अर्थ

पूर्वाधार बजेट एकलौटी पारेको आरोप

खोटाङ – स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट नेकपाका सांसदले एकलौटी बाँडेको भन्दै कांग्रेस सांसदले विरोध जनाएका छन्। नेकपाका सांसद विशाल भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको ६ करोड बजेट एकलौटी ढंगले बाँडफाँट गरेको भन्दै कांग्रेस सांसद हिरा गुरुङले आपत्ति जनाएकी हुन्।

प्रतिनिधिसभा सदस्य भट्टराईले हालै पत्रकार सम्मेलन गरेर खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट ३० वटा योजनामा बाँडफाँड गरेको जानकारी दिएको भोलिपल्ट प्रतिनिधिसभा सदस्य गुरुङले पत्रकार सम्मेलन गरेर कुनै सूचना र जानकारी नदिई बैठक गरेर निर्णय गरिएको बताएकी हुन्। गुरुङले राज्य कोष र संविधानप्रदत्त अधिकारको उपहास गर्दै निरंकुश ढंगबाट बजेट वितरण गर्नुका पछाडि भ्रष्टाचार गर्ने मनसाय रहेको दाबी गरिन्। ‘पूर्वाधार विकास गर्न विनियोजित रकम वितरण गर्दा समकक्षी माननीयको बेवास्ता गर्दै कमिसन खाने नियतमा फसेर लोकतान्त्रिक पद्धतिको धज्जी उडाइएको छ,’ सांसद गुरुङले भनिन्, ‘जनताले तिरेको करबाट आएको बजेट प्रतिनिधिसभा सदस्यबीच छलफल र समझदारीबाट विनियोजन गर्नुपर्नेमा एकलौटी वितरण गरिएकाले कार्यान्वयन नगर्न/नगराउन अनुरोध छ।’

गुरुङले अघिल्लो वर्ष वितरण गरिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटमा पनि भ्रष्टाचार भएको देखिएको भन्दै छानबिन गर्न आग्रह गरेकी छन्। उनले पिछडिएको भेग तथा क्षेत्रको विकासका लागि राजनीतिक दल, संघ÷संस्था, समाजसेवी, स्थानीय समुदायको छलफल र समन्वय आवश्यक रहेको विज्ञाप्तिमा उल्लेख गरेकी छन्। गत मंसिर १७ गते पुःन केहीबेरपछि बस्नेगरी बैठक रोकेको तर सोही दिन आफूलाई जानकारी नदिई बजेट बाँडिएको गुरुङको भनाइ छ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँटको विषयलाई लिएर अहिले नेकपा र कांग्रेसका नेता तथा कार्यकर्ताबीचमै ‘फेसबुक वार’ चलिरहेको छ।

प्रतिनिधिसभा सांसद भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटको मात्रा बढाउनु पर्ने पक्षमा समग्र सांसदकै अगुवाई गरेका थिए। तर जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट वितरणका विषयमा सांसद भट्टराईकै जिल्लामा भने प्रतिपक्षी कांग्रेस सांसद रुष्ट बनेका छन्। पत्रकार सम्मेलनमा भट्टराईले ‘निर्देशक समितिको निर्णय सदस्यहरूको परामर्शमा सर्वसम्मतिबाट हुने नभए संयोजकले गरेको निर्णय नै अन्तिम हुने बुँदा अनुसार गुरुङको असहमतिका बीचमा बजेट बाँडफाँट गरिएको बताएका थिए। सांसद गुरुङले पार्टी कार्यालय निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने माग गरेको तर पार्टीको नाममा बजेट दिन नमिल्ने भनेपछि बैठक छाडेको सांसद भट्टराईको भनाइ छ।

प्रकाशित: २५ मंसिर २०७६ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App