ

‘एम–१६’ हतियार खरिदको अन्तिम चरणमा सेना

काठमाडौ – खरिद प्रक्रियाका कारण लामो समयदेखि अलमल भइरहेको अमेरिकी एम–१६ हतियार खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ। शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि आवश्यक उक्त हतियार खरिदका लागि सेनाले भुक्तानिको प्रक्रिया अघि बढाइसकेको छ। सेनाले अमेरिकाबाट जि टु जि प्रक्रियाबाट हतियार खरिद गर्ने नियर्णय गरेपनि नेपालको सार्वजनिक खरिद ऐनका कारण उक्त निर्णय कार्यन्वयनमा आउन लामो समय लागेको हो।

नेपालको सार्वजनिक खरिद ऐनअनुसार तीन चरणमा भुक्तानी दिनुपर्ने तर अमेरिकाले सुरुमा सम्पूर्ण भुक्तानी माग्ने गरेका कारण हतियार खरिद प्रक्रियामा ढिलाई हुँदै आएको हो। यहाँको सार्वजनिक खरिद ऐनअनुसार सुरुमा पेश्की, त्यसपछि प्रिडेलिवरी र अन्तिममा सबै भुक्तानी दिनुपर्ने व्यवस्था छ। भुक्तानी प्रक्रियाका कारण अलमल भएपछि सेनाले टेलिग्राफिक भुक्तानी मार्फत रकम बुझाएर हतियार ल्याउने तयारी गरेको छ।

त्यसका लागि नेपाली सेनाले रक्षामन्त्रालयसँग अनुमति मागेको छ। रक्षाबाट अनुमति पाएपछि सोही विधिबाट भुक्तानी गरेर हतियार ल्याइने नेपाली सेनाले जनाएको छ। ‘अमेरिकी हतियार ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, भुक्तानी प्रक्रिया पुरा गरेपछि हतियार नेपाल भित्रिन्छ,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने। विगत ३/४ महिनादेखि हतियार ल्याउनका लागि एलसी खोल्ने प्रयास गरेको थियो। एलसी खोल्नका लागि सेनाले सबै प्रक्रिया पुरा गरेपछि नेपाल राष्ट्रबैंकले अमेरिकन एम्बेसीसँगको सहकार्यमा हतियार ल्याउने प्रक्रिया अघी बढाएको थियो।

तर अन्तिममा कहिले स्वीफ्ट कोड नमिल्ने कहिले अन्य कागजातको समस्या भएपछि भुक्तानीको प्रक्रिया परिवर्तन गरेर हतियार ल्याउन लागिएको हो। सेनाले नेपालले ल्याउने हतियार वेयर हाउसमा तयारी अवस्थामा रहेको जनाएको छ। ‘भुक्तानी हुन वित्तिकै हतियार ल्याउने प्रक्रिया अघी बढ्छ,’ प्रवक्ता पाण्डेले भने। अमेरिकाले नेपालले खरिद गर्ने हतियार तयारी अवस्थामा रहेको भन्दै भुक्तानीको प्रक्रिया छिट्टै टुंग्याउन आग्रह गरेको छ।

नेपाली सेनाको आधुनिकीकरण तथा शान्ति मिसनमा खटिने सेनाका लागि सेनाका पुराना हतियार प्रतिस्थापन गरेर नयाँ हतियार खरिद गर्ने प्रक्रिया अन्तर्गत अमेरिकी हतियार खरिद प्रक्रिया अघी बढाइएको हो। हाल नेपाली सेनासँग ठूलो संख्यामा एसएलआर तथा भारतमा बनेको इन्सान्स लगायतका हतियार रहेका छन्। इन्सासको राइफलको प्रभावकारीताका विषयमा बेला बेलामा प्रश्न समेत उठ्ने गरेको छ।

सरकारले सेनाको आधुनिकरण अन्तर्गत २०७५/७६ को नीति तथा कार्यक्रममा समेत सेनाका पुराना हतियार प्रतिस्थापन गर्दै एम–१६ सिरिजका १० हजार थान हतियार खरिद गर्ने जनाएको थियो। पहिलो चरणमा अमेरिकाबाट पाँच हजार थानभन्दा बढी उक्त हतियार ल्याउने तयारी रहेको छ। सेनाले कोरियामा बनेको अत्याधुनिक हतियार खरिदका लागि पनि सम्झौता गरिसकेको छ। गत जुलाईमा सेनाले कोरियाली कम्पनीसँग झण्डै ६ हजार थान अत्याधुनिक हतियार खरिद गर्ने सम्झौता गरेको थियो।

प्रकाशित: ४ पुस २०७६ ०४:३२ शुक्रबार

एम–१६ नेपाली_सेना हतियार_खरिद