अर्थ

खाद्यको धान खरिद, लक्ष्यको १५ प्रतिशत

काठमाडौं- गएको कात्तिकको अन्तिम हप्ताबाट धान खरिद गर्न सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हप्तामा लक्ष्यको १५ प्रतिशत मात्र धान खरिद गरेको छ । खाद्यका खरिद विभागप्रबन्धक मोतिराज ज्ञवालीले आइतबारसम्म ४४ हजार क्विन्टल धान किनेको बताए । खाद्यले यस वर्ष तीन लाख क्विन्टल धान किन्ने लक्ष्य राखेको छ ।

सुरुमा पश्चिमबाट धान किन्न थालेको खाद्यले सोमबारदेखि पूर्वको जनकपुरबाट पनि किन्न थालेको छ । ‘पश्चिमको तुलनामा पूर्वमा ढिला धान भिœयाउने काम हुन्छ, त्यसैले पश्चिमबाट किन्न सुरु गरिएको हो,’ प्रबन्धक ज्ञवालीले भने, ‘खरिदका लागि विभिन्न प्रक्रिया अपनाउनुपर्ने हुनाले पनि पूर्वमा केही ढिला भएको हो ।’ खाद्यले धान खरिदका लागि विभिन्न क्षेत्रलाई आधार मानेर क्षेत्रगत कोटा निर्धारण गरेको छ ।यस वर्ष खाद्यले पहिलो चरणमा पश्चिमका पाँच क्षेत्र–– राजापुर ४५ हजार, धनगढी ५० हजार, नेपालगन्ज ३५ हजार, महेन्द्रनगर सात हजार र भैरहवा १० हजार क्विन्टल–– बाट धान खरिद गर्दैछ ।

त्यस्तैे, पूर्वका पाँच क्षेत्रमा वीरगन्जबाट २० हजार, लहानबाट ५० हजार, विराटनगरबाट १० हजार,बिर्तामोडबाट पाँच हजार र जनकपुरबाट २० हजार क्विन्टल धान किन्ने कम्पनीको लक्ष्य छ । ‘बाँकी धान आवश्यकताहेरेर विस्तारै खरिदको निर्णय गरिन्छ,’ ज्ञवालीले भने, ‘कतै लक्ष्य अनुरुप धान पाउने अवस्था नहुन पनि सक्छ, कतै बढी हुन सक्छ ।’

खाद्यका अनुसार यस वर्ष तीन लाख क्विन्टलमा एक लाख ६५ हजार क्विन्टल मोटा, एक लाख १५ हजार क्विन्टल मध्यम, १५ हजार क्विन्टल जिरा मसिनो र पाँच हजार क्विन्टल बासमती खरिद गर्ने लक्ष्य छ । गत वर्षदेखि खाद्यले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएको छ । धान खरिदमा अनियमितता हुने गरेको भन्दै आलोचना खेप्दै आएको खाद्यले यसपटक पनि सुरुमै मिलेमतोमा धान खरिद गरेका समाचार बाहिर आए ।
प्रबन्धक ज्ञवाली विभिन्न सञ्चार माध्यमबाट कम्पनीले धान खरिद गर्न लागेको जानकारी गराउनेदेखि व्यापक तयारी गरेर मात्र किन्ने हुनाले ती समाचारमा सत्यता नभएको दाबी गर्छन् । ‘खरिदको जानकारी किसानसम्म पुगोस् भनेर हामीले स्थानीय पत्रिका तथा रेडियोमार्फत सूचना प्रसारण गर्छौं,’ उनले भने, ‘त्यसमाथि प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल, किसान लगायतको संयन्त्र समेत परिचालन गरेका हुन्छौं ।’ उनले धान बिक्री गर्न आउने किसान नै हो भन्ने कुरा किटान गर्न नसके पनि कतैकतै केही प्रमाण खुल्ने कागजात समेत लिने गरेको बताए । उनले भने, ‘तर परिमाणमै बन्देज लगाउन सक्ने अवस्था रहन्न ।’

उनी खाद्यले सरकारको समर्थन मूल्यमा धान खरिद गरिरहँदानिजी क्षेत्रले कतिपय ठाउँमा समर्थन मूल्यभन्दा बढीमा उठाएको समेत भेटिएको दाबी गर्छन् ।उनले भने, ‘हामीले सरकारको समर्थन मूल्यमा धान खरिद गर्दा किसानको धानले मूल्य पाएको छ, अहिलेको समयमा किसानले सामान्य जानकारी नराख्ने भन्ने हुन्न ।’ यस वर्ष सरकारले मोटा धानको लागि समर्थन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यमको प्रतिक्विन्टल २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको छ ।कुनै जिल्लामा यो मूल्यमा नघट्ने गरी मूल्य निर्धारण समेत गरिँदै आएको छ ।
किसानले भने आफूहरुको धानको परिमाण थोरै हुने तर खाद्यको संकलनकेन्द्र टाढा भएका कारण दुःख पाएको गुनासो गरेका छन् । प्रबन्धक ज्ञवाली सीमित संकलन केन्द्र भएको कारण अप्ठेरो परेको बुझे पनि सीमित स्रोत र साधनका कारण विस्तार गर्न नसकिने अवस्थामा रहेको बताउँछन् ।

प्रकाशित: १८ मंसिर २०७६ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App