अर्थ

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु

काठमाडाैँ – निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम सुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र सुरु भएको हो ।

निर्माणाधीन सडकको लम्बाइ त्रिनगर भन्सारस्थित मोहनापुलदेखि अत्तरियासम्म झण्डै साढे १४ किलोमिटर छ। मोहना—अत्तरिया सडक मोहना पुलदेखि अत्तरियासम्म तीन टुक्रामा ठेक्का दिएर काम भइरहेको सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले बताए ।

उनका अनुसार मोहनापुलदेखि चौराहसम्म कालोपत्रको काम शुरु भइसकेकाले अन्य खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ । उक्त सडक दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सडक निर्माणको अवधि गत जेठमै सकिए पनि अहिलेसम्म  अवधि नथपिएको प्रमुख एसीको भनाइ छ ।
 
सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले  ढिलाइ भएकामा अहिले भने सडक निर्माणले तीव्रता पाएको छ । पहिलो चरणको ठेक्का शर्मा अमरनागार्जुन जेभीले तथा दोस्रो चरणको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको जनाइएको छ । सो सडक निर्माणको लागत अनुमान रु  एक अर्ब ६८ करोड छ ।

प्रकाशित: १० मंसिर २०७६ ०६:५७ मंगलबार

निर्माणाधीन मोहनापुल–अत्तरिया सडक कालोपत्रे