अर्थ

बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा

काठमाडौं – के वाणिज्य बैंकको मुख्य काम नाफा आर्जन गर्नु मात्र हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी बढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन। ‘फाइनान्स सुविधा ८० प्रतिशत, एक दिनमा ऋण स्वीकृत,’ गतसाता एक साप्ताहिक पत्रिकाले रंगीनमा यस्तो विज्ञापन छापेको थियो। अहिले कमर्सियल बैंकले छापा तथा इलोक्ट्रोनिक माध्यमलाई विज्ञापन प्रकाशित र प्रसारण गर्न दिँदै ग्राहकलाई गाडी बिक्रीमा (अटो ऋण) दिन लोभ्याइरेहका छन्।

नेपाल राष्ट्र बैंकले कुल लगानीयोग्य रकमको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा उपयोग गर्नुपर्ने कार्यविधि सार्वजनिक गरेको छ। सरकारले किसानका लागि सहुलियतपूर्ण कर्जाको ब्याजदर पाँच प्रतिशत निर्धारण गरेको छ। बैंकहरुले कृषि कर्जामा लगानी गरेबापत १० प्रतिशत मुनाफा पाउँछन्। सरकारले कृषि क्षेत्रमा लगानी गर्ने बैंकलाई थप पाँच प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ। वरिष्ठ अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘उत्पादनमूलक क्षेत्रमा लगानी गर्न कमर्सियल बैंक उत्साहित हुनुपर्छ।’

वित्तशास्त्री भवानी खनाल बैंकले छिट्टै लगानी गरेर तत्काल प्रतिफल मात्र लिन मोहित भएकाले उत्पादनका क्षेत्रमा नगन्य लगानी भएको र व्यापार घाटा, र बेरोजगार बढ्दै गएको बताउँछन्। राष्ट्रिय उत्पादनमा कृषकको योगदान धेरै छ। वित्तीय संस्थाले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेको देखिँदैन। बैंकले अनाज (अन्न), तरकारी, चिया–कफी, सुर्ती, जुट, नगदेबाली, फलफूल, पुष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा लगानी गरेको दाबी गरेको छ। राष्ट्रिय कृषक समूह महासंघका पूर्वध्यक्ष उद्धव अधिकारी भन्छन्, ‘कृषक वित्तीय संस्थासँग सन्तुष्ट छैनन्।’

नेपालको छैठौं कृषि गणना २०६८ ले ४२ प्रतिशत किसानले कृषि ऋण नपाएको जनाएको थियो । चालु आर्थिक वर्षको बजेटमा आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बरले बढाउने घोषणा गरिएको छ। असोज मसान्तसम्म वाणिज्य बैंक तथा वित्त संस्थाले झण्डै ३१ खर्ब रुपैयाँ लगानी गरेका छन्। अनुत्पादक क्षेत्र मानिएको घर–घडेरी, सवारी–साधन, मेसिनरी तथा सुनचाँदी खरिदका लागि भने झण्डै ६५ प्रतिशत हुन आउछ।

धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन। अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी करिब पाँच अर्बमा  सीमित छ। बैंकले कृषिका अन्य क्षेत्र, तरकारी र कुखुरापालनमा भने लगानी विस्तार गर्दै लगेका छन्। केही वर्षअघिसम्म पैसा बचत गर्न मानिस बैंक धाउँथे। अचेल वित्तीय पहुँच सहज भएकाले बैंकहरु आकर्षक नारा लिएर ग्राहकका घरदैलोमा पुग्न भने थालेका छन्। उनीहरुले आफ्नो संस्थाले बचतमा दिने र ऋणमा लिने ब्याज, लगानीका क्षेत्र, जोखिमको अवस्था सम्बन्धमा घरदैलोसम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेका छन्। यसबाट बैंकप्रतिको विश्वास बढ्दै गए पनि साना तथा मझौला किसान भने खुसी छैनन्।

विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्षभन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता छ। कृषकले भने समयमा कर्जा पाउन सकेका छैनन्।

प्रकाशित: २० मंसिर २०७६ ०२:२६ शुक्रबार

बैंक_तथा_वित्तीय_संस्था अनुत्पादक लगानी