अर्थ

भ्रमण वर्षका लागि पूर्वाधार अभाव

कञ्चनजंगा बेस क्याम्पअन्तर्गत खम्बाचेन नजिकको पदमार्ग। तस्बिरः गिरिराज/नागरिक

पाँचथर - भ्रमण वर्ष नजिकिदै गर्दा पूर्वी पहाडी जिल्लामा भने पर्यटकका लागि पूर्वाधारको सकस हुने देखिएको छ। पर्यटकीय पूर्वाधार निर्माण, गन्तव्यको प्रचार तथा अन्य तयारी अभाव देखिएको छ। मुख्य रुपमा सडक पूर्वाधार अभाव रहेको छ। यसका साथै पदमार्ग, आराम गर्ने स्थल, होटलबास, भ्यू प्वाइन्ट, शौचालय, खानेपानीलगायतको अभाव देखिन्छ।

सडक पुग्ने गन्तव्यमा सडकको स्तरोन्नति हुन सकेको छैन। पदयात्रा गर्ने ठाउँहरुमा पदमार्ग निर्माण, टि–हाउस तथा आराम गर्ने ठाउँहरु छैन। कतिपय गन्तव्यमा खान बस्नकै समस्या छ। यो बेला तीनै तहको सरकारले दीर्घकालीन योजनासहित पूर्वाधार निर्माण तथा स्तरोन्नतिमा ध्यान दिएको देखिँदैन। पर्यटकीय गन्तव्यमा संकेत चिन्ह, स्वास्थ्य उपचारको प्रवन्धजस्ता काम भएको देखिँदैन।

चर्चित गन्तव्य सन्दकपुर जानलाई गाडीको यात्रा निकै सास्ती हुन्छ। सागुरो घुम्ती र डरलाग्दो सडकका कारण यहाँ जानेहरु डरसरी पुग्ने गर्छन्। वर्षौदेखि यो समस्या झेल्दा पनि इलाम तथा पाँचथरदेखि जाने सडकको स्तरोन्नतितर्फ ध्यान दिइएको छैन। भ्रमण वर्ष नजिकिँदै गर्दा पनि सडकको अवस्था उस्तै छ। ठूलो संख्यामा सन्दकपुर आउने पर्यटकलाई नेपालका अन्य भूभागमा लैजान सकिने भए पनि पूर्वाधार अभावका कारण त्यो सम्भव देखिँदैन। सन्दकपुरमा बस्नका लागि नेपालतर्फ केवल दुईवटा होटल छन्। अन्य सरकारी पूर्वाधार पटक्कै छैन।

सन्दकपुरदेखि चारराते, फालोट क्षेत्रमा पनि पर्यटक लैजान सकिने भए पनि पूर्वाधारको अभाव देखिन्छ। घुम्न आएका पर्यटकका लागि बस्ने ठाउँसमेत छैन। यो क्षेत्रमा जान भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता छ। उच्च पहाडी क्षेत्रमा पर्ने यि गन्तव्यमा भ्रमण वर्षमा पर्यटक ल्याउन सकिने भए पनि सडक, आवास गृह, अन्य संरचनाको अभाव रहेको स्थानीय चन्द्रलाल नेपाल बताउँछन्। यो क्षेत्रको पर्यटन विकासका लागि ठोस काम हुन नसकेको उनको भनाइ छ।

पौवा भञ्याङदेखि छिन्तापू, सन्दकपुर, फालोट हुँदै तिम्बु पोखरीसम्म रोचक पदयात्रा गर्न सकिने भए पनि यसको विकासमा पहल हुन सकेको छैन। पदमार्गको निर्माण, ठाउँ ठाउँमा गेस्ट हाउस निर्माण तथा यो क्षेत्रको प्रचारात्मक काममा पहल हुनै सकेको देखिँदैन। कसरी यो यात्रा गर्न सकिन्छ भन्ने अध्ययन नै भएको छैन। घुम्न उत्साह राख्ने केही बाहेकले यो रुट हिँडेका छैनन्। कतिपय ठाउँमा भारतीय बाटो भएर हिँड्नुपर्छ। नेपालतर्फ बाटो बनाउने कामसमेत भएको छैन।

पर्यटन वर्ष नजिकिँदै गर्दा पूर्वाधारको चर्को सकस देखिएको फिदिमका पर्यटन व्यवसायी दिपेन्द्र तुम्बापो बताउँछन्। ‘पूर्वाधारको अभाव छ। सरकारी निकायको समन्वय पटक्कै देखिँदैन। स्थानीयलाई जोगाउने किसिमका कामसमेत भएका छैनन्,’ तुम्बापो भन्छन्, ‘पूर्वाधार विकास तथा प्रचारात्मक काममा जोड दिनुपथ्र्यो। जून भइरहेको छैन।’

तिम्बु पोखरीको चर्चा बढ्दै गएको छ। बर्सेनि यहाँ पर्यटक बढिरहेका छन्। तर, यो पदमार्गको विकासमा जोड दिन सकेको देखिँदैन। कतै अत्यन्त अफ्ठ्यारो बाटो रहेको छ। सुस्ताउने, पानी पर्दा केहीबेर छलिएर बस्ने ठाउँ छैन। यतिमात्र हैन पर्यटकले बस्नका लागि लेकाली गोठ प्रयोग गर्नुपर्ने बाध्यता छ। चौरी गोठमा दुःखका साथ बस्नुपर्ने हुन्छ। सरकारले गेस्ट हाउस निर्माण गर्ने, संकेत चिन्ह राख्ने, पदमार्गलाई पर्यटक स्तरको बनाउनेतर्फ ध्यान दिएको देखिँदैन। ‘यहाँ आउनेको संख्या बढिरहेको छ, तर, विकासको कामले गति पाउन सकेको छैन। यो क्षेत्रको भ्रमण, जैविक विविधताको अध्ययनका लागि पर्यटन वर्षमा विदेशीहरु भित्र्याउन सकिन्छ। तर, यो क्षेत्रमा विकासका लागि पर्याप्त काम हुन सकेन,’ स्थानीय पथप्रदर्शक डिल्ली ओली भन्छन्, ‘छोटो दूरीको आकर्षक गन्तव्यमा पूर्वाधारको विकास तथा प्रचारमा राज्यले विशेष काम गर्नुपर्छ।’

