अर्थ

‘दक्षिण एसियाकै व्यावसायिक हवको रुपमा नेपाललाई चिनाऊ’

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाललाई चीन तथा समग्र दक्षिण एसियाकै व्यवसायिक हवको रूपमा विकास गराउनुपर्ने बताएकी छन्। चीनको सियानमा चलिरहेको सिल्क रोड व्यावसायिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष राणाले बिआरआईमार्फत नेपाललाई चीन तथा समग्र दक्षिण एसियाकै व्यावसायिक हवको रूपमा विकास गर्न सकिने बताइन्।

‘नेपाल भूपरिवेष्ठित मुलुक भए पनि रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा छ। त्यसैले दुई शक्तिशाली छिमेकीसँग आफूलाई भूजडित मुलुकको रूपमा विकास गर्दै चीन तथा समग्र दक्षिण एसियाबाट नेपालले फाइदा उठाउन सक्नुपर्छ,’ उनले भनिन्, ‘भौगोलिक विकटता तथा अन्तर्राष्ट्रिय बजारसम्मको सहज पहुँचको अभाव भोग्दै आएको नेपालका लागि बिआरआईले बाह्य बजार र अर्थतन्त्रसँग जोडिने सम्भावनाको ढोका खोलेको छ।’ अध्यक्ष राणाले बिआरआई मुलुकहरूले नेपालको समृद्ध कला, संस्कृति, पर्यटनका साथै नेपालको करिब तीन करोडको बजार तथा चीन र भारतमा रहेको करिब तीन अर्ब जनसंख्याको बजारबाट निकै ठूलो लाभ हासिल गर्न सक्ने सम्भाव्यता  औल्याइन्।

नेपालको प्रमुख व्यापारिक साझेदार तथा लगानीका हिसाबले समेत सबैभन्दा बढी लगानी चीनबाटै रहेको स्पष्ट पार्दै उनले हुवाये, टिबेट एयरलाइन्स, होङ्सीले निकै राम्रो व्यवसाय गरिरहेको अन्तर्राष्ट्रिय समुदाय समक्ष जानकारी गराइन्। अध्यक्ष राणाले ऊर्जा, पूर्वाधार विकास, पर्यटनसहित अन्य सम्भावित क्षेत्रलाई नेपालले प्रमुख लगानी आकर्षण क्षेत्रको रूपमा पहिचान गरेको बताइन्।

‘कृषि, कृषि तथा खाद्य प्रशोधन, प्योकजिङ, पशुपक्षी, हर्बल उद्योग, चिया तथा कफी, हर्बल उत्पादन, हस्तकला लगायत क्षेत्रमा पनि लगानीको ठूलो सम्भावना रहेको छ। त्यसैले लगानी बढाउनुहोस्,’ उनले भनिन्। नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा नेपालमा पर्यटनको अपार सम्भाव्यता रहेको र यस क्षेत्रमा बिआरआई अन्तर्गतका मुलुकबाट लगानी आउन सके ठूलो लाभ उठाउन सकिने उनको भनाइ छ।

 

प्रकाशित: २३ मंसिर २०७६ ०१:३८ सोमबार

उद्योग_वाणिज्य_महासंघ दक्षिण_एसिया व्यावसायिक_हव