अर्थ

कोहलपुर–धामपुर ३३ केभी प्रसारण लाइन विस्तारमा अवरोध

राप्ती सोनारी–४ धामपुरमा रहेको विद्युत् सबस्टेसन। तस्बिर:अर्जुन/नागरिक

नेपालगन्ज - बाँकेको विकट मानिने राप्तीपारी क्षेत्रमा विद्युतीकरणका लागि कोहलपुर–धामपुर ३३ केभी प्रसारणलाइन विस्तारमा अवरोध भएको छ। कोहलपुर नगरपालिका वडा नं १० चटारका स्थानीयले प्रसारणलाइन विस्तारमा अवरोध पु-याएका हुन्।

स्थानीयले करिब एक किलोमिटर क्षेत्रमा लाइन तान्न रोकेको नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले बताए। कोहलपुरबाट राप्तीसोनारी गाउँपालिका वडा नं ४ मा रहेको धामपुर सबस्टेसनसम्म ४५ किलोमिटर दूरीमा प्राधिकरणले ३३ केभी लाइन विस्तार गर्दैछ।

लामो समयदेखि ठेकेदारले अलपत्र पारेको ठेक्का तोडेर प्राधिकरण आफैंले केही महिनादेखि काम थाल्दै आएको छ। चटार क्षेत्रमा करिब २० फिट चौडाइ रहेको सडक किनारबाट लाइन विस्तार गर्न खोज्दा स्थानीयले अवरोध गरेपछि एक हप्तादेखि काम रोकिएको ठाकुरले सुनाए। ‘चटार क्षेत्रमा अब ६ वटा मात्रै पोल गाड्नुपर्ने थियो, स्थानीयले चाही एक किलोमिटर क्षेत्रमा तार तान्ने काममा अवरोध पु-याए,’ उनले भने। कोहलपुर सबस्टेसनकै मुखमा काममा अवरोध पुग्दा दुःख लागेको ठाकुरले बताए।

प्राधिकरणले धामपुरबाट कोहलपुर सस्टेसनबीचको करिब ४४ किलोमिटर क्षेत्रमा प्रसारण लाइन विस्तारको काम सम्पन्न गरिसकेको दाबी गरेको छ। ‘प्रसारण लाइनको अन्य क्षेत्रमा पोल गाड्ने र तार तान्ने काम करिब सम्पन्न भइसकेको छ, नेपालगन्ज विमानस्थल क्षेत्रको १ किलोमिटर क्षेत्रमा अन्डरग्राउन्ड केबल गरेका छौं,’ उनले थपे। चटारका स्थानीयसँग वार्तामार्फत समस्या समाधानको प्रयास गरे पनि कसैबाट सहयोग नपाएको प्रदेश डिभिजन प्रमुख ठाकुरले गुनासो गरे। विवादको राजनीतिक समाधान खोज्नुपर्ने उनको भनाइ छ। विवाद समाधानका लागि जनप्रतिनिधिले प्रयास गरे पनि अझै सार्थकता पाउन सकेको छैन।

बाँके क्षेत्र नं १ का सांसद महेश्वरजंग गहतराजले सबैतिर काम सम्पन्न भइसक्दा कोहलपुरमा अवरोध हुनु दुखद भएको बताए। ‘चटारमा केही व्यक्तिले उक्साएर प्रसारणलाइन विस्तारमा अवरोध पु¥याउन खोजेको देखिन्छ, म आफैं त्यहाँ पुगेर स्थानीयलाई सम्झाउने प्रयास गरेको छु,’ उनले भने, ‘सबै ठाउँमा काम सम्पन्न भइसकेको अवस्थामा कोहलपुरमा समस्या आउनु राम्रो होइन।’

प्राधिकरणले ३३ केभी प्रसारणलाइन बाहेक धामपुरबाट नरैनापुर जोड्ने ११ केभी प्रसारण लाइनको काम पनि धमाधम अगाडि बढेको जनाएको छ। धामपुर–नरैनापुर प्रसारण लाइन विस्तारका लागि पोल गाड्ने काम भइरहेको र जंगल क्षेत्रमा गाड्न एक सय ६० वटा फलामको पोल भर्खरै खसालिएको प्राधिकरणले जनाएको छ।

यस्तै नरैनापुरको गंगापुरदेखि कटकुइयासम्मको क्षेत्रमा विद्युतीकरणको काम पनि अगाडि बढाइएको ठाकुरले बताए। राप्तीसोनारी गाउँपालिका वडा नं ३, ४ र ५ मा पनि विद्युतीकरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बताए। उनका अनुसार राप्तीसोनारीको बैजापुर र बिनौनामा अन्य ठाउँको भन्दा विद्युतीकरणमा केही ढिलाइ हुने देखिन्छ।
कोहलपुर–धामपुर ३३ केभी प्रसारणलाइनको काम प्राधिकरण आफैंले गरे पनि अन्य कामका लागि ठेकेदारसँग श्रम सम्झौता गरिएको उनले बताए। ‘सामान खरिद प्राधिकरण केन्द्रीय कार्यालय आफैंले गरेको छ, ठेकेदारसँग श्रमिक परिचालन गर्ने सम्झौता मात्रै भएको छ,’ ठाकुरले भने।

प्रकाशित: १९ मंसिर २०७६ ०३:२४ बिहीबार

प्रसारण_लाइन अवरोध