बैतडी- जिल्लामा खाद्य उत्पादन घट्दै गएको छ। खेती योग्य जमिन बाँझो, जंगली जनावरको आतंकले खाद्य उत्पादन घटेपछि जिल्लामा खाद्य संकट कायम रहेको छ। न्यून उत्पादन, रोजगारीको अभाव र यातायात असुविधालगायतका कारण बैतडीका १२ वडा खाद्य असुरक्षाको उच्च जोखिममा रहेको तथ्यांकले देखाएको छ। जनसंख्याको वृद्धिका तुलनामा स्थानीयस्तरमा खाद्यान्न उत्पादन घट्नुले यस्तो देखिएको हो।
कृषि ज्ञान केन्द्र बैतडीकाअनुसार विकट मानिने सिगास र पञ्चेश्वर गाउँपालिका खाद्य सुरक्षाको उच्च जोखिममा छन्। सिगास गाउँपालिकाको चौखाम, थालाकाँडा र ढुंगागाडलगायतका सडक सुविधा नभएका क्षेत्रहरूमा खाद्य असुरक्षा छ। यस्तै तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका आमचौरा, कुलाउँ, महाकाली, उदयदेव, शर्मालीलगायतका क्षेत्रहरूमा पनि खाद्य असुरक्षाको जोखिम उच्च रहेका कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले बताए। बैतडीका पुरचौडी नगरपालिका, डिलाशैनी गाउँपालिकाका केही ठाउँहरूमा पनि मध्यमस्तरीय खाद्य असुरक्षामा छन्।
जिल्ला सदरमुकाम आसपासमा अधिकांश जमिन बाँझो छ। बाँदरले खेतीपाती सखाप पार्न थालेपछि खेत बाँझो छोड्न थालेका हुन्। बैतडीमा ३१ हजार ४ सय ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको भए पनि हाल २५ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्र प्रमुख चन्दले जानकारी दिए। उनकाअनुसार किसानले जंगली जनावरहरु बाँदर र बदेंलको आतंकले बढीजसो खेतीयोग्य जमिन बाँझै छोड्ने गरेको बताए।
२०७५/०७६ मा २० हजार ९ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको भए पनि हाल घटेर १७ हजार ५ सय हेकटरमा मात्रै गहुँ खेती गरिएको तथ्यांकले देखाएको छ। मकै उत्पादन हुने क्षेत्रफल पनि घटेको छ। गत वर्ष १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको भए पनि अहिले घटेर १२ हजार २ सय हेक्टरमा मात्रै गरिँदै आएको छ।
बैतडीको जनसंख्या २ लाख ५२ हजार १ सय १६ हो। प्रतिव्यक्ति प्रतिवर्ष २ सय १ किलो खाद्यान्न आवश्यक हुन्छ। यसरी हेर्दा जिल्लामा अहिले प्रतिवर्ष ५० हजार मेट्रिक टन खाद्यान्न आवश्यक हुन्छ। बैतडीमा सरदर वार्षिक ४३ हजार ३ सय मेट्रिक टन खान योग्य खाद्यान्न उत्पादन हुन्छ।
वार्षिक ७ हजार मेट्रिक टन अपुग हुने गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा ५ हजार २३ मेट्रिक टन खाद्यान्न अपुग भएको थियो भने गत आव २०७५/०७६ मा खाद्यान्न उत्पादन घटेर ७ हजार ३ सय ३२ मेट्रिन टन अपुग भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। जंगली जनावरको आतंक र बसाइँसराइ, जमिनको सुक्खापन, सिँचाइ पूर्वाधार नहुनु, रोजगारी अभाव, बजारसँगको पहुँच कम हुनु र यातायातको सञ्जाल कमजोर हुनुजस्ता कारणले खाद्य असुरक्षा हुने गरेको हो। पछिल्लो समय खेतीयोग्य जमिन बाँझै रहन थालेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।
प्रकाशित: २३ मंसिर २०७६ १३:१२ सोमबार