एक सय गन्तव्यमा राखिएका ठाउँहरुमै पूर्वाधारको अभाव छ। अन्य धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्व राख्ने गन्तव्यमा झन समस्या छन्। बरु प्राकृतिक संरचनालाई बिगार्ने किमिसका काम भएका छन्। ताप्लेजुङको कञ्चजंगा बेस क्याम्प क्षेत्र चर्चित रहे पनि पूर्वाधारको चर्को अभाव देखिन्छ। ताप्लेजुङको सुकेटारदेखि रानीपुलसम्म गाडीमा जान सकिने भए पनि सडक अत्यन्त डरलाग्दो रहेको छ। दुईवटा बेसक्याम्प भएको यो क्षेत्रमा पदमार्ग निकै घुमाउरो र अफ्ठ्यारा छन्। बर्सेनि हजारको संख्यामा विदेशी पर्यटक आउने यो ठाउँमा पदमार्गलाई सजिलो बनाउन सकिएको छैन। गत वर्ष हिउँले बाटो नदेखेर पर्यटकले बाटो सजिलै पास गर्न सकेनन्। पदमार्ग सिधा, छोटो बनाउने, बाटोमा आराम कक्षलगायत सुविधा थाप्ने काम भएका छैनन्। निजी होटल र टी हाउस खुले पनि पर्याप्त छैनन्।

घुन्सामाथि पुगेपछि पर्यटक बिरामी भए भने प्राथमिक उपचारसमेत पाउँदैनन्। टेलिफोन तथा इन्टरनेटलगायत सुविधा छैन। बाटोभरी सार्वजनिक शौचालय पनि छैन। ‘यति राम्रा गन्तव्य छन्। तर, पर्याप्त पर्यटक ल्याउन सकिएको छैन। हाम्रो त पहुँच पुग्दैन। भ्रमण वर्षको सन्दर्भमा पहिलो कुरा गोरेटो बाटो राम्रो हुनुप¥यो। वाइफाईको व्यवस्था गर्नुप¥यो। पूर्वाधारको विकास गर्ने, स्थानीयलाई तालिम दिने काम हुन सकेको छैन,’ घुन्साका अगुवा हिमाली चुङ्दा शेर्पा भन्छन्, ‘हाम्रोमा पूर्वाधारकै समस्या बढी भयो। गन्तव्य त कति छन् कति।’ पूर्वी पहाडी क्षेत्रका गन्तव्यमा पर्यटक ल्याउनका लागि पर्याप्त पूर्वाधार नभएको भन्दै कुरा उठ्ने गरे पनि यसतर्फ ध्यान गएको देखिँदैन।

पर्यटन विकासका नाममा व्यर्थको खर्च
पर्यटन विकासका नाममा यसअघि भएका खर्च व्यर्थका देखिन्छन्। निर्माण तथा तालिमलगाय कामको उपलब्धि गतिलो छैन। मेची राजमार्गमा पर्ने पाँचथरको पौवाभञ्याङमा सूचना केन्द्र भनेर भवन बनाइएको छ। सूचना पाउने भन्दा पनि त्यो केन्द्रको ढोका बन्द देखिन्छ।

त्यतिमात्र हैन सरकारी लगानीमा बनेको त्यहाँको संरचना सडकको क्षेत्राधिकारभित्र छ। त्यहीँदेखि केहीमाथि सिलौटी छ। गत आर्थिक वर्षमा पर्यटन विकासका लागि विनियोजित बैठकबाट खेल मैदान निर्माण गर्ने काम भयो। त्यतिमात्र हैन प्राकृतिक संरचनालाई बिगार्दै महागुरु फाल्गुनन्दको समाधि स्थल जाने बाटोमा कंक्रिटको सिडीमार्ग बनाइएको छ। सिलौटी, लोब्रेकुटी क्षेत्रमा पर्यटन विकासको कुरा भएको धेरै भए पनि काम हुन सकेको देखिँदैन।

फिदिम नगरपालिकाले रमितेदेखि पर्यटन विकासका नाममा सिडीमार्ग बनाएको छ। सिडीमार्ग अपांग, वृद्धवृद्धा, बालबालिकामैत्रीभन्दा पनि डरमर्दो सिडी बनाइएको छ। चिप्ल्यो भने ज्यानलाई खतरा हुने अवस्था छ। दक्षिणी मिक्लाजुङको डाँडामा बनाइएको भ्यूटावर रुखहरुभन्दा पनि होचो छ। पर्यटन विकासका नाममा पदमार्ग निर्माण, गोलघरजस्ता संरचनामा गरिएको लगानी व्यर्थको छ। दीर्घकालीन लक्ष्य नबनाइ जथाभावी खर्च गरिएको देखिन्छ।

प्रकाशित: ३ पुस २०७६ ०१:५४ बिहीबार

भ्रमण_वर्ष पूर्वाधार_अभाव