अर्थ

निर्माणले गति लियो, ५२ प्रतिशत भौतिक प्रगति

रसुवा - चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणले तीव्रता पाएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको निर्माणले गति लिएपछि प्रसारण लाइनलाई चाप परेको हो। चालु आर्थिक वर्ष ०७६÷७७ भित्र दुईवटा जलविद्युत् आयोजनाले उत्पादन सुरु गर्ने तयारी गरेका छन्। यो प्रसारण लाइन निर्माण नभएमा उत्पादन भएको विद्युत् खेर जाने छ। प्रसारण लाइनको ५२ प्रतिशत काम सकिएको छ।

तीन स्थानमा फाउन्डेसनको काम सुरु गरिएकोमा एक स्थानमा सकिएको छ। १५ वटा टावरको एस्काभेसनको काम सकिएको छ भने १५ वटाको जारी छ। कठिन स्थानहरूमा निर्माण कार्य अन्तिम चरणमा पुगेका आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताए।

सन् २०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको सन् २०१९ जुन १३ मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो। सम्झौता अनुसार काम गर्न नसकेपछि आयोजनाले निर्माणको म्याद थपेको छ। थपिएको समय सीमाअनुसार २०२० फेब्रुअरी २९ मा निर्माण सम्पन्न गरिसक्नु पर्छ।

भौगोलिक विकटता, सडकको पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेकाले निर्माणमा ढिलाइ भएको उनले बताए। आयोजना चिनियाँ ठेकेदार पिङ्गाओ ग्रुप लिमिटेडले गरिरहेको छ। रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रसारण लाइन निर्माण गरिएको हो। प्रसारण लाइन निर्माणका लागि सन् २०१७ नोभेम्बर १३ मा ठेक्का सम्झौता भएको थियो।

रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री बी हबसम्म प्रसारण लाइन निर्माण हुने छ। प्रसारण लाइनको दूरी साढे २७ किलोमिटर रहेको छ। गोल्जुङदेखि मैलुङसम्म २२० केभि डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रिबिको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ। गोल्जुङदेखि थ्रिबी हबसम्म ७८ वटा टावर रहने बताइएको छ।

‘तारमुनि पर्ने जग्गामा खेतीपाती लगाउन मिल्छ,’ आयोजना प्रमुख शाहले भने, ‘तारलाई छुने अग्लो हुने बिरुवा रोप्न पाइँदैन।’ प्रसारण लाइन र सब–स्टेसन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण लगानी छ। प्रसारण लाइन निर्माणपछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युत्को विद्युत् जोडिने छ।

सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाइ, वैदेशिक सहायता पर्खनुपर्ने, जग्गा सट्टा, रुख कटानका लागि समयमै अनुमति नपाउनु लगायत कारणले ढिलाइ भएको हो। सवस्टेसनको काम चार महिनामा सकाइसक्नुपर्ने छ।
यो प्रसारण लाइनमा २१६ मेगावाटको माथिल्लो त्रिशूली एक, एक सय ११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, ४२.५ मेगावाटको सान्जेन, २० मेगावाटको लाङटाङखोला, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ। यो प्रसारण लाइनमा पाँच सय मेगावाट विद्युत् जडान गर्न सकिने छ।

प्रकाशित: १६ मंसिर २०७६ ०३:३९ सोमबार

चिलिमे_त्रिशूली_प्रसारण_लाइन भौतिक_प्रगति