अर्थ

लुम्बिनीमा सडक खाना महोत्सव

रुपन्देही– पर्यटन प्रवर्द्रधन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ।

‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी होटल सङ्घ नेपालले छैटौँ पटक सडक खाना महोत्सव आयोजना गरेको हो। 

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर यही पुस १५ गते आयोजना गरिने महोत्सवमा नेपाली, चिनियाँ, थाई, इटालेली, जापानीलगायतका विभिन्न देशका खानाका परिकार राखिने बुधबार आयोजित पत्रकार सम्मेलनमा लम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए।  

महोत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग रहेकाले विशेष तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए। ‘नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजित यस वर्षको सडक खाना महोत्सवलाई विगतमा भन्दा रोचक र भव्य बनाउने गरी तयारी गरेका छौँ’, उनले भने। 

लुम्बिनी भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको सङ्घका महासचिव लीलामणि शर्माले बताए।

‘आन्तरिक पर्यटनको दृष्टिले लुम्बिनी धेरै आन्तरिक पर्यटकले भ्रमण गर्ने स्थल हो, यहाँ आन्तरिक र बाह्य  पर्यटकलाई अझै बढी आकर्षित गर्न यो कार्यक्रम बनाएका हौँ’ महासचिव शर्माले भने। 

महोत्सवमा १०० वटा खानाका कक्ष रहने उनले बताए। स्थानीय खानाका परिकारका छुट्टै कक्ष राखिने सङ्घका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए।

सो अवसरमा स्थानीय विराहा नाच, विभिन्न जातिको संस्कृति झल्कने प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने भएको छ। रासस

प्रकाशित: २ पुस २०७६ ०९:०२ बुधबार

महोत्सव