अर्थ

निर्माण व्यवसायी महासंघले ३६ विधामा अवार्ड दिने

काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा ऋद्धिसिद्धि सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ। महासंघले बुधबार पत्रकार सम्मेलन गरेर १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो।

महासंघले मंसिर २० गते एक कार्यक्रमबीच अवार्ड वितरण गर्ने जनाएको छ। नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु-याउने व्यक्ति, संघ–संस्था तथा फर्म/कम्पनीलाई अवार्ड कार्यक्रममार्फत् महासंघले सम्मान गर्दै आएको महासंघ अध्यक्ष रवि सिंहले बताए।

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र ऋषिसिद्घी सिमेन्ट (शंकर गु्रप)को मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ सहभागी हुने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिकविज्ञ राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा ‘पुरस्कार तथा सम्मान मूल्यांकन समिति’ गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले जानकारी दिए। उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलगअलग मूल्यांकनका आधारमा स्वर्ण, रजत र काँस्यगरी १२ वटा कम्पनी पुरस्कृत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका सातवटा फर्म/कम्पनी प्रदेशगत रूपमा पुरस्कृत हुने भएका छन्। विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायी लगायतलाई समेत महासंघले सम्मान गर्ने भएको छ। त्यस्तै नेपालभरका निर्माण व्यवसायीका छोराछोरीमध्येबाट सिभिल इन्जिनियरिङमा उत्कृष्ट हुने विद्यार्थीलाई सोही सम्मान गरिने भएको छ। निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने व्यक्तिलाई महासंघ गौरव सम्मान प्रदान गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए।

सो अवसरमा निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्श दातृ कम्पनी, उत्कृष्ट निर्माणमैत्री इन्जिनियर सम्मानित हुने महासंघले जनाएको छ। निर्माण व्यवसायको क्षेत्र समेटी उत्कृष्ट समाचार सम्प्रेषण गर्ने टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइनलाई पनि अर्वाड प्रदान गरिने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसै वर्षदेखि एक विधा थप गरी पूर्वाधार विकास तथा निर्माणसम्बन्धी समाचारलाई उच्चप्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारलाई सम्मान गर्न लागिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिए।

यसैबीच महासंघले मंसिर २२ गते आइतबार विहान १२ औं राष्ट्रिय निर्माण दिवसका अवसरमा प्रभातफेरीसहित दिउँसो महासंघ सचिवालयमा रक्तदान कार्यक्रम गर्ने भएको छ। प्रभातफेरि कार्यक्रमको प्रमुख अतिथि सहरी विकास मन्त्री मोहमद इस्तियाक राई रहनु हुने महासंघले जनाएको छ। सोही अवसरमा महासंघको मुखपत्र निर्माण समाचारको लोकार्पण गरिने भएको छ। प्रदेश महासंघ तथा सम्पूर्ण जिल्ला संघमा समेत आइतबार प्रभातफेरी कार्यक्रम आयोजना गरिने महासंघको विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रकाशित: १९ मंसिर २०७६ ०३:०८ बिहीबार

निर्माण_व्यवसायी अवार्ड